फाराम नभरेकालाई क्रियाशील सदस्यता दिएपछि रसुवामा विवाद

डिसी नेपाल
२४ कार्तिक २०७८ १७:३०
40
Shares

रसुवा । रसुवामा नेपाली कांग्रेसको फाराम नभरेकालाई क्रियाशील सदस्यता प्रदान गरेपछि विवाद बढेको छ । पार्टीको १४औँ महाधिवेशनका लागि वितरण गरिएको क्रियाशील सदस्यतामा फाराम नभरेका १०० भन्दा बढी व्यक्तिलाई छानविन समितिले सिधै क्रियाशील सदस्यता दिएपछि विवाद चुलिएको हो ।

वडा कार्यसमितिबाट सिफारिस भई गएका विगतदेखि नै क्रियाशील सदस्यहरूको नामावली काटेर फाराम नै नभरेकालाई सदस्यता प्रदान गरेपछि रसुवाका कांग्रेसी युवाहरू छानविन समितिप्रति आक्रोशित भएका हुन् ।

कांग्रेस नौकुण्ड गाउँपालिका–१ रसुवाका वडा सभापति आशिष तामाङले अराजक, अधिनायकवाद, अलोकतान्त्रिक र स्वच्छेचारी ढङ्गले वितरण गरिएको क्रियाशील सदस्यताले पार्टीप्रति सच्चा, इमान्दार र आस्थावान कार्यकर्ताको मनोबल गिराउने कार्य गरेको बताए ।

‘वडा समितिबाट सिफारिस गरिएको सच्चा कार्यकर्ताहरूको क्रियाशील सदस्य कटौती गर्ने र विधानविपरित गैरकांग्रेसलाई पनि जबरजस्ती सदस्यता वितरण गर्ने कार्यको घोर भर्त्सना गर्दै क्रियाशील सदस्यता छानविन निष्पक्ष ढंगले गर्न आग्रह गर्दछु’, उनले भने।

यसैगरि, क्रियाशील छानविन समितिले नेपाल कम्युनिष्ट पार्टी एमालेलाई कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरेको आरोप लगाइएको छ । पार्टीको १४ औँ महाधिवेशनका लागि वितरण गरिएको क्रियाशील सदस्यतामा एमालेको वडा कमिटीमा रहेकालाई क्रियाशील सदस्यता वितरण गरिएको आरोप छ ।

तिहारअघि ७५ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्गिदा रसुवा र रौतहटको क्रियाशील सदस्यता टुङ्गिन बाँकी रहेकोमा रसुवाको आइतबार मात्र टुङ्ग्याइएको थियो । क्रियाशील सदस्यता विवाद समाधान समितिले पार्टी भित्रका इमान्दार नेता तथा कार्यकर्ताको मनोबल गिराउने कार्य गरेको भन्दै रसुवा कांग्रेसले आपत्ति जनाएको छ ।

रसुवामा कांग्रेसको क्रियाशील सदस्यको संख्या तीन हजार ८५७ रहेको केन्द्रिय निर्वाचन समितिले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.