नियुक्तिको केही घण्टामै राजीनामा दिएकी प्रथम महिला प्रधानमन्त्री ५ दिनमै फेरि नियुक्त
काठमाडौं। स्वेडेनको पहिलो महिला प्रधानमन्त्रीको रुपमा नियुक्त भएको केही घण्टामै बल्पमतमा परेर राजीनामा दिन बाध्य पारिएकी म्याग्दालेना एन्डरसन फेरि प्रधानमन्त्री पदमै नियुक्त भएकी छिन् । स्वेडेनका सांसदहरुले सोसियल डेमोक्रेटिक पार्टीकी नेतृ एन्डरसनलाई पुनः समर्थन गरेका छन् । बीबीसीका अनुसार उनले सोमबार भएको मतदानमा साँघुरो मतान्तरले प्रधानमन्त्रीको निर्वाचन जितेकी छिन् ।
अब उनले आगामी सेप्टेम्बरमा हुने निर्वाचनसम्म आफ्नो एकदलीय सरकारको नेतृत्व गर्ने प्रयास गर्नेछिन् । गत बुधबार उनको गठबन्धन भत्किएपछि उनले नियुक्त भएको केही घण्टामै प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन् । त्यसको केही समयअघि मात्रै एन्डरसन एक मतको अन्तरले स्वेडेनको पहिलो महिला प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।
५४ वर्षीय अर्थशास्त्री एन्डरसनले ग्रिन पार्टीसँग गठबनधन बनाएर अगाडि बढ्ने योजना बनाएको भए पनि उनको बजेट प्रस्ताव फेल भएपछि उनी अल्पमतमा परेकी थिइन् । पार्लियामेन्टले फार राइट स्वेडेन डेमोक्रेटसहित विपक्षी दलहरुको समूहले तयार पारेको बजेट प्रस्तावको पक्षमा मतदान गरेको थियो । तर, ग्रिन पार्टीले फार राइट पक्षले ड्राफ्ट गरेको बजेट स्वीकार नगर्ने भन्दै सरकारलाई समर्थन नगरेपछि एन्डरसनले राजीनामा दिनु परेको थियो । स्वेडेनमा गठबन्धनको कुनै दलले सरकार छाडेमा प्रधानमन्त्रीले राजीनामा दिने अपेक्षा गरिन्छ ।
सोमबार भएको मतदानमा स्वेडेनको संसदका ३४९ सदस्यमध्ये १०१ ले एन्डरसनको पक्षमा मतदान गरे, ७५ जना अनुपस्थित रहे र १७३ जनाले विपक्षमा मतदान गरे । स्वेडेनको संविधानअनुसार प्रधानमन्त्री नियुक्त हुनको लागि कूल सांसद संख्याको बहुमतले विपक्षमा मतदान नगरिदिए पुग्छ । विपक्षमा मतदान गर्ने १७३ सांसद ३४९ को बहुमत पुग्दैन ।
निर्वाचनपछि एक पत्रकार सम्मेलनमा एन्डरसनले आफू कल्याण, जलवायु परिवर्तन र अपराधमा केन्द्रित कार्यक्रमको साथमा स्वेडेनलाई अगाडि लिएर जान तयार भएको बताइन् । प्रधानमन्त्रीमा नियुक्त भए पनि उनलाई अन्य पार्टीको साथबिना संसदमा विधेयक पारित गराउन संघर्ष गर्नुपर्नेछ किनकि ३४९ सदस्यीय संसदमा उनको सेन्टर लेफ्ट सोसियल डेमोक्रेटको १०० सिट मात्र छ ।







डिसी नेपाल








Facebook Comment