विदेश बस्ने नेपालीसमक्ष ओलीले भने, ‘प्रचण्ड र माधव नेपाल विकाउ माल हुन्’

डिसी नेपाल
१८ पुष २०७८ १०:५८
364
Shares

वासिंगटन डिसी। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई विदेशीका लागि विकाउ माल भएको आरोप लगाएका छन्।

उनले यिनै विकाउ मालहरुले नेकपा एमालेलाई आगामी माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा दिने धक्का पनि अन्तिम हुने दावी गरेका छन्। देशवाहिर रहेका नेकपा एमालेका कार्यकर्ताहरुलाई भर्चुअलमाध्यमबाट नयां बर्ष २०२२ को शुभकामना दिने क्रममा उनले सो कुरा बताएका हुन्।

प्रवासी नेपाली मञ्चको आयोजनामा जनवरी १ तारिक भएको सो कार्यक्रममा ओलीले भारतको नाम नलिई आफ्नो सानो छिमेकीमाथि प्रभुत्व कायम गर्न खोजेको आरोप लगाउँदै त्यसरी प्रभुत्व कायम गर्नेका लागि प्रचण्ड र माधव नेपाल विकाउ माल बनेको बताएका थिए।

उनले भने,  ‘एउटा सानो देश जसमाथि आफ्नो कुनै न कुनै प्रकारले प्रभुत्व जमाइराख्नुपर्ने मानसिकतासमेत प्रकट भएर देशभित्रका केही विकाउ मालहरुलाई उनीहरुले विभिन्न ढंगले प्रयोग गर्ने स्थिति बन्यो जसले गर्दा स्थिरताको स्थितिमा पर्याएको भए पनि त्यो उपलब्धीप्रति इष्र्याभाव राखेर त्यसलाई कसरी व्यबधान पुर्याउने भन्ने कुरामा केही व्यक्तिहरु लागे राजनीतिक अस्थिरता ल्याए।’

उनले आफ्नो नेतृत्वको सरकारले मुलुकको नक्सा फेरेको दावी गर्दै विकासविरोधी राष्टियता विरोधीहरुले विकाउ मालहरुलाई प्रयोग गरी मुलुकलाई अस्थिरतातिर धकेलेको आरोप लगाए।

उनले भने, ‘सन् २०२१ नेपालका लागि निकै असहज अप्ठ्यारो, अस्थिरता र अन्तत्वगत्वा प्रतिगमनको स्थितिमा पुगेर समाप्त भयो। संमृद्ध देश बनाउने गन्तव्यमा देश तीब्र गतिमै अघि बढिरहेको थियो। यद्यपि कोभिड १९ जस्तो महामारी र यसका विभिन्न लहरहरुले देशलाई अप्ठेरोमा पारिरहेको थियो देशलाई मात्र होइन विश्वलाई नै अडिन गाह्रो पार्ने गरी प्रतिकूलताहरु सिर्जना गर्‍याे। हामी त्यसबाट सम्हालिएर, हाम्रोजस्तो आर्थिकरुपमा पछाडि परेको, स्वास्थ्य क्षेत्रमा पछाडि परेको देशमा र पहिलोपल्ट परीक्षण गर्दा देशभित्र परीक्षण गर्ने समेत स्थिति नभएको हंगकंग पठाउनु परेको स्थितिबाट संघर्ष गर्दै आज हामीले हाम्रो राष्टिय स्वास्थ्य सामथ्र्यलाई बृद्धि गरेर सामना गरेका छौं। खोप उत्पादन गर्ने देश नभए पनि हामीले हाम्रा नागरिकलाई निशुल्क परीक्षण,निशुल्क खोप, निशुल्क उपचारको व्यबस्था गरेका छौ र जोखिमयुक्त काम गर्ने व्यक्तिहरुको वीमा पनि गरेका छौं।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनको पार्टीको महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनप्रति व्यंग्य गदै ओलीले भने, ‘झण्डै दुई तिहाइको आफ्नो सरकार भत्काउने अनि अरुको पछि पछि लाग्ने एउटा चोइटो लिएर नेपाली समाजवादको बाटो हो? सुशासन र विकासको मार्गलाई अवरोध गर्ने भत्काउने, अस्थिरता, भ्रष्टाचारजस्ता कुराहरु निम्त्याउने त्यो समाजवाद निर्माणको नेपाली बाटो हुन सक्छ?  राष्ट्रिय स्वाभिमान छाडेर विदेशी अन्य शक्तिहरुको स्वार्थमा, आफ्ना स्वार्थहरु पूरा हुन्छन् भने व्यैयक्तिक स्वार्थ, पारिवारिक स्वार्थका लागि अरुका पछाडि लाग्न नहिच्किचाउने यस्ता खालका प्रबृत्तिहरुलाई बोकेर यस्तो क्रियाकलापलाई अग्रगमन भनेर, सार्वभौम जनतलाई अपमान गरेर, परामादेशबाट नक्कली ढंगले, जाली फटाहा ढंगले, अध्यारो कुनामा बसेर सरकार गठन गर्ने, चलाउने जुन क्रियाकलाप भए त्यसलाई समाजवाद निर्माणको नेपाली बाटो भन्ने ? कस्तो सरम नभएको ? लागलाग्दो कुरा।’

