भिक्षु सेल्नाङ ग्याम्जो तामाङले काठमाडौँमा च्यारिटी सो गर्ने

डिसी नेपाल
२९ मंसिर २०७८ ८:४९
40
Shares

काठमाडाै।  मुगुमा आगलागीमा परेका २० घरका परिवारलाई चिसोबाट राहत दिने उद्देश्यले भिक्षु सेल्नाङ ग्याम्जो तामाङले काठमाडौँमा च्यारिटी सो गर्ने भएका छन्। २० घरका करिब १०० जनालाई ज्याकेट सहयोग गर्नका लागि भिक्षु सेल्नाङले यही डिसेम्बर १ अर्थात् पुस ३ गते शनिवार बौद्धको उत्पला क्याफेमा आफ्ना दुई फिल्म प्रदर्शन गदैछन्।

भिक्षु सेल्नाङ निर्देशित यी दुई फिल्म अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरुमा समेत प्रदर्शन भइसकेका फिल्म हुन्। पालमुनि बसिरहेका उनीहरुलाई बढ्दै गरेको चिसोका कारण न्यानो कपडाको आवश्यकता देखेपछि उनले आफ्ना दुई फिल्मको च्यारिटी सो गर्दै ज्याकेट किन्ने रकम जुटाउन लागेका हुन्।

भिक्षु सेल्नाङलाई इभेन्ट पार्टनरको रुपमा उत्पला क्याफेले साथ दिएको छ । त्यस्तै क्लोथिङ पार्टनरको रुपमा डोक्पा रहेको छ । यस च्यारिटी सोको मिडिया पार्टनरमा नेपाल बुद्धिष्ट न्यूज र एनबी टीभी रहेको छ।

च्यारिटी सोमा भिक्षु सेल्नाङले निर्देशन गरेका दुई फिल्म सुपर मन्क र छ्यालो प्रदर्शन गरिँदैछ। अग्नी पीडितको सहयोगका लागि गरिएको च्यारिटी सोमा ५ हजार र ७ सय रुपैयाँको दुई प्रकारको टिकट रहेको छ।

साँझ ५ः३० बजेदेखि सुरु हुने च्यारिटी सोको आकर्षणका रुपमा अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल निर्देशक मीनबहादुर भाम र निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँ रहेका छन् । फिल्म प्रदर्शन सकिएपछि दुवै चलचित्रकर्मीसँग चलचित्र सम्बन्धी अन्तरक्रियाको व्यवस्था मिलाइएको छ।

कात्तिक महिनामा मुगुको छायाँनाथ रारा नगरपालिका १ गमगढी बजारमा भएको आगलागीका कारण आप्नो सम्पुर्ण जायजेथा गुमाएका पीडितहरु अहिले पालमुनी बस्न बाध्य छन् । आगलागीमा परी २० घर जलेर ध्वस्त भएपछि अहिले उनीहरु परिवार सहित पालको सहारामा पुगेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.