टि–२० विश्वकपमा ह्याट्रिकको विश्वरेकर्ड
काठमाडौं। जारी टि–२० विश्वकपमा ह्याट्रिकको विश्वरेकर्ड बनेको छ । यो विश्वकपमा लगातार ह्याट्रिकको वर्ष मात्र भएर विश्वकपमै पहिलो पटक ४ बलमा ४ विकेटको रेकर्ड पनि बनेको छ । गएराती भएको इङल्याण्डविरुद्धको खेलमा दक्षिण अफ्रिकाका कागिसो रबाडाले जारी विश्वकपको तेस्रो ह्याट्रिक गरेका छन् ।
टि–२० विश्वकपमा पहिलो ह्याट्रिक टि–२० विश्वकपकै पहिलो संस्करण २००७ मा भएको थियो । त्यतिबेला अस्ट्रेलियाका ब्रेट लीले बंगलादेशविरुद्ध ह्याट्रिक गरेका थिए । उनले शाकिब अल हसनलाई विकेटकिपर आडम गिलक्रिस्टको हातबाट क्याच आउट गराएपछि मशरफे मोर्तजालाई बोल्ड र आलोक कपालीलाई एलबीडब्लु आउट गरेका थिए ।
ब्रेट लीको त्यो ह्याट्रिक विश्वकपको मात्रै नभइ टि–२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै पहिलो ह्याट्रिक थियो । त्यसपछि आजको मितिसम्म आइपुग्दा धेरै बलरहरुले टि–२० अन्तर्राष्ट्रियमा ह्याट्रिक गरे । तर, कुनै पनि बलरले टि–२० विश्वकपमा ह्याट्रिक गर्न सकेका थिएनन् । २००७ पछि २००९, २०१०, २०१२, २०१४ र २०१६ मा पनि टि–२० विश्वकप भएको थियो तर यी संस्करणमा ह्याट्रिक हुन सकेन ।
अहिलेको विश्वकपमा भने ३ जना बलरले ह्याट्रिक गरिसकेका छन् । अहिलेको विश्वकपको पहिलो ह्याट्रिक आयरल्याण्डका कर्टिस क्याम्फरले गरे । उनले ह्याट्रिक मात्र नभइ लगातार ४ बलमा ४ विकेट लिए । नेदरल्याण्डविरुद्ध क्याम्फरले कोलिन एकरम्यान, र्यान टेन डेस्काटे, स्कट एडवार्डस र रोएलोफ भान डेर मेर्वेको विकेट लिए ।
जारी विश्वकपमा दोस्रो ह्याट्रिक श्रीलंकाका वानिन्दु हसरंगाले गरे । उनले दक्षिण अफ्रिकाविरुद्ध एडेन मारकरम, टेम्बा बाभुमा र ड्वेन प्रिटोरियसको विकेट लिए । हसरंगाले ह्याट्रिक गरेको भए तापनि श्रीलंकाले यो खेल भने हारेको थियो ।
जारी विश्वकपको तेस्रो ह्याट्रिक दक्षिण अफ्रिकाका कागिसो रबाडाले गरे । उनले इङल्याण्डविरुद्ध क्रिस वोक्स, इयान मोर्गन र क्रिस जोर्डनको विकेट लिए । रबाडाको ह्याट्रिकपछि दक्षिण अफ्रिकाले यो खेल जित्यो । तर, इङल्याण्ड र अस्ट्रेलियासँग बराबर ८ अंक भएर पनि नेट रनरेटका आधारमा दक्षिण अफ्रिका सेमिफाइनल पुग्न सकेन ।
जारी विश्वकपमा आयरल्याण्डका कर्टिस क्याम्फरले लगातार ४ बलमा ४ विकेट लिएर टि–२० अन्तर्राष्ट्रियमा यो सफलता हासिल गर्ने तेस्रो बलर बनेका छन् । विश्वकपमा भने ४ बलमा ४ विकेट लिएको यो पहिलो पटक हो । यसअघि टि–२० अन्तर्राष्ट्रियमा अफगानिस्तानका राशिद खान र श्रीलंकाका लासिथ मालिंगाले लगातार ४ बलमा ४ विकेट लिएका छन् ।
राशिद खानले २०१९ फेब्रुअरीमा आयरल्याण्डविरुद्ध केभिन ओब्रायन, जर्ज डकरेल, शेन गेटकाटे र सिमी सिंहलाई आउट गरेर टि–२० अन्तर्राष्ट्रियमा लगातार ४ बलमा ४ विकेट लिने पहिलो बलर बनेका थिए । त्यसपछि श्रीलंकाका लासिथ मालिंगाले २०१९ कै सेप्टेम्बरमा न्यूजिल्याण्डविरुद्ध कोलिन मुनरो, हमिस रदफोर्ड, कोलिन डे ग्राण्डहोम र रस टेलरलाई लगातार ४ बलमा आउट गरेका थिए ।







डिसी नेपाल







Facebook Comment