दोस्रो चरणमा परिणाम जस्तोसुकै आए पनि स्वीकार छ : शेखर कोइराला
काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनको पहिलो चरणबाट नेतृत्व चयन हुन नसकेपछि अब दोस्रो चरणमा जाने सभापतिका उम्मेदावर शेखर कोइरालाले घोषणा गरेका छन्।
पहिलो चरणका सभापतिका उम्मेदावर शेरबहादुर देउवा, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ कसैले पनि बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचनमा जाने निश्चित भएको हो । यसअघि निधि, सिंह र गुरुङले शेरबहादुर देउवालाई समर्थन गरेपछि शेखर कोइरालाले भने प्रतिस्पर्धामा जाने निर्णय गरेका हुन्।
निर्वाचनमा जाने घाेषणा गर्ने क्रममा सभापतिका उम्मेदवार कोइरालाले महाधिवेशन प्रतिनिधिहरू आफैमा नेता भएकाले उनीहरूले दोस्रो चरणको मतदानमा आफ्नो विवेक प्रयोग गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘तपाईहरू आफै नेता हुनुहुन्छ। आफ्नो मन, अन्तरआत्मा र विवेकको प्रयोग गर्नु हुने नै छ । तपाईहरूको त्यही एक मतले नेपालको भविष्य परिवर्तन हुनेछ । भोट हाल्दा गुट, उपगुट बिर्सेर विवेक प्रयोग गर्नुहोस् ।’
उनले आफूले नेपाली कांग्रेसको सभापतिमा विजयी भए कांग्रेसको समग्र जीवनमा परिवर्तन ल्याउने योजना बनाएको पनि सुनाए । आफूले सुरू गरेको नेपाली कांग्रेस रूपान्तरण र पुनर्जागरण योजनालाई निष्कर्षमा पुर्याउने घोषण पनि गरे । साथै उनले निर्वाचनको परिणाम जेसुकै आए पनि स्वीकार हुने पनि बताए ।
उनले भने, ‘निर्वाचनपछि फेरि पनि नेपाली कांग्रेसभित्रको बृहत्तर एकताको पक्षमा म रहने नै छु । म मेरो देश, नेपाली जनता र लोकतन्तको सुनिश्चितता र आगामी पुस्ताका लागि समग्र जीवन आहूति गर्न चाहन्छु।’







डिसी नेपाल







Facebook Comment