मन्त्रिपरिषद् बैठकः चितवनमा शिक्षक अस्पताल बनाउने निर्णय

डिसी नेपाल
१७ माघ २०७८ १९:३५
80
Shares

काठमाडौं । सरकारले शिक्षक अस्पताल बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो ।

शिक्षा मन्त्रालयले गठन गरेको जग्गा खोजी र सम्भाव्यता अध्ययन समितिले चितवन, भक्तपुर र मकवानपुरमा शिक्षक अस्पताल स्थापना गर्न सक्ने सिफारिस गरेको थियो । २१ बिगाह जग्गामा शिक्षक अस्पताल निर्माण गर्ने योजना अघि सारिएको छ ।

मेडिकल सिटीका रूपमा परिचित चितवनको भरतपुरमा थप एउटा केन्द्रीय स्तरको अस्पताल बन्ने पक्का भएको हो ।अस्पताल बनाउने प्रस्ताव पारित भएसँगै मेडिकल सिटी भरतपुरमा नयाँ आयाम थपिएको भरतपुर महानगरपालिकी प्रमुख रेनु दाहालले बताइन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माण गर्न लागेको शिक्षक अस्पताल भरतपुरमा बनाउन भरतपुर महानगरपालिकाले प्रस्ताव गरेको थियो । सोही अनुसार शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षक अस्पताल भरतपुरमा बनाउने प्रस्ताव मन्त्रिपरिषद्‍मा लगेका थिए ।

शिक्षक अस्पताल बनाउन भरतपुर महानगरपालिकाले भरतपुर–१५ भगवानपुरमा आठ बिघा १६ कठ्ठा जग्गा दिने भएको छ । भरतपुर देशकै मध्यभागमा पर्ने भएकाले देशभरका शिक्षकहरूलाई उपचारका लागि भरतपुर उपयुक्त स्थान हुने अपेक्षा गरिएको छ । मन्त्रालयले सुरुमा तीन सय शय्याको अस्पताल बनाएर विस्तार गर्दै लैजाने योजना बनाएको छ ।

भरतपुर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्रसमेत हो । शिक्षक अस्पताल भरतपुरमा बनाउनका लागि प्रचण्ड पनि सकारात्मक थिए ।

शिक्षक अस्पताल निर्माण गर्नका लागि शिक्षा मन्त्रालयले डा विमल चालिसेको संयोजकत्वमा पूर्वसम्भाव्यता अध्ययन तथा जग्गा पहिचान समिति बनाएको थियो । समितिले नवलपरासी, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुरलगायतका स्थानमा जग्गा हेरेको थियो ।

चितवनमा दुई ठूला सरकारी अस्पताल, दुई मेडिकल कलेज र थुप्रै प्रदेश स्तरका निजी अस्पताल छन् । भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको लागि पनि भरतपुर महानगरले पहल कदमी लिएको थियो । रंगशाला निर्माणका लागि महानगरले २० बिघा जग्गा धुर्मुस सुन्तली फाउण्डेशनलाई उपलब्ध गराए पनि निर्माण सम्पन्न हुन सकेन ।

मन्त्रिपरिषद् बैठकले खुला विश्वविद्यायको उपकुलपतिमा प्राध्यापक डा. शिलु मानन्धर बज्राचार्यलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.