एउटै इनिङमा भारतको सबै १० विकेट लिएर न्यूजिल्याण्डका बलरले इतिहास बनाए
काठमाडौं। आफ्नो जन्मस्थानमा टेस्ट म्याच खेलिरहेका न्यूजिल्याण्डका बलर एजाज पटेलले यो अवसरलाई सधैंका लागि स्मरणीय बनाएका छन् । एजाजले मुम्बइको वानखेडे स्टेडियममा भएको खेलमा एउटै इनिङमा भारतका सबै १० विकेट लिएर इतिहास बनाएका छन् । उनी यससँगै टेस्ट क्रिकेटको एउटा इनिङमा सबै विकेट लिने विश्वकै तेस्रो र न्यूजिल्याण्डको पहिलो बलर बनेका छन् ।
यसअघि इङल्याण्डका जिम ल्याकरले २६ जुलाइ १९५६ मा म्यान्चेस्टरमा खेलिएको टेस्टमा अस्ट्रेलियाविरुद्ध सबै १० विकेट लिएका थिए । त्यसपछि भारतका अनिल कुंबलेले ४ फेब्रुअरी १९९९ मा पाकिस्तानविरुद्ध दिल्लीमा भएको खेलमा सबै १० विकेट लिएका थिए । आज एजाज पटेलले पनि मुम्बइको वानखेडे स्टेडियममा भारतका सबै १० विकेट लिए ।
एजाजले पहिलो विकेट शुभमन गिलको लिए । उनले गिललाई रस टेलरको हातबाट क्याच आउट गराए । त्यसपछि क्रमशः चेतेश्वर पुजारालाई क्लिन बोल्ड, विराट कोहलीलाई एलबीडब्लु, श्रेयस अय्यरलाई विकेटकिपर टम बन्डेलको हातबाट क्याच आउट र ऋद्धिमन साहलाई एलबी डब्लु आउट गराए ।
यस्तै रविचन्द्रन अश्विनलाई क्लिन बोल्ड गरे । त्यसपछि मयंक अग्रवाललाई विकेटकिपर टम बन्डेलको हातबाट क्याच आउट गराए । अक्षर पटेललाई एलबीडब्लु, जयन्त यादवलाई राचिन रविन्द्रको हातबाट क्याच आउट र अन्तिम विकेटको रुपमा मोहम्मद सिराजलाई पनि राचिन रविन्द्रकै हातबाट क्याच आउट गराए । उमेश यादव नटआउट रहे ।







डिसी नेपाल







Facebook Comment