विश्वकपमा ‘फाइनलको रिपिट’ सेमिफाइनल आज
काठमाडौं। टि–२० विश्वकप २०२१ को पहिलो सेमिफाइनल आज दुबइमा इङल्याण्ड र न्यूजिल्याण्डबीच हुँदेछ । २०१९ विश्वकपको ८५० दिनपछि आइसीसी इभेन्टमा यी दुई देश फेरि एक पटक भिड्न लागेका छन् । यी दुई टिमबीच आज हुने विश्वकपलाई अघिल्लो एकदिवसीय विश्वकपको फाइनलको पुनरावृत्तिको रुपमा हेरिएको छ ।
२०१९ को एकदिवसीय विश्वकपको फाइनलमा पनि यी दुई टिमबीच निकै कडा प्रतिस्पर्धा भएको थियो । निर्धारित ५० ओभरको खेलमा दुवैको स्कोर बराबरी भएपछि खेल सुपर ओभरमा गएको थियो । तर, सुपर ओभरमा पनि खेल बराबरी भएपछि बाउन्ड्री गणनाका आधारमा इङल्याण्डलाई विजेता घोषित गरिएको थियो । यसरी खेलमा स्पष्ट हारजित नहुँदा पनि विजेता घोषित गरिएपछि यो नियमको निकै आलोचना पनि भएको थियो ।
एकदिवसीय विश्वकपको विजेता इङल्याण्ड अहिले खेलाडीहरुको चोटसँग जुधिरहेको छ । जोफ्रा आर्चर, बेन स्टोक्सजस्ता स्टार खेलाडीबिना पनि निकै उत्कृष्ट टिम बनेको इङल्याण्डका कैयौं खेलाडीहरु अहिलेसम्म आइपुग्दा घाइते भएका छन् । श्रीलंकाविरुद्धको खेलमा डेथ ओभर विशेषज्ञ बलर टाइमल मिल्स घाइते भएका छन् । ओपनिङ ब्याटर जेसन रोय पनि दक्षिण अफ्रिकाविरुद्धको खेलमा घाइते भएर प्रतियोगिताबाटै बाहिरिएका छन् ।
न्यूजिल्याण्ड एक पटक फेरि विश्वकपमा अण्डरडगको हैसियतमा मैदानमा उत्रिँदैछ । हालका केही वर्षमा लगातार ठूला प्रतियोगिताको सेमिफाइनलदेखि फाइनलसम्म पुगेको न्यूजिल्याण्डलाई पनि कम आँकलन गर्न सकिँदैन । न्यूजिल्याण्ड अघिल्लो विश्वकपको खराब स्मृतिलाई बिर्सेर अगाडि बढ्न चाहन्छ र पटक पटक नजिकै पुगेर उपाधिबाट चुकेको न्यूजिल्याण्डको लागि यो अर्को मौका हुनेछ ।







डिसी नेपाल







Facebook Comment