एमाले महाधिवेशन : बन्द सत्रमा चार हजार सहभागी हुने, सहभागीलाई नेपाली खानाको व्यवस्था

डिसी नेपाल
३० कार्तिक २०७८ १३:५३
4
Shares

चितवन। एमालेले १०औँ राष्ट्रिय महाधिवेशनको व्यवस्थापनका लागि तयारी तीव्र पारेको छ। महाधिवेशनको उद्घाटन सत्र हुने नारायणी नदी किनारमा बुधबारदेखि मञ्च निर्माणको काम सुरु हुँदै छ। काठमाडौँबाट आएको प्राविधिक टिमले नै मञ्च निर्माणको काम गर्ने छ।

१०-१२ मंसिरसम्म चितवनमा हुने महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनारमा हुने छ। उद्घाटन सत्रमा पाँच लाख कार्यकर्ता उतार्ने एमालेको तयारी छ । बन्द सत्र भने ११ र १२ मंसिरमा सौराहाको होटल सेभेन स्टारमा हुने तय भएको छ।

बन्द सत्र हुने सौराहामा प्रतिनिधिका लागि आवास र खानपानको बन्दोबस्त गरिएको छ। दुई हजार महाधिवेशन प्रतिनिधि, १५ सय स्वयंसेवक र पाँच सय अतिथि तथा पत्रकार गरी चार हजार जनाका लागि होटलका कोठा बुक गरिएको छ।

बन्द सत्रमा सहभागीले सौराहामा पाँच छाक खाना खाने छन्। खाना खाजा र कोठाका लागि आयोजकले व्यवसायीहरूसँग आधिकारिक रूपमा सम्झौता भने गरिसकेको छैन। १० मंसिर राति एमाले अध्यक्षका तर्फबाट विशेष खानाको व्यवस्था गर्ने भनिएको छ।

११ र १२ मंसिरको बिहानको खाजा (ब्रेकफास्ट) र बेलुकीको खाना गरी चार छाकको व्यवस्था गर्न व्यवसायीहरूलाई भनिएको छ । दुई दिनको दिउँसोको खानाको पनि आयोजकले नै व्यवस्था गर्ने भएको छ। त्यसका लागि आयोजकले क्याटरिङलाई जिम्मा दिँदै छ।

बन्द सत्र हुने होटलको नजिकै खाली चौरमा पण्डाल बनाइएको छ। पण्डालबाट पार्टी अध्यक्षले कार्यकर्तालाई सम्बोधन गर्ने महाधिवेशन आयोजक समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले बताए । ११ गते बेलुकीसम्म उम्मेदवारी दर्ता र फिर्ताको काम सकेर १२ गते बिहानबाट भोटिङ सुरु हुने उनले जानकारी दिए।

आयोजकसँग औपचारिक सम्झौता भइसकेपछि खाना र खाजाको मेन्यु सार्वजनिक गरिने होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडीले बताए। ‘खाजा खानाका लागि लगभग म्यान्डेट पाइसक्यौँ । तर पनि औपचारिकता पूरा गर्न बाँकी छ । सम्झौता पत्रमा हस्ताक्षर भएपछि औपचारिकता पनि सकिन्छ’, उनले भने।

ब्रेकफास्टको मेन्यु तयार भइनसकेको उनले बताए। खानामा दाल, भात, तरकारी र मासुको व्यवस्था हुने छ। खाजा तथा खानाको मेन्यु तयार गर्ने विषयमा मोनिटरिङका लागि सोल्टी र हायत होटलबाट अनुभवी सेफहरूलाई ल्याइने उनले बताए।

कोठा भाडामा विशेष छुट

एमाले महाधिवेशनको बन्द सत्रमा सहभागी हुनेहरूलाई कोठा भाडामा २० देखि ५० प्रतिशत छुट दिने निर्णय भएको क्षेत्रीय होटल व्यवसायी संघ चितवनका अध्यक्ष दीपक भट्टराईले बताए । एक दिनको १० हजार रुपैयाँ पर्ने कोठालाई अहिले ४५ सय रुपैयाँमा दिन खोजिएको उनको भनाइ छ।

संघले होटललाई ‘ए’, ‘बी’ र ‘सी’ वर्गमा छुट्याएको छ । स्टार लेभलका होटललाई ‘ए’ वर्गमा राखिएको छ भने मध्यम वर्गका होटललाई ‘बी’ वर्गमा राखिएको छ। साना होटललाई ‘सी’ वर्गमा राखिएको छ।

‘ए’ वर्गका होटलको एउटा कोठालाई प्रतिदिन ४५ सय, ‘बी’ वर्गलाई २५ सय र ‘सी’ वर्गलाई १५ सय रुपैयाँ कायम गरिएको उनले जानकारी दिए । पार्टी र व्यवसायी दुवैलाई घाटा नपर्ने गरी केही साना वर्गका कोठालाई पनि राम्रोसँग व्यवस्थापन गरिएको उनले बताए।

‘यसअघि विभिन्न पार्टीका कार्यक्रम हुँदा पाँच-दश वटा होटलका कोठा पार्टीलाई सहयोग गर्नुपर्छ भन्ने गर्नुहुन्थ्यो। यसपालि त्यस्तो नभएको हुँदा हामीले सहुलियत दरमा कोठा र खाना उपलब्ध गराउने भनेका हौँ’, उनले भने। सौराहामा १०-१३ मंसिरसम्मका लागि सबै होटलका कोठा बुक भइसकेको उनी बताउँछन्।

‘सौराहाका साना ठूला होटल व्यवसायीसँग भएको ६५ सय बेड हो । एमाले महाधिवेशनको प्रतिनिधिका लागि चार हजार बेड बुक भयो। त्यसका अलावा व्यक्तिगत रूपमा पनि करिब एक हजार बेड बुक भएका छन्’, उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.