कांग्रेसका केन्द्रीय सदस्यको मतगणना हुँदै

डिसी नेपाल
२ पुष २०७८ २०:०६
1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पदाधिकारीको मतगणना सम्पन्न भएको छ । पदाधिकारीपछि केन्द्रीय सदस्यको मतगणना जारी रहेको पार्टी कार्यालयले जनाएको छ ।

कांग्रेसको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म प्राप्त मतपरिणामअनुसार पदाधिकारीमध्ये सभापतिमा प्रधानमन्त्री रहेका शेरबहादुर देउवा, उपसभापति दुई पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री दुई पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भइसकेका छन् ।

सोमबार सम्पन्न निर्वाचनको पछिल्लो परिणामअनुसार खसआर्य तर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर, मधेसीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव, मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर, थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्रीप्रसाद पाण्डे निर्वाचित भएका छन् ।

यसअघि महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार र आदिवासी÷जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे निर्वाचित भइसकेका छन्।

पदाधिकारीपछि पिछडिएको क्षेत्रअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना जारी रहेको छ । निर्वाचनमा कूल ४६८६ मत खसेको थियो ।

कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ रहेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ जनाले उम्मेदवारी दिएका थिए । केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी\जनजाति १५, खस\आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानमा व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.