इच्छाराज तामाङविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर, ५ अर्ब ६७ करोड क्षतिपूर्ति दाबी

डिसी नेपाल
१७ मंसिर २०७८ १८:२७
676
Shares

काठमाडौं । सिभिल सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका पूर्व सांसद इच्छाराज तामाङविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर भएको छ । १४८ पृष्ठ लामो अभियोगपत्रसहित सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले तामाङलाई सिभिल सहकारीको अर्बौं रकम हिनामिना गरेको आरोपमा पक्राउ गरेको थियो ।

गत असोज १९ मा पक्राउ परेका तामाङमाथि संगठित अपराध अन्तर्गतको कसुरमा अनुसन्धान गरिएको थियो । प्रहरीले उनीसहित १२ जनालाई पक्राउ गरी संगठित ठगी कसुरमा अनुसन्धान गरेको थियो । प्रहरीले सो अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।

सहकारीका सल्लाहकार तथा पूर्वअध्यक्ष तामाङ, उनकी श्रीमती सिर्जना शाक्य तामाङ र हालका अध्यक्ष केशवलाल श्रेष्ठ समेतको मिलोमतोमा ८ अर्ब ५७ करोड ३८ लाख भन्दा बढी रुपैयाँ यस सहकारीबाट गैर कानुनी रुपले विना धितो उनीहरुका निजी हाउसिङ कम्पनीहरु (सिभिल होम्स, सिभिल अपार्टमेन्ट्स र सिभिल इस्टेट्स)मा २०६३ साल देखि विभिन्न समयमा ऋणको रुपमा लगेका र अहिलेसम्म उक्त ऋणको साँवा तथा व्याज नतिरेको आरोप उनीहरुमाथि लागेको छ ।

तर अदालतमा परेको मुद्दामा ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ९७ रुपैयाँ ८२ पैसा बिगोदाबी गरिएको छ । उनीहरुविरुद्ध मुलुकी ऐन, मुलुकी संहिता, संगठित अपराध र कसुरजन्य सम्पत्ति रोक्का ऐनअन्तर्गत सजाय माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

सीआइबीका अनुसार उनीहरुविरुद्ध १ हजार ५ सय ३ जना पीडितले जाहेरी दिएका थिए । प्रहरीले कर्जा अधिकृत बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौस्तुव केतन ढुंगाना, जुनियर सहायक प्रबन्धक एलिना तुलाधर, जुनियर सहायक प्रबन्धक मायोनानी महर्जन, लेखा अधिकृत राकेश महर्जन, जुनियर अधिकृत शंकरप्रसाद पाठक, लेखा सहायक संगीत श्रेष्ठ, सिभिल होम्सका व्यवस्थापक विजयविक्रम शाही र सहजकर्ता भगवानबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार सुमन नन्दन वैद्य, प्रविण मुखिया, अष्टरत्न तुलाधर, प्रविण प्रसाद प्रधान, पूर्व सदस्यहरु दानहिरा तुलाधर, रामकृष्ण पौडेल, खेमनाथ डल्लाकोटी, इन्द्रराज हुमागाईं, जयन्द्रलाल श्रेष्ठ, केशवकुमार अमात्य, दुर्गाप्रसाद संग्रौला र नगेन्द्र बिमली, लेखा समिति सदस्य सिर्जना शाक्य, लेखा समिति पूर्वसदस्य कृष्णप्रसाद श्रेष्ठ, रामराज मास्के, हरिप्रसाद रिसाल, सिभिल बिजनेस कम्प्लेक्सका सञ्चालक लालकाजी गुरुङ, उनकी श्रीमती मीना गुरुङ, सुमन श्रेष्ठ, नारायणलाल श्रेष्ठ, महाप्रबन्धक प्रकाश कुमार बर्मा, प्रबन्धक सुवास कुमार श्रेष्ठ र पूर्वउपमहाप्रबन्धक रन्जना महर्जन पनि फरार रहेका छन् ।

त्यसैगरी जुनियर सहायक प्रबन्धक अनु लामिछाने भन्ने अन्नपूर्ण खनाल, अधिकृत कान्तीलक्ष्मी उपाध्याय र इच्छाराजका छोरीहरु प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङविरुद्ध पनि मुद्दा दायर भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.