आइपिएल २०२२ का लागि सबै टिमहरुले न्यूनतम खेलाडी रिटेन गरे, यी खेलाडी अनुबन्धित
काठमाडौं। विश्वकै सबैभन्दा महंगो फ्रेन्चाइज टि–२० लिग आइपिएलको १५ औं सिजनका लागि पुराना ८ टिमले न्यूनतम खेलाडी अनुबन्ध गर्ने समयसीमा आज सकिँदैछ । पुराना ८ टिमले बढीमा ४ जनासम्म खेलाडी आफूसँग राखेपछि थपिएका २ टिम लखनउ र अहमदाबादले बढीमा ३ खेलाडी अनुबन्ध गर्न पाउनेछन् ।
नयाँ टिमले २५ डिसेम्बरसम्म खेलाडी रिटेन गर्न पाउनेछन् । त्यसपछि जनवरीमा बाँकी खेलाडीहरुको लिलामी हुनेछ । ८ टिमले अधिकतम ४ खेलाडीहरु रिटेन गर्न पाउनेछन् । यसमा ३ जनाभन्दा बढी भारतीय खेलाडी र २ जनाभन्दा धेरै विदेशी खेलाडी रिटेन गर्न पाइने छैन । इएसपिएनक्रिकइन्फोका अनुसार ८ टिमले रिटेन गर्ने खेलाडीको सूची लगभग फाइनल गरिसकेका छन् ।
रिपोर्टका अनुसार दिल्ली क्यापिटल्सले कप्तान ऋषभ पन्तलाई आफूसँगै राखेको छ । यसका अलावा पृथ्वी शा, अक्षर पटेल र दक्षिण अफ्रिकी फास्ट बलर एनरिक नोर्त्जेलाई पनि दिल्लीले रिटेन गरेको छ । चोटका कारण गएको सिजनको पहिलो चरण खेल्न नसकेका र फर्केपछि कप्तानी फिर्ता नपाएका पूर्वकप्तान श्रेयस अय्यरले टिम छाडेर लिलामीमा जाने निर्णय गरेका छन् । केगिसो रबाडा, रविचन्द्रन अश्विनले पनि लिलामीमा जाने निर्णय गरेका छन् ।
मुम्बइ इण्डियन्सले कप्तान रोहित शर्मा र फास्ट बलर जसप्रित बुमराहलाई रिटेन गरेको छ । सूर्यकुमार यादव र किरोन पोलार्डलाई समेत रिटेन गरिने चर्चा चले पनि क्लवले उनीहरुलाई आफूसँग राखेन । चेन्नइ सुपरकिंग्सले कप्तान महेन्द्र सिंह धोनीलाई आफूसँगै राख्ने भएको छ । धोनीले केही समयअघि आफूले अन्तिम खेल चेन्नइकै मैदानमा खेल्ने बताएका थिए । यस्तै चेन्नइले अलराउण्डरहरु रविन्द्र जडेजा, मोइन अली र ऋतुराज गायकवाडलाई आफूसँगै राखेको छ ।
पंजाब किंग्सले एक जना पनि खेलाडी रिटेन गरेको छैन । पंजाबले कप्तान लोकेश राहुललाई आफूसँगै राख्न चाहेको थियो तर राहुलले टिममा नबस्ने र लिलामीमा जाने निर्णय गरेपछि पंजाबले कसैलाई पनि रिटेन गरेन । कोलकाता नाइट राइडर्सले वरुण चक्रवर्ती, आन्द्रे रसेल, भेंकटेश अय्यर र सुनील नरेनलाई आफूसँगै राखेको छ । कोलकाताले कप्तान इयान मोर्गन र पूर्वकप्तान दिनेश कार्तिकलाई रिटेन गरेन । आइपिएलको दोस्रो चरणमा शानदार कमब्याक गरेर फाइनल पुग्ने र विश्वकप जित्ने कप्तानलाई रिलिज गर्नु कठिन निर्णय मानिएको छ ।
राजस्थान रोयल्सले कप्तान संजू सामसनलाई रिटेन गरेको छ । यसबाहेक यशश्वी जैसवाल र विकेटकिपर ब्याटर जोस बटलरलाई पनि रिटेन गरिने सम्भावना छ । यसको निर्णय आज दिनभरमा हुनेछ । बेन स्टोक्स, जोफ्रा आर्चरजस्ता खेलाडीको विषयमा टिम द्विविधामा भएको बताइएको छ । गएको सिजन राजस्थानले निराशाजनक प्रदर्शन गर्दै सातौं स्थानमा रहेको थियो ।
रोयल च्यालेन्जर्स बैंगलोरले विराट कोहलीलाई रिटेन गरेको छ । कोहलीले अबको सिजन कप्तानी नगर्ने घोषणा गरिसकेकोले उसले अर्को कप्तान खोज्नुपर्नेछ । सम्भावित कप्तान मानिएका एबी डिभिलियर्सले सबै किसिमका क्रिकेटबाट सन्यास लिइसकेकोले उसलाई कप्तान खोज्न कठिन हुने मानिएको छ । बैंगलोरले अस्ट्रेलियाका स्टार अलराउण्डर ग्लेन म्याक्सवेललाई पनि रिटेन गरेको छ ।
सनराइजर्स हैदराबादले कप्तान केन विलियमसनलाई आफूसँगै राख्ने निर्णय गरेको छ । टिमले अफगानी स्टार बलर राशिद खानलाई पनि रिटेन गर्ने विषयमा विचार गरिरहेको बताइएको छ । फास्ट बलर भुवनेश्वर कुमार र टि नटराजनको विषयमा पनि विचार गरिरहेको बताइएको छ । २ जनाभन्दा धेरै विदेशी खेलाडी रिटेन गर्न नपाइने भएकोले राशिद खानको विषयमा विचार भइरहँदा डेभिड वार्नर रिटेन नहुने पक्काजस्तै मानिएको छ ।







डिसी नेपाल







Facebook Comment