अरबौंको कम्पनी खडा गर्ने दृष्टिविहीन सीइओ

डिसी नेपाल
१३ माघ २०७८ १२:०५
480
Shares

काठमाडौं। श्रीकांत बोल्लाको जीवनमा आधारित रहेर छिटै बलिउड फिल्म बन्दैछ । यी नौजवान सीइओले ४८ मिलियन पाउण्ड अर्थात करिब पौने ८ अर्ब रुपैयाँको एक कम्पनी खडा गरे । तर, यो त्यति सजिलो थिएन । एक किशोरको रुपमा श्रीकांतलाई भनिएको थियो कि दृष्टिविहीन भएका कारण उनी स्कुलमा गणित र विज्ञान पढ्न पाउँदैनन् । त्यसपछि श्रीकांतले यो मामिला अदालतसम्म लिएर गए र फैसला उनको हकमा आयो । बीबीसीकी पत्रकार अरुन्धती नाथले एक रिपोर्टमा श्रीकान्तको जीवनका धेरै पक्ष उजागर गरेकी छिन् ।

ग्रामीण भारतमा बस्ने श्रीकांत जतिबेला ६ वर्षका थिए त्यतिबेला लगातार २ वर्षसम्म हरेक दिन कैयौं किलोमिटर पैदल हिँडेर स्कुल पुग्थे । आफ्ना सहपाठी र दाजुको सहयोगमा उनी हरेक दिन यो यात्रा गर्थे । स्कुलको बाटो हिलो थियो र दुवैतिरबाट झाडीले घेरिएको थियो । मनसुनको समयमा त यहाँ बाढी आउँथ्यो र हालत झनै खराब हुन्थ्यो । श्रीकांत भन्छन् ‘मसँग कसैले कुरा गर्दैनथे किनकि मैले देख्न सक्दिनथें ।’

गरिब अशिक्षित परिवारमा जन्मिएका श्रीकांतलाई उनको समुदायले पनि शहिष्कार गरेको थियो । उनी भन्छन् ‘मेरा मातापितालाई भनिएको थियो कि म आफ्नो घरको रेखदेख गर्न पनि असक्षम छु किनकि यदि एउटा कुकुर पनि मेरो घरमा पस्यो भने मैले देख्न सक्दिन ।’३१ वर्षीय श्रीकांत आफ्ना खराब अनुभवहरुलाई स्मरण गर्दै भन्छन् ‘धेरै मानिसहरु मेरा मातापितासँग आउँथे र उहाँहरुलाई सिरानीले दबाएर मेरो हत्या गर्नेसम्म सुझाव दिन्थे ।’

मानिसहरुको कुरालाई बेवास्ता गर्दै श्रीकांतका मातापिताले सधैं आफ्नो बच्चाको साथ दिए । जब उनी ८ वर्षका भए त्यसपछि श्रीकांतका मातापिताले उनको लागि राम्रो खबर भएको बताए । श्रीकांतले दृष्टिविहीनको बोर्डिङमा भर्ना हुन पाएका थिए र यसको लागि उनी घरबाट ४ सय किलोमिटर टाढा हैदराबाद जानुपर्ने भयो । त्यतिबेला यो शहर आन्ध्र प्रदेशमा थियो ।

मातापितासँग टाढा रहनुका बावजुद श्रीकांत छिटै नयाँ व्यवस्थामा ढले । उनले यहाँ पौडी खेल्न सिके, चेस खेले र क्रिकेटमा पनि प्रयास गरे । यो क्रिकेट यस्तो बलले खेलिन्थ्यो जसमा बलको अलग किसिमको आवाज हुन्थ्यो ताकि दृष्टिविहीनले पनि बलको दिशा थाहा पाउन सकुन् । उनी भन्छन् ‘सबै काम हात र कानको थियो ।’ श्रीकांत यहाँ आफ्ना सोख पूरा गरिरहेका थिए, साथमा आफ्नो भविष्यबारे पनि सतर्क थिए । उनको सधैं सपना रह्यो कि उनी इन्जिनियर बनुन् र उनलाई थाहा थियो कि यसको लागि विज्ञान र गणित पढ्नु जरुरी छ ।’

जब समय आयो त्यसपछि श्रीकांतले यिनै कठिन विषय रोजे तर स्कुलले यसलाई अवैध भनेर अस्वीकार गरिदियो । श्रीकांतको स्कुल आन्ध्र प्रदेश शिक्षा बोर्ड अन्तर्गत थियो र त्यहाँ एक दृष्टिविहीनलाई गणित र विज्ञान पढ्ने अनुमति थिएन । यो नियम यसकारण थियो किनकि ग्राफ र डायग्राम जस्ता कुराहरु दृष्टिविहीनका लागि चुनौतीपूर्ण ठानिन्थ्यो यसको सट्टा यस्ता विद्यार्थी कला, भाषा, साहित्य र समाजशास्त्र पढ्न पाउँथे ।