उनले नेपालको वामपन्थी आन्दोलनलाई कम्युनिष्ट आन्दोलनलाई सबैभन्दा बढी क्षति प्रचण्ड र माधव नेपालहरुले पुर्‍याएको आरोप पनि लगाए। उनले भने, ‘वामपन्थी सरकार कायम रहनु प्रतिगमन हुने, जनताका बीचमा ताजा जनादेशमा जानु प्रतिगमन हुने र वामपन्थी सरकार ढालेर अनुशासनहीन ढंगले आफ्नो पार्टी फुटाएर अरु विभिन्नका चोइटाहरु जोडेर अरुको पुच्छर समातेर संयुक्त सरकारका नाममा एउटा निकम्मा सरकार, भ्रष्ट सरकार बनाएर देशलाई अस्थिरतामा घकेल्ने र विकासको गतिमा अवरोध पैदा गर्ने ती कामहरु दुखका साथ भन्नुपर्छ वामपन्थी खोल ओडेका आफूलाई समाजवादी भन्ने, वामपन्थी भन्ने, कम्युनिष्ट भन्ने त्यस्ता खोल ओडेकाले नै सबभन्दा बढी नकारात्मक भूमिका खेले।’

नेकपा एमालेबाटै चोइटिएको एउटा सानो गुट भन्दै माधव नेपालसमूहलाई उनले प्रचण्ड भन्दा पनि खत्तम भएको बताए। उनले भने त्यो गुट नेकपा एमाले सिध्याउने हाम्रो उद्देश्य हो भन्छ र त्यही काम अहिले गरिरहेको छ।’ ओलीले उनीहरुका यस्ता गतिविधिलाई पराजित गर्न दिएको साथप्रति हार्दिक धन्यवाद पनि ज्ञापन गरे प्रवासमा बस्ने नेपालीहरुलाई।

अध्यक्ष ओलीले आगामी राष्ट्रिय सभाको निर्वाचनमा एमालेले हार व्योहोर्ने अंक गणित पनि सुनाए प्रवासमा बस्ने नेपालीहरुसँग। तर, उनले त्यो हार माधव नेपाल र प्रचण्ड गुटले दिने अन्तिम धक्का हुने भन्दै त्यसबाट नआत्तिन पनि आग्रह गरे।

