२२ कात्तिकसम्म ढुक्क छन् प्रधानन्यायाधीश जबरा

डिसी नेपाल
१६ कार्तिक २०७८ ११:५०
264
Shares

काठमाडौं। सहकर्मी न्यायाधीशहरूबाटै चर्को विरोध खेप्दै आएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले २२ कात्तिकसम्म ढुक्कले पदमा रहन पाउने भएका छन्।

आफ्नो सम्मानजनक बहिर्गमनको मोडालिटीमा छलफल चलिरहेको र तिहारअघि बुधबारसम्म मात्र अदालत खुल्ने भएकाले मोडालिटीको छलफल तिहार बिदापछि घनीभूत हुने सर्वोच्च अदालतका एक न्यायाधीशले बताएका छन्।

सम्मानजनक बहिर्गमनको मोडालिटी र समयमा प्रधानन्यायाधीश जबरा र असन्तुष्ट १९ जना न्यायाधीशहरूको फरक फरक मत छ। न्यायाधीशहरूको तर्फबाट बनेको वार्ता समितिसँग जबराले केही दिन न्यायीक सुधारका लागि समय मागे पनि न्यायाधीशहरूले बहिर्गमन मितिको सुनिश्चितता खोजेका छन्। तर जबराले भने आफू इजलासमा नबस्ने र बन्दीबाहेकका मुद्दामा पेसी नतोक्ने प्रतिबद्धतामात्र जनाएका छन्।

यसका अतिरिक्त उनले संवैधानिक बहिर्गमनको कुरा राखेर आफ्नो विवादलाई संसद् छिराउन खोजेको न्यायाधीशको आशंका छ । यो आशंकामा वार्ता समितिले आज र भोलि जबरासँग कुराकानी गर्नेछ। यसबीचमा आजका लागि बन्दीका मुद्दामात्र पेसी चढेका छन् भने तिहारअघिको बाँकी एकदिन (बुधवार) पनि बन्दीका मुद्दामात्र पेसीमा राख्ने उनको प्रतिबद्धता छ ।

‘बुधबारपछि तिहारको बिदा सुरु भइहाल्छ, २२ गते अदालत खुलेपछि फेरि घनीभूत छलफल हुन्छ, त्यसबेलासम्मका लागि उहाँबाट अब निकास नआउने नै भयो,’ असन्तुष्ट एक न्यायाधीशले  भने।

उनका अनुसार तिहार बिदालगत्तै असन्तुष्ट न्यायाधीशहरू प्रधानन्यायाधीशविरुद्ध नयाँ ढंगको आन्दोलनमा उत्रने छन्। तर यसको मोडालिटीमा भने न्यायाधीशबीच छलफल सकिएको छैन। ‘आज र भोलि छलफल हुन्छ, त्यसपछि उहाँ (प्रधानन्यायाधीश) को मुड हेरेर हामी नयाँ ढंगले चल्छौ नै,’ ती न्यायाधीश भन्छन्।

न्यायाधीशहरूको आन्दोलनसँगै नेपाल बारले पनि तिहारअघिसम्मका लागि अदालतमा कालोपट्टीसहित प्रदर्शन गर्ने, जबराको इजलास बहिष्कार गर्नेलगायतका कार्यक्रम गरिरहेको छ। बारले तिहारपछि आफूहरू जबराविरुद्ध निर्णायक आन्दोलनमा जाने घोषणा गरिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.