प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म सरकार स्थिर बन्न सक्दैनः डा भट्टराई
काठमाडौं ।प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू नभएसम्म देशमा स्थिर सरकार बन्न नसक्ने जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले बताएका छन् । डा भट्टराईले अहिलेको शासन प्रणालीले देशमा जति सरकार बने पनि स्थिर सरकार बन्न नसक्ने बताएका हुन् ।
“संविधानसभाबाट संविधान बनाए पनि देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नभएसम्म स्थिर सरकार बन्दैन”, उनले भने, “जबसम्म योग्य मान्छे, योग्य समूह सबै छानेको प्रतिनिधिले नेतृत्व लिँदैन, त्यो नभएसम्म देशमा सही अर्थमा लोकतन्त्र पनि आउँदैन र विकास र समृृद्धि पनि हुँदैन ।” गोरखाको शहीद लखन गाउँपालिकाको घैरुङमा आज आयोजित जनभेटघाट कार्यक्रममा उनले असल व्यक्ति नआएसम्म देशमा परिवर्तन सम्भव नहुने बताए ।
उनले माओवादीलगायतका दलहरुले अहिलेको संविधानमा सबैथोक पुग्यो भन्नु यथार्थ नभएको भन्दै अहिलेको संविधान पूर्ण नभएको बताए । अहिलेको नेपालको सङ्घीयता आफूहरुले खोजेको जस्तो सङ्घीयता नभएको पनि अध्यक्ष डा भट्टराईको भनाइ छ । “विभिन्न जातजाति, भाषा र समुदायले बनेको मुलुक हो, सङ्घीयता भनेको आफ्नो भाषा, इतिहास थातथलो मिल्ने गरी भौगोलिक सीमाङ्कन गरिएको हुनुपर्छ, देश ठूलो भएकाले काँक्रो चिरे जस्तो चिर्ने भन्ने मात्र सङ्घीयता होइन”, डा भट्टराईले भने, “जातीय र भाषिक विविधता भएको देशमा त्यही अनुसार सीमाङ्कन हुनुपथ्र्यो ।”







डिसी नेपाल







Facebook Comment