श्रीलंका टाट पल्टिने संघारमा पुग्नुको कारण के हो ? नेपालको अवस्था कस्तो छ ?

डिसी नेपाल
२ माघ २०७८ १३:२५
4.2k
Shares

काठमाडौं। हाम्रो छिमेकी देश श्रीलंका खतरनाक आर्थिक संकटसँग जुधिरहेको छ । श्रीलंकामाथि ऋण यति धेरै भएको छ कि देश नै टाट पल्टिने संघारमा पुगेको छ । आर्थिक संकटका कारण त्यहाँ महंगीले आकाश छोएको छ । श्रीलंकाको यो अवस्था हुनुको पछाडिको प्रमुख कारण भनेको विदेशी मुद्रा सञ्चिती हो । श्रीलंकासँग अहिले अत्यन्तै आवश्यक पर्ने सामानहरु आयात गर्नको लागि पनि विदेशी मुद्रा सञ्चित छैन ।

गत वर्ष मार्चमा श्रीलंकाले विदेशी मुद्रा भण्डार बढाउनको लागि आयातमा प्रतिबन्ध लगाएको थियो । यसबाट देशमा चिनी र इन्धन जस्ता अत्यावश्यक सामानको कमी आएको थियो । यद्यपि यसले त्यति धेरै फरब भने पारेन । मिडिया रिपोर्टका अनुसार जुलाइ २०१९ मा श्रीलंकासँग विदेशी मुद्रा सञ्चिती ७.५ अर्ब डलर थियो । यो सञ्चिती नोभेम्बर २०२१ सम्ममा घटेर १.६ अर्ब डलर मात्रै बाँकी छ ।

श्रीलंकाले आफ्नो विदेशी मुद्रा भण्डार बढाउनका लागि बाहिरी सहयोग मागिरहेको छ । श्रीलंकाले चीनसँग सहयोग मागेको थियो तर अहिलेसम्म चीनको तर्फबाट उसले सहयोग पाइसकेको छैन । श्रीलंकाले भारतसँग पनि सहयोग मागेको थियो । भारतले श्रीलंकालाई ९०० मिलियन डलर ऋण दिने भएको छ ।

श्रीलंकाका अर्थमन्त्री बासिल राजापाक्षेले आफ्नो देश भारी ऋणसँग जुधिरहेको स्वीकार गरेका छन् । उनले स्थानीय मिडियासँग कुरा गर्दै श्रीलंकामाथि चीन, भारत र जापानको ऋण भएको बताए । उनका अनुसार श्रीलंकाले यस वर्ष ७ अर्ब डलर ऋण तिर्नुपर्ने छ । यसमध्ये ५०० मिलियन डलरको ऋण जनवरी १८ सम्म तिर्नुपर्ने छ । श्रीलंकाले आगामी ५ वर्षमा २६ अर्ब डलर ऋण तिर्नुपर्ने छ । बासिल राजापाक्षे प्रधानमन्त्री महिन्दा राजापाक्षे र राष्ट्रपति गोटाबाटा राजापाक्षेका आफ्नै भाइ हुन् ।

द गार्डियनका अनुसार श्रीलंकामाथि चीनको मात्रै ६ अर्ब डलर ऋण छ । श्रीलंकाले चीनसँग पहिले ५ अर्ब डलर ऋण लिएको थियो । पछि आर्थिक संकट सुल्झाउनको लागि उसले फेरि १ अर्ब डलर ऋण लिएको थियो । श्रीलंकाको अर्थव्यवस्था धेरै हदसम्म पर्यटनमा निर्भर छ । कोरोनाभाइरसका कारण पर्यटन धेरै प्रभावित भएको छ । रिपोर्टका अनुसार श्रीलंकाको कूल गार्हस्थ उत्पादनमा पर्यटन र यससँग जोडिएका क्षेत्रको योगदान १० प्रतिशत छ । कोरोनाका कारण पर्यटक नआएपछि श्रीलंकाको विदेशी मुद्रा सञ्चिती कम भएको छ । वर्ल्ड ट्राभल एण्ड टुरिजम काउन्सिलको रिपोर्टअनुसार महामारीका कारण श्रीलंकामा २ लाखभन्दा धेरै बेरोजगार भएका छन् ।

अन्तर्राष्ट्रिय व्यापारका लागि विदेशी मुद्रा आवश्यक हुन्छ । विश्वभरी अमेरिकी डलर चल्छ त्यसैले विदेशी मुद्रा सञ्चितीमा अमेरिकी डलर सबैभन्दा धेरै हुन्छ । विश्वको ८५ प्रतिशत व्यापार अमेरिकी डलरमा हुन्छ । ऋण पनि डलरमै दिइन्छ । यदि विदेशी मुद्रा सञ्चिती भएन भने व्यापार गर्न कठिनाइ हुन्छ । अन्य देशबाट सामान किन्न समस्या हुन्छ । कुनै पनि देशले लामो समयसम्म डलर बिना अन्य मुद्रामा सामान दिन सक्दैन ।

नेपाल राष्ट्र बैंकका अनुसार नेपालसँग अहिले १२ खर्ब १४ अर्ब ३ करोड रुपैयाँ (लगभग १० अर्ब डलर) विदेशी मुद्रा सञ्चिती छ । यो मुद्रा सञ्चिती पनि गएको असार मसान्तको तुलनामा घटेको हो । गएको असार मसान्तमा नेपालसँग कूल १३ खर्ब ९९ अर्ब ३ करोड (११ अर्ब ८० करोड डलर) बराबरको विदेशी मुद्रा सञ्चिती थियो । नेपालसँग अहिले भएको विदेशी मुद्रा सञ्चितीले आगामी ७.५ महिनासम्म वस्तु आयात र ६.८ महिनासम्म वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.