अनुचित आर्थिक लाभ लिएको आरोपमा अख्तियार बर्दिबास कार्यालयमा खटिएका प्रहरी नीरिक्षक निलम्बित

डिसी नेपाल
२५ मंसिर २०७८ २०:५१
84
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश–२ मा खटिएका एक प्रहरी नीरिक्षकले अनुचित आर्थिक लाभ लिएको आरोपमा निलम्बन गरिएको छ ।

प्रहरी प्रधानकार्यालयले आयोगको पत्रको आधारमा प्रहरी नीरिक्षक राजु कुर्मीलाई निलम्बन गरको हो । आयोगको प्रदेश २ कार्यालय बर्दिबास कार्यालयमा खटिएका प्रहरी निरीक्षक कुर्मीले प्रदेश–२का विभिन्न प्रहरी कार्यालयमा जुनियर अधिकृतहरुसँग अनुचित रुपमा आर्थिक लाभ लिएको उजुरी परेपछि त्यसमा छानवीन गर्न प्रहरी प्रधानकार्यालयलाई आग्रह गरेको थियो ।

सोही आधारमा उनलाई निलम्बन गरेको प्रहरी प्रधानकार्यालयले जनाएको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार प्रहरी आचरण बिपरीत क्रियाकलाप गरेको आरोपमा कुर्मीलाई निलम्बन गर्नु परेको बताए । ‘उनलाई अख्तियारकै पत्रको आधारमा निलम्बन गरिएको थप विषयबारे अनुसन्धान हुँदैछ’, प्रहरी प्रवक्ता कुँवरले भने ।

उनीमाथि आयोगको कार्यालयमा बसेर सीमा नाकामा तस्करीलाई सहयोग गरेको, व्यापारीहरुसँग अनुचित आर्थिक लिएको आरोप पनि लागेको छ । ‘तस्करीलाई मात्रै सहयोग गरेको देखिएन, प्रहरी कर्मचारीहरुमाथि नै घुस मागेको देखिन्छ’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो ‘३ हजारदेखि ५ हजारसम्म हरेक प्रहरी चौकी इन्चार्जसँग मागेको देखिन्छ ।’ सिपाहीबाट सेवा प्रवेश गरेका कुर्मी प्रहरी सहायक निरीक्षकमा हुँदादेखि नै प्रदेश २ का विभिन्न कार्यालयमा बस्दै आएका थिए । सिपाहीबाट सहायक प्रहरी निरीक्षकमा नाम निकालेर बढुवा हुँदै प्रहरी निरीक्षक भएका कुर्मी लामो समयदेखि प्रदेश–२ का विभिन्न कार्यालयमा पोष्टिङ मिलाएर बस्दै आएका थिए ।

प्रहरीका अनुसार उनी सर्लाही जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहँदा पनि उनी आर्थिक विवादमा मुछिएका थिए । सर्लाही जिल्ला अन्तर्गतका थानाचौकीका इन्चार्जदेखि घुमुवासँग पनि पैसा उठाउने गरेको आरोप लागेको थियो । सर्लाहीपछि उनी प्रदेश २ को अख्तियार कार्यालयमा सरुवा भएका थिए ।

अख्तियारमा गएपछि पनि उनको मुख्य ध्यान प्रदेश २ अन्तर्गतका ८ वटा जिल्लाका जुनियर प्रहरी अधिकृत कार्यालय प्रमुख हुने प्रहरी चौकीका इन्चार्जहरुसँग उजुरी परेको छ भन्दै मासिक ३ हजारका दरले उठाउने गरेको थियो । उनले घुसको दर रेट बढाउँदै चौकीका असई, सईसँग घुसको रेट बढाएर ५ हजार माग्न थालेपछि भने उनीविरुद्ध अख्तियारमै उजुरी परेको थियो । सो उजुरीपछि अख्तियारले उनको निलम्बनका लागि पत्रचार गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.