उनले भने, ‘माघ १२ गतेको निर्वाचनमा हामीले पाउने पछिल्लो धक्का हो। हामीले त्यसमा धक्का पाउने छौ किनभने पहिला नै हाम्रो भोटबाट जितेका व्यक्तिहरु अन्यत्र लागेका छन् र उनीहरुले हाम्रो पार्टी कमजोर पार्न प्रयास गर्ने छन् र सबै प्रतिक्रियावादी शक्तिहरु हाम्रा विरुद्ध छन्। आजको जनमत प्रकट हुने होइन यसमा हिजो हामीले प्राप्त गरेको जनमत, हिजो हामीले स्वार्थी तत्वहरुसँग गर्नु परेको लेनदेन, पार्टी भित्रैको लेनदेन आदि कारणले हिजोकै जनमतबाट प्राप्त सिटहरु हाम्रा स्थानीय तहका प्रमुख उपप्रमुखहरु र प्रदेशका सदस्यहरुमध्ये केहीलाई चुडाइदिएपछि हामी हार्ने भयौं। यो आजको जनमत होइन यो हिजोको जनमतलाई भाँडिएको स्थिति हो। यो नेकपा एमालेले प्राप्त गर्ने सबैभन्दा पछिल्लो धक्का हो। र, हामीबाट अलग भएको प्रचण्ड गुट र माधव गुटहरुले नेकपा एमालेलाई प्रहार गर्न सक्ने र नोक्सान पार्न सक्ने यही अन्तिम धक्का हो। त्यसपछि यिनीहरुले केही पनि गर्न सक्दैनन्। केही बर्षका लागि एकलट हामीले क्षति व्यहोर्नु पर्छ। यो दुई दुई बर्षमा हुने निर्वाचन हो, त्यतिबेला हामी एक्लैले सबैलाई हामी बडारिदिनेछौं। हामी अहिलेको राष्ट्रिय सभाको निर्वाचन हारौंला, परिणाम आउँदा अरुको ५२ प्रतिशत होला हाम्रो ४८ प्रतिशत होला। स्थिति त्यही हो।’

नागरिकता एक्टिभेट र डिएक्टिभेट गर्ने

अध्यक्ष ओलीले विदेश बस्ने नेपालीहरुले नेपाल फर्केर आउँछु र यहा नै राजनीतिक अधिकार प्रयोग गर्छु भन्ने हो भने उनीहरु फर्केर आउँदा उनीहरुको नागरिकतामा राजनीतिक अधिकार पनि एक्टिभ गर्नुपर्ने धारणा राखे  विदेश जाँदा त्यो अधिकार डिएक्टिभ गर्ने र फर्केर आउँदा एक्टिभ गरिनुपर्ने उनको तर्क थियो।

उनले भने, ‘विदेशमा बस्दा नेपालीहरुले त्यहाँको कानुनको परिपालनाका लागि पीआर वा त्यहांको नागरिकता नै पनि लिएका होलान् तर नेपालमा आउँदा उनीहरु नेपाली हुन्। उनीहरुले नागरिकता पाउनु पर्छ। विदेशमा राजनीतिक अधिकार प्रयोग गर्नेले नेपालमा राजनीतिक अधिकार प्रयोग नगरुन् भन्ने हो। यहाँको राजनीतिक अधिकार सस्पेण्ड गर्ने हो । देश फर्केर आउने हो भने म फर्केर आए भनेर निवेदन दिएपछि राजनीतिक अधिकार फेरि एक्टिभेट गर्न सकिन्छ।’

धर्तीका विभिन्न कुनामा छरिएर भए पनि नेपाली पन नेपाली मन र नेपालको विकासप्रति प्रतिबद्धता राखेर अगाडि बढेको भन्दै सहभागी प्रवासी नेपालीहरुको प्रसंसा गरेका थिए। उनले प्रवासमा बस्ने नेपालीहरुको विदेश बसाइ सकेसम्म छोटो होस् र सार्थक उपलब्धीसहित सकेसम्म छिटो नेपाल फर्किने र आफ्नो पसिना आफ्नो समय, सीप सबै नेपालमा खर्चिने परिस्थिति छिटै आओस भन्ने शुभकामना पनि व्यक्त गरे।

कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराई विशेष आतिथि थिए । अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरूङकाे अध्यक्षता सम्पन्न सो कार्यक्रममा सचिवालय सदस्य डा. विमला भण्डारीले स्वागत गरेकी थिइन् भने नेपालको राष्ट्रिय गान र स्वागत गान जर्मनी निवासी गायक खड्ग न्यौपानेले गरेका थिए।

सचिव रमेश पान्डेको सन्चालनमा भएको सो कार्यक्रममा प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रिय कमिटी ,पांच माहदेशीय कमिटी ,४० राष्ट्रिय कमिटी, सयौं स्थानीय कमिटीलगायत अन्य प्रवासी नेपाली समुदायबाटसमेत कार्यक्रममा उपस्थिति रहेकोप्रवासी नेपाली मन्च अन्तर्राष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख प्रभुराम थापाले डिसी नेपाललाई बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.