श्रीकांत यो नियमबाट दिक्क भइसकेका थिए । श्रीकांतका एक शिक्षक पनि यो नियमसँग असन्तुष्ट थिए र उनले आफ्ना विद्यार्थीलाई यसविरुद्ध कुनै कदम उठाउन प्रोत्साहित गरे । दुवै आफ्नो मागको वकालत गर्नको लागि आन्ध्र प्रदेश माध्यमिक शिक्षा बोर्डमा गए तर उनीहरुलाई यसमा केही गर्न सकिँदैन भनियो । नडराइ अगाडि बढिरहेका शिक्षक र विद्यार्थीको यो जोडीले एक वकिल पाए । यसपछि स्कुल प्रबन्धन टिमको समर्थनमा दुवैले आन्ध्र प्रदेशको हाइकोर्टमा मुद्दा दर्ता गरे । यसमा दृष्टिविहीन विद्यार्थीलाई विज्ञान र गणित पढ्न दिनको लागि शिक्षा कानुनमा परिवर्तनको अपिल गरिएको थियो ।

श्रीकांत भन्छन् ‘हाम्रो तर्फबाट अदालतमा वकिलले लडाइँ लडे । विद्यार्थी अदालतमा स्वयं पेश हुनु जरुरी थिएन ।’ केस अगाडि बढिरहेका बेला श्रीकांतले एउटा खबर सुने । हैदराबादमा एक मूलधारको स्कुल चिन्मय विद्यालयले दृष्टिविहीन विद्यार्थीहरुलाई गणित र विज्ञान पढाउने प्रस्ताव दिएको थियो । यो स्कुल श्रीकांतको लागि एक मौकाभन्दा कम थिएन । श्रीकांत खुसी खुसी स्कुलमा भर्ना भए ।

आफ्नो कक्षामा श्रीकांत एक्ला दृष्टिविहीन विद्यार्थी थिए तर श्रीकांत भन्छन् ‘उनीहरुले भित्री मनबाट मलाई स्कुलमा स्वागत गरे । मेरी क्लास टिचर निकै स्नेही थिइन् । उनले मेरो सहयोगको लागि हरसम्भव प्रयास गरिन् । उनले स्पर्श रेखाचित्र (टेक्सटाइल डायग्राम) बनाउन पनि सिकिन् ।’ टेक्सटाइल डायग्राम रबरको म्याटमा पातलो फिल्म प्रयोग गरेर बनाइन्छ । जब यसमा पेन्सिलले चित्र बनाइन्छ एउटा उकासिएको रेखाजस्तो बन्छ जसलाई हातलवे छोएर महसुस गर्न सकिन्छ ।

यसको ६ महिनापछि अदालतबाट खबर आयो – श्रीकांतले आफ्नो केस जितिसकेका छन् । अदालतले फैसला सुनाएको थियो कि दृष्टिविहीन विद्यार्थीले आन्ध्र प्रदेश बोर्डका सबै स्कुलमा विज्ञान र गणित पढ्न सक्छन् । श्रीकांतले भने ‘म धेरै खुसी थिएँ । मैले दुनियाँको अगाडि यो साबित गर्ने मौका पाएको थिएँ कि मैले यो गर्न सक्छु र आउने पिढीले अब मुद्दा दायर गर्ने र अदालतमा लड्ने कुराको चिन्ता गर्नु जरुरी छैन ।’

अदालतको फैसलाको केही समयपछि श्रीकांत राज्य सरकारको स्कुलमा फर्किए र उनले आफ्नो प्रिय गणित र विज्ञान विषय पढे । श्रीकांतले परीक्षामा ९८ प्रतिशत अंक ल्याए । श्रीकांतको योजना भारतको प्रतिष्ठित इन्जिनियरिङ कलेज अर्थात इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) मा आवेदन गर्ने थियो । आइआइटीको लागि कडा प्रतियोगिता थियो र विद्यार्थी प्रायः प्रवेश परीक्षा पास गर्नको लागि लामो समयसम्म कोचिङ पढ्छन् । तर, कुनै कोचिङ स्कुलले श्रीकांतलाई भर्ना लिँदैनथ्यो ।

श्रीकांतका अनुसार शीर्ष कोचिङ संस्थानहरुले उनलाई कोर्सको भार उनले धान्न नसक्ने बताउँथे । यी संस्थानहरुलाई लाग्थ्यो कि श्रीकांत शैक्षणिक स्करको हिसाबले फिट छैनन् । श्रीकांत भन्छन् ‘तर मलाई कुनै पछुतो छैन । यदि आइआइटीले मलाई भर्ना दिन चाहँदैन भने मलाई पनि आइआइटी चाहिँदैन ।’ यसको सट्टा श्रीकांतले अमेरिकी विश्वविद्यालयमा आवेदन दिए र उनले पाँच प्रस्ताव पनि पाए । श्रीकांतले मासाचुसेट्सको क्याम्ब्रिजको एमआइटीलाई रोजे जहाँ उनी पहिलो दृष्टिविहीन अन्तर्राष्ट्रिय विद्यार्थी थिए । श्रीकांत २००९ मा त्यहाँ पुगेका थिए र आफ्नो सुरुवाती अनुभवलाई उनले ‘मिश्रित’ भनेका छन् ।

