गच्छदारले उपसभापति हारे, खड्का र गुरुङ विजयी

डिसी नेपाल
१ पुष २०७८ ५:१३
1.4k
Shares

काठमाडौं । पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार नेपाली कांग्रेसको आन्तरिक निर्वाचनमा पराजित भएका छन्। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष शेरबहादुर देउवाको क्याम्पबाट उपसभापति पदमा प्रतिष्पर्धा गरेका उनलाई धनराज गुरुङले हराइदिएका हुन्।

गुरुङ सभापति देउवाको प्रतिष्पर्धी क्याम्पबाट उठेका थिए।  नेपाली कांग्रेसको उपसभापति पदमा देउवा क्याम्पबाट पूर्णबहादुर खड्काले सबैभन्दा बढी मत ल्याएर जितेका छन्। खड्काले २१२१ मत पाएका छन्। त्यसैगरी गुरुङले १९०८ मत पाएका छन्। गच्छेदार केवल २ मतलेमात्र पराजित भएका छन्।

२०४८ सालदेखि नेपालको राजनीतिको केन्द्रभागमा निरन्तर रहेका गच्छदारको यो हारसँगै उनको राजनीतिक निरन्तरताबारे पनि प्रश्न उठेको छ। २०४८ साल यताका कुनै पनि संसदीय निर्वाचनमा उनी पराजित भएका छैनन्। जनताबाट निर्वाचित हुँदै आएका गच्छदारलाई यसपटक कांग्रेस कार्यकर्ताले हराइदिएका छन्।

त्यसो त बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि सांसद पदबाटसमेत निलम्बित भएका गच्छदारको मुद्दा अदालतमा अझै विचाराधीन छ।

यस्तै भ्रष्टाचारको आरोप लगेका कांग्रेस नेता गोविन्दराज जोशी, जयप्रकाश आनन्द, चिरन्जीवी वाग्लेलगायतको राजनीति नै समाप्त भएको थियो। तर, गच्छेदारले भने भ्रष्टाचारको आरोप लागि लागि पनि पार्टीको महत्वपूर्ण पदमा सभापति देउवाको पक्षबाट प्रतिष्पर्धा गरेका थिए। र, उनी जम्मा दुई मतले मात्र पराजित हुन पुगे।

यो हारलाई उनले कसरी स्वीकार गर्लान् त्यो अवका केही दिनमा देखिएला तर उनी मधेशी दल खोलेर त्यसको नेतृत्वसमेत गर्दै अन्तत पार्टी एकता गर्न कांग्रेसमै आइपुगेका थिए। उनी पक्षीय अरु नेताले पनि केन्द्रीय समितिमा जित्ने सम्भावना अत्यन्त न्यून छ किनकि पार्टी छोडेर फेरि फर्केका भन्दा पार्टीमा निरन्तर लागेकाहरुलाई नै भाग पुर्याउन कांग्रेसको देउवा क्याम्पलाई मुस्किल पर्दै आएको छ।

पार्टीको आन्तरिक चुनाव हारेकालाई मनोनित गर्ने र विभागीय नेतृत्व दिन ठाउँ त बाँकी नै छ तर गच्छेदारजस्ता नेतालाई त्यो कति सहज स्वीकार्य होला यसै भन्न सकिँदैन।
गच्छदारसँगै उपसभापति हार्नेमा चन्द्र भण्डारी, पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला र पूर्वमन्त्री महेश आचार्य पनि छन्। कोइराला र आचार्यले त प्रतिष्पर्धी मतसमेत ल्याउन सकेनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.