फेसबुकले अनुहार चिन्ने सफ्टवेयर हटाउने, एक अर्ब प्रयोगकर्ताका तस्बिरबाट टेम्प्लेट हट्ने

डिसी नेपाल
१८ कार्तिक २०७८ १४:१३
128
Shares

बीबीसी। फेसबुकले मानिसको तस्बिर र भिडिओमा अनुहार चिन्न प्रयोग गरिएको सफ्टवेअर अबदेखि नचलाउने घोषणा गरेको छ।

अनुहार चिन्ने प्रविधिको प्रयोग कति नीतिसङ्गत छ भन्ने विषयमा चर्चा बढिरहेको बेला उक्त लोकप्रिय सामाजिक सञ्जालले त्यस्तो निर्णय गरेको हो।

सो प्रविधिको प्रयोग हुँदा गोपनीयता, जातिगत पूर्वाग्रह तथा प्रविधिको यथार्थपरकताप्रति गम्भीर प्रश्न उठाइएको छ।

फेसबुकका अनुसार नियामक निकायहरूले उक्त प्रविधि कसरी प्रयोग गर्ने भन्ने सन्दर्भमा स्पष्ट नियम बनाएका छैनन्।

त्यो प्रविधि चलाउँदा प्रयोगकर्तामा पर्ने प्रभावका कारण फेसबुकको चर्को आलोचना हुने गरेको छ।

उक्त सामाजिक सञ्जालमा प्रयोगकर्तालाई अनुहार चिन्ने सुविधा चलाउने कि नचलाउने रोज्न दिइएको थियो। चलाउन इच्छुक प्रयोगकर्तालाई फेसबुकले अरूले तिनको तस्बिर प्रेषित गरेको पत्ता लगाएर सूचित गर्थ्यो।

एउटा ब्लगमा फेसबुकको आर्टिफिशल इन्टेलिजन्स हेर्ने उपाध्यक्ष ज्रोम प्रेजेन्टीले लेखेका छन्ः “विद्यमान अन्योलका बीच अनुहार चिन्ने प्रविधिको प्रयोग सीमित रूपमा गर्नु उचित हुन्छ भन्ने हामीलाई लाग्छ।”

सन् २०१९ मा अमेरिकामा गरिएको एउटा अध्ययनका अनुसार फेसबुकले प्रयोग गरेको एल्गोरिदम कोकेजन मूलका मानिसको अनुहारको तुलनामा अफ्रिकी-अमेरिकी र एशियाली मूलका मानिसको अनुहार चिन्न धेरै कम सक्षम थियो।

अफ्रिकी-अमेरिकी महिलालाई अर्कै व्यक्तिका रूपमा चिन्ने सम्भावना बढी भएको न्याश्नल इन्स्टिट्यूट अफ स्ट्यान्डर्ड्स एन्ड टेक्नोलजीको अध्ययनले देखाएको थियो।

फेसबुकले तस्बिर स्क्यान गर्ने र ट्याग गर्ने तरिकाबारे चलिरहेको एउटा लामो मुद्दा गत वर्ष मात्रै टुङ्गिएको थियो।

उक्त मुद्दा सन् २०१५ देखि चलिरहेको थियो। फेसबुकले प्रयोग गरेको अनुहार छुट्ट्याउने प्रविधि इलिनोय राज्यको गोपनीयतासम्बन्धी कानुनविपरीत भएको तर्क गर्ने प्रयोगकर्ताहरूको एउटा समूहलाई उक्त कम्पनी ५५ करोड डलर दिन सहमत भएको थियो।

अनुहार चिन्ने प्रविधि विवादास्पद भएका कारण एमजन र माइक्रोसफ्ट कम्पनीले उक्त प्रविधि प्रयोग भएका उत्पादनहरू प्रहरीलाई बेच्न रोकेका छन्।

इन्स्टाग्राम र सन्देश पठाउने सेवा ह्वाट्स्याप पनि सञ्चालन गर्ने फेसबुक नियामक निकाय र राजनीतिकर्मीहरूको निरन्तर दबावमा छ।

अमेरिकाको फेडरल ट्रेड कमिशनसहित अन्य नियामक निकायहरूले फेसबुकलाई प्रतिस्पर्धाको मर्मविपरीत काम गरेको भन्दै एकाधिकारको अभियोगमा मुद्दा दायर गरेका छन्।

गत महिना एक पूर्वकर्मचारीले फेसबुकको व्यवहार अनैतिक भएको आरोप लगाएकी थिइन्।

धेरै आन्तरिक दस्ताबेज सार्वजनिक गर्दै तिनबाट फेसबुकले प्रयोगकर्ताको सुरक्षाभन्दा पनि नाफालाई प्राथमिकता दिएको देखिने उनको दाबी छ।

फेसबुकका प्रमुख कार्यकारी मार्क जकरबर्गले आफ्नो कम्पनीलाई दुर्नाम गराउन संयोजित रूपमा त्यस्तो दाबी गरिएको बताएका छन्।

फेसबुकले भर्खरै आफ्नो माउकम्पनीको नाम मेटा राख्ने घोषणा गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *