भारतीय सेनाले किन दिएन नेपाली सेनापतिलाई सेरेमोनियल ट्युनिक ? (तस्बिर र भिडियाेसहित)

डिसी नेपाल
२७ कार्तिक २०७८ ९:०१
18.3k
Shares

काठमाडौं । नेपाली सेनाका सेनापति प्रभुराम शर्मा भारतीय सेनाको पोशाक अर्थात्  हरियाे रंगको सर्ट र हरियाे प्यान्टमा उपस्थित देखिए। कार्यक्रम विशेष समारोहको थियो तर उनी विशेष समारोहका लागि अनिवार्य मानिएको सेरेमोनियल पोशाकमा थिएनन्, अफिसियल पोशाकमा थिए।

भारत भ्रमणको एउटा मुख्य कार्यक्रम भारतीय सेनाको मानर्थ सेनापति दर्जा ग्रहण गर्नुथियो। भारतीय राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति भवन नयाँ दिल्लीमा एक विशेष समारोहको आयोजना गरी सेनापति शर्मालाई कात्तिक २३ गते भारतीय सेनाको मानार्थ सेनापति दज्र्यानी चिन्ह, तरबारसहित प्रदान पनि गरे। तर, यो कार्यक्रममा उनले लगाएको पोशाकले यस्ता विशेष समारोहहरुका बारेमा जान्नेहरु अचम्ममा परेका छन्।

विश्वभर नै प्रचलित विशेष समारोहको सैनिक पोशाक छाडेर अफिसियल पोशाकको व्यवस्था भारतीय सेनाले किन गर्यो आफ्नो मानार्थ सेनापतिको लागि? के भारतीय सेनाले अव सेरेमोनियल पोशाक नै परिवर्तन गरेको हो कि? वा नेपाली सेनापति शर्माका लागि मात्र यस्तो गरिएको हो? 

नेपाल र भारतका सेनापतिहरुलाई एकअर्को देशमा मानार्थ सेनापति दिइने र यसका लागि दुबै देशहरुका राष्ट्रपतिले नै सो पद्वी दिने चलन रहदै आएको छ। र, सो पद्वी लिने बेलामा पद्वी दिने देशको सैनिक पोशाक लगाउने, त्यहीँका सेनापतिको दज्र्यानी चिन्ह, पी क्याप वा वेरेट क्याप लगाउने चलन छ। पोशाकमा सर्ट, टाई र कोट तथा प्यान्टसहितको सेरेमोनियल ट्युनिक लगाउने गरिंदै आएको छ। र, त्यस्तो पोशाक जुन देशमा गएको हो त्यही देशको सेनाले सिलाएर दिने गरेको छ।

नेपालमा आउँदा नेपाली सेनाले नै दिने गर्छ भने भारतमा जाँदा भारतीय सेनाले नै दिनुपर्ने हुन्छ। यसपटक पनि सेनापति शर्मालाई भारतीय सेनाले नै सो पोशाक उपलब्ध गराएको हो। सैनिक स्रोतका अनुसार, सेरेमोनियल पोशाक नै लगाउनु पर्ने हुँदा पोशाकमा अरु छनौट हुँदैन तर शरीरअनुसारको नाप भने माग्ने गरिन्छ। यसपटक पनि नाप दिइएको तर पोशाक किन सेरेमोनियल ट्युनिक दिइएन ? भन्ने कुराले भने आश्चर्यमा पारेको उच्च सैनिक स्रोतले बतायो। यसअघिका सबै सेनापतिको पोशाक सेरेमोनियल ट्युनिक नै देखिन्छ ।(हेर्नुहोस् फोटोहरु)।

 

उदाहरणका लागि सेनापतिहरु छत्रमानसिंह गुरुङ्ग, गौरवसमेशर राणा, राजेन्द्र क्षेत्री र पूर्णचन्द्र थापाले भारतीय सेनाको मानर्थ सेनापति दज्र्यानी लिने बेलाको समारोहलाई लिन सकिन्छ। यी चारैजना पूर्वसेनापतिहरुले सेरेमोनियल पोशाकमा भारतीय सेनापतिको दज्र्यानी चिन्ह, सोहीअनुसारको पी क्याप र सेनापति दर्जाले पाउने लामो तरवार सिउरिएको देखिन्छ ।(हेर्नुहोस भिडियो पनि)।

तर, यसपटक नेपाली सेनापति शर्माका लागि हाफ बाउला भएको सैनिक कोटमा भारतीय सेनापतिको दज्र्यानी चिन्ह लगाइएको छ। समारोहमा लगाइएको सेनापति शर्माको लुगामा घांटी खुल्ला देखिन्छ।

विश्वभर नै प्रचलित विशेष समारोहको सैनिक पोशाक छाडेर अफिसियल पोशाकको व्यवस्था भारतीय सेनाले किन गर्यो आफ्नो मानार्थ सेनापतिको लागि? के भारतीय सेनाले अव सेरेमोनियल पोशाक नै परिवर्तन गरेको हो कि? वा नेपाली सेनापति शर्माका लागि मात्र यस्तो गरिएको हो? यसबारे समारोह अघि वा पछि पनि केही बताइएको छैन।

आफ्नो सेनापतिको भ्रमण भएकाले नेपाली सेनाले पनि भ्रमण र विशेष समारोहको पोशाकबारे चासो राख्नुपर्ने र त्यसमा कमी कमजोरी गर्न खोजे सच्याउने पहल हुनुपर्ने थियो। त्यो भए नभएकोबारे अहिले नै स्पष्ट भइनसकेको सैनिक स्रोतले जनाएको छ।

नेपाली सेनाका सेनापति प्रभुराम शर्मा आफ्नो चार दिने औपचारिक भ्रमण सकेर हिजो शुक्रबार अपरान्ह नेपाल फर्केका छन्।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.