हुण्डीमा प्रहरीको नजरः पाँच महिनामा करिब ७ करोड बरामद
काठमाडौं । शुक्रबार साँझ कपिलवस्तुबाट श्रोत नखुलेको करिब ३६ लाख नगद सहित १ जना पक्राउ परे । पक्राउ पर्नेमा कपिलबस्तु नगरपालिका ९ हर्नामपुर बस्ने चेतन खटिक भन्ने ३९ वर्षीय राम बहादुर खटिक रहेका छन् ।
उनलाई श्रोत नखुलेको ३२ लाख ८९ हजार १ सय ५० नेपाली रुपैयाँ र १ लाख ८५ हजार ४० भारतीय रुपैयाँ सहित प्रहरीले पक्राउ गर्यो ।
प्रहरीले गत साता सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेल र रेशा शाक्य पोखरेललाई ५० लाखसहित पक्राउ गर्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट एयरलाइन्सकी कर्मचारी विराटनगर–४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई ५० लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेपछि सौर्य एयरलाइन्सका अध्यक्ष पोखरेलपनि पक्राउ परे ।
उनीहरुलाई पक्राउपछि प्रहरीले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागको लगाएको थियो । विभागले शाक्यसहित तीनजना कर्मचारी नियन्त्रणमा लिएपछि दीपकले सौर्य एयरलाइन्सकै लेटरप्याडमा ५० लाख रुपैयाँ आफ्नो भएको जिकिर गर्दै कर्मचारीलाई रिहा गरिदिन अनुरोध गरेका थिए । विभागले भने बरामद भएबराबरकै रकम धरौटी राखे मात्रै कर्मचारी रिहा गर्न मिल्ने जवाफ पठाएपछि उनी आफैँ पक्राउ परे ।
गत मंसिर १७ महानगरिय प्रहरी परिसर काठमाडौंले दरबारमार्गस्थित एक पसलबाट ठूलो परिमाणकोको हुण्डीको रकम बरामद गर्यो । राजु थापाद्वारा सञ्चालिन विइङ ह्युमन नामक पसलबाट प्रहरीले हुण्डी गर्न लागिएको ६९ लाख रकम बरामद गरेको थियो ।
प्रहरीले पसलका म्यानेजरलाई समेत पक्राउ गरेर राजश्व अनुसन्धान विभागलाई बुझाएको थियो । गत वर्ष कात्तिक १० गते केन्द्रीय अनुसन्धान ब्यूरोले करिब एक करोड रुपैयासहित एक करोड रुपैयाँसहित तीन जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेहरुमा काठमाडौं–११ ताहाचल बस्ने झापा दमकका ३१ वर्षीय विकास मितल, झापाकै २७ वर्षीय कमल मितल र पर्वत कुश्मा नगरपालिका–१ का ३२ वर्षीय गणेश पौडेल थिए ।
उनीहरुलाई प्रहरीले काठमाडौंको ओमबहालस्थित होटल गोल्डेनबाट पक्राउ गरेको थियो । पक्राउ परेकाहरु हुण्डी कारोबारी भएको र प्रहरीले बरामद गरेको उक्त एक करोड पनि हुण्डीकै रकम भएको प्रहरीले दावी गर्यो । त्यो रकमसहित उनीहरुलाई राजश्व अनुसन्धान विभाग पठाएको थियो ।
माथि उल्लेख गरिएका चार वटा प्रकरण प्रतिनीधि मात्रै हुन । प्रहरीले काठमाडौ, विराटनगर, विरगन्ज, कपिलवस्तु, रुपन्देही, कैलाली, बाँके जस्ता जिल्लाहरुबाट स्रोत नखुलेको रकम बरामद गर्ने गरेको छ ।
प्रहरीले स्रोत नखुलेको रकम बरामद गरेपनि उनीहरुले कहाँबाट कसरी ल्याउछन भन्नेबारेमा सामान्य अनुसन्धान गरेर राजश्व अनुसन्धान विभागलाई बुझाउने गरेको छ । प्रहरीका अनुसार उपत्यकालगायत नेपालका सीमा जोडिएका अधिकांश जिल्लामार्फत् हुण्डी कारोबार हुने गरेको छ ।
