सरकारले स्वदेशी हस्तकलालाई प्राथमिकता दिनुपर्छः उपराष्ट्रपति पुन

डिसी नेपाल
२८ मंसिर २०७८ १९:०७
12
Shares

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले स्वदेशी हस्तकला प्रयोग गर्न सबैलाई आग्रह गरेका छन् । नेपाल हस्तकला महासङ्घको ५० औँ स्वर्ण वर्षको शुभारम्भ एवं १० औँ हस्तकला दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नेपाली हस्तकलालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताए ।

“निर्यात व्यापार, रोजगारी सिर्जना, गरिबी निवारणका साथै अन्तर्राष्ट्रिय जगत्मा नेपालको पहिचान कायम गर्न सफल हस्तकलालाई सरकारले उच्च प्राथमिकता दिनुपर्छ”, उनले भने ।

उपराष्ट्रपति पुनले सबै सरकारी निकायलाई स्वदेशी हस्तकलाका सामाग्री प्रयोग गर्न आग्रहसमेत गरे । नेपाली हस्तकलाले व्यापार घाटा न्यूनीकरणमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै निर्यात प्रवद्र्धनमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले कोरोनाबाट थलिएको नेपाली हस्तकला व्यवसायलाई पुनर्जीवन दिन तीनवटै तहका सरकारको सहयोग र सहकार्य आवश्यक रहेको बताए । उनले महासङ्घले स्वर्ण वर्षभरि हस्तकला व्यवसायको प्रवर्द्धनका लागि नीतिगत तथा प्रक्रियागत व्यवस्था सरलीकरणसम्बन्धी गोष्ठी सेमिनारलगायतका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।

हस्तकला महासङ्घका उपाध्यक्ष तथा हस्तकला वर्षका संयोजक रवीन्द्र शाक्यले हस्तकलाको विकास र विस्तारका लागि सबैभन्दा पहिले हस्तकला नीति तर्जुमा गरिनुपर्ने बताए । महासङ्घका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले कोरोनाले थलिएको हस्तकलालाई पुनर्जीवन दिने उद्देश्यका साथ महासङ्घले हस्तकला वर्ष घोषणा गरेर विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा महासङ्घका संस्थापक अध्यक्ष सागरशमशेर राणा, संस्थापक सदस्य मोतीलाल शिल्पकारका साथै उत्कृष्ट निर्यातकर्ता एभरेष्ट फेसनका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठ, सुनिता शेर्पा, नरेशलाल श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.