अघिल्लो सिजनका च्याम्पियन नोभाक जोकोभिच अस्ट्रेलियन ओपन खेल्न नपाउने
काठमाडौं। २०२२ को पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपन सोमबारदेखि सुरु हुँदैछ । तर, यो प्रतियोगितामा बहालवाला च्याम्पियन नोभाक जोकोभिच भने खेल्न नपाउने भएका छन् । अहिलेका च्याम्पियन तथा विश्व बरियतामा नम्बर १ टेनिस खेलाडी जोकोभिचको नाम पहिलो चरणमा जारी तालिकामा समावेश गरिएको थियो । तर, अब उनले अदालतमा आफ्नो केस हारेसँगै उनी प्रतियोगितामा खेल्न नपाउने भएका हुन् ।
तालिकाका अनुसार जोकोभिचले सोमबार आफ्नै देशका बरियतामा नपरेका खेलाडी मिओमिर केक्मानोभिकसँग खेल्नुपर्ने थियो । तर, अदालतको फैसला आफ्नो विपक्षमा आएसँगै अब जोकोभिचले आफ्नो उपाधि रक्षा गर्न पाउने छैनन् । संघीय अदालतका तीन न्यायाधीशले जनहितका आधारमा ३४ वर्षका सर्बियाली खेलाडीको भिसा रद्द गर्ने आप्रवासन मन्त्रीको निर्णयलाई सदर गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।
#UPDATE Djokovic loses bid to avoid deportation from Australia, with Federal Court unanimously rejecting his appeal
“The orders of the court are that the amended application be dismissed with costs,” Chief Justice James Allsop says pic.twitter.com/N9wOBIhNcM
— AFP News Agency (@AFP) January 16, 2022
अस्ट्रेलिया सरकारले जोकोभिचले कोभिड–१९ विरुद्ध खोप नलगाएको र यसले सार्वजनिक स्वास्थ्यको लागि खतरा उत्पन्न भएको बताएको थियो । अदालतले सरकारको निर्णय सदर गरेसँगै अब जोकोभिचलाई डिपोर्ट गर्न बाटो खुलेको छ । डिपोर्ट नगरिँदासम्म उनी मेलबर्नमा नजरबन्दमा रहनेछन् । सामान्यतया अस्ट्रेलियाबाट डिपोर्ट गरिँदा आदेशमा अस्ट्रेलिया फर्कन ३ वर्षको प्रतिबन्ध पनि लगाइन्छ । यदि जोकोभिचलाई पनि यस्तै शर्तका साथ डिपोर्ट गरियो भने उनले अस्ट्रेलियन ओपनका आगामी ३ वर्षसम्म हुने संस्करण पनि खेल्न पाउने छैनन् ।
आप्रवासन मन्त्री एलेक्स हकेले अस्ट्रेलियामा जोकोभिचको उपस्थिति अस्ट्रेलियाका जनताको स्वास्थ्यको लागि जोखिम हुन सक्ने र अस्ट्रेलियामा अन्य मानिसहरुलाई खोप लगाउने अभियानको लागि प्रतिकूल हुन सक्ने आधारमा उनको भिसा रद्द गरेका थिए । शुक्रबार जोकोभिचको भिसा दोस्रो पटक रद्द गरेर उनलाई हिरासतमा लिइएको थियो । त्यसपछि जोकोभिचले आफ्नो फैसला रद्द गर्ने निर्णयलाई चुनौती दिँदै अदालत गएका थिए ।







डिसी नेपाल







Facebook Comment