१७ वर्षपछि बार्सिलोना समूह चरणबाटै बाहिर

डिसी नेपाल
२३ मंसिर २०७८ ७:४४
732
Shares

काठमाडौं। पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोना बायर्न म्युनिखसँग पराजित हुँदै १७ बर्षपछि च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ। सन् २००३-०४ पछि पहिलो पटक बार्सिलोना अन्तिम १६ मा स्थान बनाउन असफल भएको हो।

यसै वर्ष आर्थिक समस्याका कारण स्टार खेलाडी लियोनल मेस्सीलाई गुमाएको बार्सिलोनाको लागि यो अर्काे खराब स्थिति हो। बुधबार राति बायर्न म्युनिखको घरेलु मैदान एलिएन्ज एरिनामा भएको खेलमा बार्सिलोना ३-० ले पराजित भयो।

समूह ‘इ’कै अर्काे खेलमा बेन्फिकाले ड्यनामो केईभलाई २-० अन्तरले पराजित गरेपछि पूर्वखेलाडी जाभि होर्नाण्डेजको बार्सिलोना १७ बर्षपछि च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिन बाध्य भयो। बायर्नको जितमा थोमस मुलर, लिरोए साने र जमल मुसिएलाले गोल गरे।

३४औँ मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई अग्रता दिलाए। ४३औँ मिनेटमा सानेले गोल गर्दै अग्रता दोहोरो बनाए । ६२औँ मिनेटमा जमलले गोल गर्दै बायर्नलाई ३-० अन्तरको जित दिलाए।

समुहको अर्काे खेलमा बेन्फिकाले ड्यनामोलाई २-० अन्तरले पराजित गर्दै समूह उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनायो । बेन्फिकाको जितमा रोमन यारेमचुक र गिल्बर्टाे जुनियरले गोल गरे।

जितसँगै बायर्नले ६ खेलबाट अपराजित रहँदै १८ अंक जोडेर शीर्ष स्थानमा रह्यो। बेन्फिका ८ अंक बनाउँदै दोस्रो स्थानमा रहँदै उपविजेता भयो । ७ अंक भएको बार्सिलोना र १ अंकको ड्यनामो भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *