बागलुङमा ग्रामीण पोषण सुधार कार्यक्रम
काठमाडौं ।सुत्केरी महिला र एक हजार दिनका बालबालिकाको पोषण व्यवस्थापनका लागि बागलुङमा ग्रामीण पोषण कार्यक्रम सञ्चालनमा ल्याइने भएको छ । कृषि ज्ञान केन्द्र बागलुङले दुई वर्ष उमेर समूहका बालबालिकाको परिवारलाई कार्यक्रममा सहभागी बनाउने भएको हो ।
गण्डकी प्रदेश सरकारको ग्रामीण पोषण सुधार कार्यक्रमअन्तर्गत सुत्केरी महिलालाई पोषणयुक्त तरकारी उत्पादन तथा मह उत्पादनमा जोडेर पोषणमा सुधार गर्ने कार्यक्रम रहेको ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए ।
सूचीकृत समूह वा सहकारीमा आवद्ध १५ देखि २५ जना सुत्केरी महिलाको समूहले यो कार्यक्रममा सहभागिता जनाउन पाउने छन् । “दुई वर्षभित्रका बच्चा भएको परिवारका सदस्यले प्रमाणसहित कार्यक्रममा सहभागी हुनसक्छन्, त्यसका लागि क्लस्टर बनाउनुपर्छ”, भट्टराईले भने, “यो कार्यक्रममा सहभागी हुन सबैलाई आह्वान गरेका छौं ।” कार्यक्रमका लागि जिल्लाभर रु ३० लाख परिचालन हुनेछ । एक जना बालबालिकाको परिवारले २० हजार अनुदान पाउने छ ।
समूहमा आउनेलाई थप प्रोत्साहन गरिने उनी बताउछन् । “च्याउखेती गरेको हुनुपर्छ, सानो प्लास्टिक टनेल र एक घार माहुरी हुनुपर्ने कार्यक्रमको विधि छ”, उनले भने, “मह, च्याउ, तरकारी र आवश्यक पोषिलो वस्तु कौसीमा उत्पादन होस् भन्ने हाम्रो उद्देश्य हो ।” यो कार्यक्रमले घरमै पोषणयुक्त तरकारी तथा मह उत्पादन गर्न प्रेरित गर्ने उनले बताए । बालबालिका दुई वर्षको हुँदासम्म सुत्केरी र बालबालिकाका लागि मह र तरकारी प्रयोग हुने र त्यसपछि करेसाको तरकारीले घरखर्च चलाउन सहज हुने कार्यक्रमको लक्ष्य छ । “सिकाइ पनि होस्, उत्पादन र प्रयोग पनि होस्”, भट्टराई भन्छन्, “सहयोगले परिवारमा कुपोषणका कारण आउनसक्ने ठूलो क्षतिलाई कम गर्छ ।”







डिसी नेपाल








Facebook Comment