पछिल्लो समय हुण्डी कारोबार गर्ने व्यक्ति पक्राउ परेपनि उनीहरु सामान्य धरौटीमा छुट्ने गरेको प्रहरीले दाबी गरेको । हुण्डी कारोबार व्यापारसँग सम्बन्धित रहेकाले व्यापारीक क्षेत्रमा हुण्डीको कारोबार बढी हुनेगरेको प्रहरीको भनाई छ ।
प्रहरीले पक्राउ गरेका हुण्डी कारोबारीलाई राजश्व अनुसन्धान विभाग ललितपुर पठाउने गरेको छ । ‘प्रहरीले पठाएका हुण्डी कारोबारीलाई विभागले सामान्य धरौटीमा छोड्ने गरेको छ जस्ले गर्दा कारोवारीहरु बढ्दै गएका छन्’, एक प्रहरी अधिकारीले भने ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले भने हुण्डी कारोवारीप्रति प्रहरीको निगरानी बढिरहेको बताए । ‘हुण्डी कारोवारीप्रति प्रहरीको निगरानी बढेको छ जसले गर्दा राजश्वमा प्रहरीको योगदान बढेको छ’, एसएसपी कुँवरले भने ।
उनका अनुसार गएको पाँच महिनामा ७ करोड भन्दा बढी रकम बरामद भएको छ । ‘गएको पाँच महिनामा ७ करोड रुपैया भन्दा बढी बरामद भएको छ प्रहरीको सक्रियता बढेकै कारण यो संभव भएको हो’, एसएसपी कुँवरले भने ।
प्रहरीका अनुसार यसरी अवैध ढंगले आएको रकम सुन तस्करी, शेयर बजार, क्यासिनो जस्ता कारोबारमा लगानी हुने गरेको र कालो धनलाई सेतो धनमा परिणत गर्न प्रयोग गरिन्छ । वैध तरिकाले भन्दा हुण्डीबाट पैसा पठाउँदा छिटो हुने भएकाले उनीहरु हुण्डीमा लागेको प्रहरीको दावी छ ।
विभिन्न व्यवसायीको आवरणमा गिरोहले अन्तर्राष्ट्रिय रुपमा पैसाको ओसारपसार गर्ने तथा आपराधिक क्रियाकलापको लागि समेत हुण्डीको कारोवार हुने गरेको प्रहरीको भनाई छ ।
हुण्डीको अखडा
भारतीय नागरिकहरुले नेपालबाट भारततर्फ रकम पठाउने अखडा काठमाडौको कुलेश्वर हो । नेपालमा विभिन्न काममा संलग्न रहेका भारतीय मजदुरहरुले वैधानिक तहबाट रकम भारत पठाउदैनन् ।
एक हप्ता काम गरेर कमाइभएको रक सोही हप्ता अवैध च्यानल प्रयोगबाट भारत पठाउने गरेका छन् । ‘भारतीय नागरिकले नेपालबाट पठाउने रकमतर्फ प्रहरीको ध्यान गएको छैन’, एक प्रहरीले भने । उनका अनुसार काठमाडौको कुलेश्वरबाट भारतका विभिन्न राज्यहरुमा अवैध रकम पठाइन्छ ।
नेपालमा सबैभन्दा बढी रकम भारततर्फ बाहिरिने र बाहिरबाट पनि संकलन भएर नेपाल आउने गरेको छ । ‘भारतीय नागरिकहरुले नेपालबाट भारततर्फ रकम पठाउछन् भने सुन तस्करीमा लागि नेपालतर्फ डलर आउने गरेको छ’, प्रहरी स्रोतले भन्यो ।
प्रहरीका अनुसार काठमाडौको कुलेश्वरको अतिरिक्त, ठमेल, बौद्ध, नयाँ वसपार्क, भोटेबहाल, न्यरोड, सुन्धरा, हुण्डीको कारोबार हुने स्थल हो । साथै काठमाडौबाहिर, विराटनगर, काकडभिट्टा, विरगन्ज, कपिलवस्तु, धनगढी, नेपालगन्ज, भैरहवा हुण्डीको कारोवार हुने स्थलका रुपमा परिचित छन् ।
प्रहरीका अनुसार ती क्षेत्रमा निगरानी बढेपनि कारोवारीहरुले प्रहरीलाई छलेर कारोवार गरिरहेका हुन्छन् । हुण्डी कारोवारीबीच कुराकानी नमिल्दा मात्रै प्रहरीलाई सुराकी आउने गरेकाले कारोवारीलाई पक्राउ गर्ने गरेको छ ।







डिसी नेपाल








Facebook Comment