श्रीमतीको दुर्घटनामा मृत्यु भएको झुटो दावी गरेर जीवन बिमावापत ५७ करोड रुपैयाँ ठगी
काठमाडौं। एक व्यक्तिले आफ्नी श्रीमतीको दुर्घटनामा मृत्यु भएको दावी गरेर बिमा कम्पनीसँग श्रीमतीको जीवन बिमावापत ५७ करोड रुपैयाँ ठगी गरेको पाइएको छ । ती व्यक्तिले यो रकम पनि पाइसकेका थिए तर घटनाको ५ वर्षपछि उनको कर्तुतको खुलासा भएको छ । उनले श्रीमतीले झुक्किएर आफैंमाथि गोली चलाएको बताएका थिए । उनको यो झुटो कहानीलाई बिमा कम्पनीदेखि पुलिसले समेत पत्याएका थिए ।
यी आरोपी व्यक्ति अमेरिकाको पेन्सलभेनियाका हुन् । पुलिसको जाँचमा घटनाको ५ वर्षपछि यी आरोपी व्यक्तिले नै आफ्नी श्रीमतीको हत्या गरेको खुलासा भएको छ । डेलीमेलका अनुसार आरोपी ६७ वर्षका लरेन्स रुडोल्फमाथि २०१६ मा आफ्नी पत्नी बियांकाको हत्या गरेको आरोप लगाइएको छ । लरेन्सले त्यतिबेला पत्नीले झुक्किएर गोली चलाउँदा आफैंलाई लागेको बताएका थिए । उनको दावीअनुसार त्यतिबेला उनीहरु ‘अफ्रिकन सफारी’को लागि जाम्बिया गएका थिए । त्यहाँबाट उनीहरु फर्किने दिन उनकी पत्नीले झुक्किएर गोली चलाउँदा उनको मृत्यु भएको थियो ।

जाम्बियाको पुलिसले पनि गोली चलेको घटनालाई दुर्घटना मालेको थियो र लरेन्सको कहानीमा विश्वास गरेको थियो । यी दुईको १९८२ मा बिहे भएको थियो । बिहेपछि नै उनीहरु लगातार सफारीमा गइरहन्थे । बियांकाको मृत्यु भएपछि जाम्बिया पुलिसले त लरेन्सको कहानी पत्यायो तर २०१६ मै बियांकाका एक साथीले अमेरिकाको संघीय जाँच ब्युरो एफबीआइलाई आफूलाई यो मृत्युमा सन्देह भएको बताएका थिए । त्यसपछि एफबीआइले यो घटनाको अनुसन्धान थालेको थियो ।
एफबीआइको अनुसन्धानमा बियांकाको मृत्युपछि लरेन्सले ७ अलग अलग बिमा कम्पनीबाट बियांकाको जीवन बिमावापत करिब ४.८ मिलियन डलर जुटाएको खुलासा भयो । यही बीच हालै उनको कर्तुतको पर्दाफाश भयो जहाँ उनले बिमाको पैसाकै लागि पत्नीको हत्या गरेको खुलासा भयो । एफबीआइका अनुसार पत्नीको अन्तिम संस्कारपछि लरेन्सले प्लेन टिकट बुक गरेका थिए तर पछि रद्द गरे । अनि उनले एक महिलाको नाममा अर्को टिकट बुक गरे र ती महिलासँग लस भेगासमा भेटे । यी महिलासँग उनले पत्नीको मृत्युभन्दा पहिले मेक्सिकोमा भेटेको पनि खुलासा भयो ।
एफबीआइले अनुसन्धानको क्रममा जाम्बियामा रहेका टुर गाइडसँग पनि भेटेको थियो । गाइडले लरेन्सले अधिकारीहरुलाई पैसा दिएर पत्नीको अन्तिम संस्कार गरेको खुलासा गरे । अर्कोतर्फ कोलोराडोमा रहेका एक मेडिकल विशेषज्ञले बियांकाको फोटो देखेपछि उनले आफूमाथि गोली चलाउनु कठिन भएको बताए । यो सबै खुलासापछि आरोपीलाई कोलोराडोको डेनेभरबाट पक्राउ गरिएको छ । उनले आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् । अब यस विषयमा अदालतमा सुनुवाइ हुनेछ ।







डिसी नेपाल








Facebook Comment