प्रिती राईले कम उमेरका कारण गुमाइन् आईलिग
काठमाडौं ।होचो कद, तीव्र गतिको खेल, साथै उत्कृष्ट फिनिसिङ । यिनै कारण गत भदौमा भएको बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेलमा प्रिती राई सबैको नजरमा पर्न सफल भइन् । डेब्यू खेलमै प्रितीले गोल पनि गरिन् । जुन गोल दर्शनीय रहेको थियो । प्रितीसँगै सविता राना मगरले समेत डेब्यू खेलमै गोल गरिन् ।
दुई खेलाडीको अग्रपंक्तिमा सुन्दर खेलसँगै नेपालले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशलाई पराजित गरेको थियो । यसपछि नेपालले एएफसी एसियन कप छनोट खेलमा प्रतिस्पर्धा गर्यो । सो प्रतियोगितामा समेत प्रितीले उत्कृष्ट प्रदर्शन गरिन् । उमेरले प्रिती मंसिरमा १७ वर्षको पुग्नेछिन् । उमेर समूहको साफ च्याम्पियनसिपमा नेपालको यू–१५ राष्ट्रिय टोलीको कप्तानी गरेकी प्रितीले एएफसी यू–१९ च्याम्पियनसिपको छनोट खेलमा समेत राम्रो प्रदर्शन दिइन् । जसका कारण प्रितीलाई विभागीय टोली एपीएफ क्लबले अनुबन्धन ग¥यो । करारमा खेलिरहेकी प्रितीले त्यहाँसमेत आफूलाई प्रमाणित गरिन् । टोली राष्ट्रिय महिला लिग नै च्याम्पियन भयो ।
त्यसपछि राष्ट्रिय टोलीको क्लोज क्याम्पमा दोस्रो पटक स्थान बनाएकी प्रितीले यस पटक भने डेब्यू नै गरिन् । प्रितीलाई नेपाली महिला टोलीको भविष्यको रूपमा हेरिएको छ । उनको खेलले नै यसलाई प्रमाणित गरिसकेको छ । गत राष्ट्रिय लिगमा एपीएफबाट खेल्ने सावित्रा भण्डारी (साम्बा)ले घुँडाको चोट बोकेपछि साम्बाको स्थान क्लबमा होस् या राष्ट्रिय टोलीमा प्रितीले पाएकी छिन् । भलै अग्रपंक्तिमा प्रिती सावित्रा जत्तिको सफल हुन भने सकेकी छैनन् । तर, भविष्य भने प्रितीले सावित्राकै सफलता पाउने संकेत देखाएकी छिन् ।
सानै उमेरमा सफलताको उचाइमा पुग्ने कोसिस गरेकी प्रितीलाई देशभित्र मात्र हैन, बाहिरी क्लबबाट समेत खेल्न प्रस्ताव आउन थालेको छ ।मिडफिल्डर र फरवार्ड जुनसुकै पोजिसनमा खेल्न सक्ने प्रितीलाई भारतीय क्लबबाट खेल्न प्रस्ताव आउन थालेको हो । दक्षिण एसियाली फुटबलमा ‘पावर हाउस’को उपमा पाएको भारतीय आईलिगका लागि प्रितीलाई प्रस्ताव आएको छ । तर, प्रितीले आफ्नो उमेरकै कारण भारतीय महिला आईलिग खेल्न नपाउने भएकी छिन् । भारतीय आईलिग छनोट खेलमा महराष्ट्रको ‘फुटबल क्लब कोलहापुर सिटी’ले प्रितीलाई छनोट खेल्न प्रस्ताव गरेको हो ।
तर, लिग खेल्न श्रम भिषामा विदेश जानुपर्ने हुँदा कम उमेरका कारण प्रितीले लिग खेल्न भारत जान पाइनन् । ‘लिग खेल्न प्रस्ताव आएको थियो । तर, उमेर नपुगेर अवसर गुमाएँ’, प्रितीले बताइन् । महिला विभाग प्रमुख हरि खड्काले समेत प्रितीलाई लिग खेल्न प्रस्ताव आएको र उमेर नपुगेकै कारण लिग खेल्नबाट बञ्चित भएको बताए । ‘प्रितीलाई कोलहापुरबाट प्रस्ताव आएको थियो । उमेर कम भएपछि पठाउन सकेनौं’, राष्ट्रिय पुरुष फुटबल टोलीका पूर्व खेलाडी तथा कप्तान हरिले भने ।







डिसी नेपाल







Facebook Comment