पौडेलविरुद्ध चियापानमै नाराबाजी, देउवा पनि पुगे
काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध पार्टी नेता कार्यकर्ताले नाराबाजी गरेका छन्। पौडेलले महाधिवेशन प्रतिनिधिको सम्मानमा मंगलबार लैनचौरस्थित ब्यांक्वेटमा गरेको चियापानमा उनीविरुद्ध नाराबाजी लागेको हो।
पौडेलले सभापतिका प्रत्यासी डा.शेखर कोइरालाको पक्षमा नबोलेको भन्दै महाधिवेशन प्रतिनिधिहरूले नाराबाजी गरेका थिए। मनोनयन दर्ताकै राति प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई भेटेर तठस्थ बस्न आग्रह गरेपछि उनी समर्थित नेता कार्यकर्ताले नाराबाजी गरेका थिए। कार्यकर्ता आक्रोशित भएपछि सुरक्षाकर्मीले पौडेललाई जोगाएर सुरक्षित ठाउँमा लगेका छन्।
यदि पौडेलले कोइरालाको पक्षमा मत हाल्न अपिल गरेको भए उनको मत बढी आउने र दोस्रो चरणमा देउवालाई सहजै पराजित गर्ने शेखर पक्षका महाधिवेशन प्रतिनिधिको दाबी छ।
नेपाली कांग्रेसको नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत सभापतिको मतगणनाको अन्तिम परिणाममा कसैले बहुमत प्राप्त गर्न नसकेपछि अब दोस्रो चरणको मतदान हुने भएको छ। दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ।
पौडेलले आयोजना गरेको चियापानमा प्रधानमन्त्री देउवा पनि पुगेका छन्। ५१ प्रतिशत मत नआएपछि महाधिवेशन प्रतिनिधिलाई मनोवैज्ञानिक दबाब दिन पनि देउवा चियापानमा पुगेको कोइराला निकट नेताहरूको दाबी छ।







डिसी नेपाल







Facebook Comment