श्रीकांत भन्छन् ‘यहाँको भीषण चिसो मेरो लागि पहिलो झट्का थियो किनकि मलाई यति चिसो मौसममा बस्ने बानी थिएन । यसका अलावा खानाको स्वाद र सुगन्ध पनि केही फरक थियो । मैले सुरुवाती एक महिनासम्म केवल फ्रेन्च फ्राइ र फ्राइ चिकन फिंगर खाएर गुजारा गरें ।’ तर, श्रीकांत छिटै यहाँको रहनसहनमा ढल्न लागेका थिए । श्रीकांत भन्छन् ‘एमआइटीमा बिताएको समय मेरो जीवनका सबैभन्दा प्रिय पलहरुमध्येको हो । पढाइको स्तरमा यो निकै कठिन थियो तर युनिभर्सिटीले मलाई त्यहाँ बस्न र मेरो दक्षता निखार्न सहयोग गर्यो ।’

पढ्दै गर्दा श्रीकांतले हैदराबादमा युवा अपांगहरुलाई प्रशिक्षित र शिक्षित गर्नको लागि एक गैर लाभकारी संगठन सुरु गरे जसको नाम समन्वय सेन्टर फर चिल्ड्रेन विद मल्टिपल डिसेबलिटी थियो । उनले आफूले जुटाएको पैसाले हैदराबादमा एक ब्रेल लाइब्रेरी पनि खोले । श्रीकांतको जीवन राम्रो चलिरहेको थियो । एमआइटीबाट म्यानेजमेन्ट साइन्स पढेपछि उनलाई कैयौं जागिरका प्रस्ताव आए तर उनले अमेरिकामा नबस्ने निर्णय गरे ।

श्रीकांतको स्कुलको अनुभवका निशान उनको मनबाट मेटिएका थिएनन् । उनलाई सधैं लागिरह्यो कि आफ्नो देशमा उनका काम अधुरै छन् । श्रीकांत भन्छन् ‘मलाई जीवनमा हरेक कुराको लागि यति संघर्ष गर्नु पर्यो । यो स्थिति त्यतिबेला थियो जब मजस्तै हर कोही लड्न सक्दैन वा भनौं मेराजस्ता कुरु सबैसँग हुन सक्दैनन् ।’ उनलाई महसुस भयो कि निष्पक्ष शिक्षा व्यवस्थाको लागि लड्नुको त्यतिबेलासम्म कुनै औचित्य छैन जबसम्म आपांगहरुका लागि पढाइपछि रोजगारीका पनि सामान्य विकल्प हुँदैनन् ।

त्यसैले श्रीकांतले सोचे ‘मैले आफ्नै कम्पनी किन सुरु नगरुँ जहाँ शारीरिक रुपले असक्षमलाई रोजगारी दिन कुँ ।’ श्रीकांत २०१२ मा हैदराबाद फर्किए र उनले बोलेन्ट इण्डष्ट्रिज को सुरुवात गरे । यो यस्तो प्याकेजिङ कम्पनी हो जो वातावरणमैत्री उत्पादनहरु बनाउँछ । अहिले यो करिब पौने ८ अर्ब रुपैयाँको कम्पनी हो । यो कम्पनीमा धेरै विकलांग व्यक्तिहरुका साथै मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाई रोजगारी दिइन्छ । कोरोना महामारीभन्दा पहिले कम्पनीका ५०० कर्मचारीमध्ये ३६ प्रतिशत यस्तै थिए ।

गत वर्ष ३० वर्षको उमेरमा श्रीकांतलाई वर्ल्ड इकोनोमिक फोरमको यंग ग्लोबल लिडर्स २०२१ को सूचीमा समावेश गरिएको थियो । श्रीकांतलाई आशा थियो कि तीन वर्षभित्र उनको कम्पनी बोलेंट इण्डष्ट्रिज ग्लोबल आइपीओ बन्नेछ जहाँ यसको शेयर एकसाथ कैयौं अन्तर्राष्ट्रिय स्कट एक्सचेन्जमा सूचीबद्ध हुनेछ ।

श्रीकांतको जीवनमा बलिउड फिल्म पनि बन्दैछ । चर्चित अभिनेता राजकुमार रावले यो फिल्ममा श्रीकांतको भूमिका निभाउनेछन् र यसको सुटिङ जुलाइमा सुरु हुनेछ । श्रीकांतलाई आशा छ कि अब जब उनी पहिलो पटक कसैलाई भेट्नेछन् त्यतिबेला मानिसहरु उनलाई पहिलेजस्तै कम सोच्न बन्द गर्नेछन् । श्रीकांत भन्छन् ‘जब म कसैसँग भेट्छु मानिसहरु सोच्छन् अरे यो अन्धो छ कति दुखद छ तर जब म उनीहरुलाई यो बताउँछु कि म को हुँ र के गर्छु, सबै कुरा बदलिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.