आइपिएलको लिलामीमा नेपालबाट सन्दिप लामिछाने मात्रै, बेस मूल्य ४० लाख राखे
काठमाडौं। आइपिएल २०२२ को मेगा अक्सनमा नेपाली खेलाडी सन्दिप लामिछाने मात्रै जान पाउने भएका छन् । नेपालको क्रिकेट बोर्ड नेपाल क्रिकेट संघ (क्यान) ले लिलामीको लागि १५ जना खेलाडीको नाम पठाएको थियो । तर, लिलामीमा जाने खेलाडीहरुको अन्तिम सूची प्रकाशित गर्दा नेपालका सन्दिप लामिछाने मात्रै परेका हुन् । बीसीसीआइले यस वर्षको लिलामीमा जाने खेलाडीहरुको सूची आज सार्वजनिक गरेको हो ।
१२ र १३ फेब्रुअरीमा बैंगलोरमा हुने मेगा अक्सनमा कूल ५९० खेलाडी लिलामीमा जानेछन् । लिलामीको लागि कूल १२ सय १४ खेलाडीले नाम दर्ता गराएका थिए । यीमध्ये ५९० जना मात्र लिलामीमा जाने भएका हुन् । लिलामीमा जाने खेलाडीहरुमध्ये ३५५ अनक्याप्ड र २२८ क्याप्ट खेलाडी छन् । यसबाहेक ७ एसोसिएट देशका खेलाडी छन् । २ दिनसम्म चल्ने लिलामीका १० टिमले भाग लिनेछन् ।
आइपिएलको लिलामीमा जाने खेलाडीहरुमध्ये अफगानिस्तानका १७, अस्ट्रेलियाका ४७, बंगलादेशका ५, इङल्याण्डका २४, आयरल्याण्डका ५, न्यूजिल्याण्डका २४, दक्षिण अफ्रिकाका ३३, श्रीलंकाका २३, वेष्ट इण्डिजका ३४, जिम्बाब्बेका १, नामिबियाका ३, नेपालका १, स्कटल्याण्डका २ र अमेरिकाका १ जना खेलाडी जाँदैछन् ।
यसअघिको लिलामीमा बेस मूल्य २० लाख भारतीय रुपैयाँ राखेका नेपाली खेलाडी सन्दिप लामिछानेले यस पटक भने मूल्य बढाएका छन् । यस पटक उनको बेस मूल्य ४० लाख छ । यद्यपि यो अक्सनमा पनि कुनै खेलाडीले राख्न पाउने न्यूनतम बेस मूल्य भने २० लाख नै छ र २० लाख मूल्यमा धेरै खेलाडीले नाम दर्ता गराएका छन् ।







डिसी नेपाल







Facebook Comment