जर्मनीको बर्लिनमा दूतावासको अगाडि रुसी कूटनीतिज्ञको लाश भेटियो

डिसी नेपाल
२० कार्तिक २०७८ १३:२१
204
Shares

काठमाडौं। जर्मनीको राजधानी बर्लिनमा रुसी राजदूतावासबाहिर एक कूटनीतिज्ञको लाश भेटिएको छ। जर्मनीको समाचार वेबसाइट डेर स्पीगलका अनुसार बर्लिन दूतावास परिसरको सुरक्षा गर्ने पुलिसकर्मीहरुले गएको १९ अक्टोबरमा दूतावासबाहिर एक व्यक्तिको शव फेला पारेका थिए । वेबसाइटका अनुसार यी व्यक्ति पहिलो तलाबाट खसेको आशंका गरिएको छ ।तर, अहिलेसम्म घटना कस्तो परिस्थितिमा भयो भन्ने स्पष्ट छैन ।

रुसी दूतावासले यी कूटनीतिज्ञको नाम खुलासा नगरी घटनालाई दुःखद बताएको छ । जर्मनीको विदेश मन्त्रालयले पनि यी व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ तर योभन्दा धेरै जानकारी उपलब्ध गराएको छैन । बर्लिन पुलिसको तर्फबाट पनि अहिलेसम्म यो घटनाबारे सार्वजनिक बयान दिइएको छैन ।यो घटनासँग सम्बन्धित पहिलो खबर शुक्रबार मात्रै सार्वजनिक भएको हो ।

समाचार अनुसार मृतकको उमेर लगभग ३५ वर्ष थियो र उनी रुसी कूटनीतिज्ञ थिए । उनी रुसी दूतावासमा सेकेण्ड सेक्रेटरी पदमा कार्यरत थिए । यद्यपि केही खबरमा मृतक एक रुसी जासुस भएको आशंका समेत जनाइएको छ । समाचार एजेन्सी रोयटर्सले डेर स्पीगललाई उद्धृत गर्दै बताएअनुसार जर्मनीको सुरक्षा एजेन्सीले यी व्यक्ति रुसको खुफिया एजेन्सी एफएसबीका अण्डरकभर एजेन्ट भएको मान्छ । अनुसन्धानात्मक वेबसाइट बेलिंगक्याटले ओपन सोर्स डेटाको हवाला दिँदै मृतक रुसी खुफिया एजेन्सी एफएसबीका उपनिर्देशकका छोरा भएको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *