सम्झनामा स्वर कोकिला : आधा शताब्दीभन्दा लामो सांगीतिक इतिहासलाई फर्केर हेर्दा
लता मंगेशकर कोभिड–१९ संक्रमित भएपछि उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बालुवामा कलाकृति बनाउने कलाकार सुदर्शन पटनायकले ओडिशाको पुरी समुद्र किनारमा बनाएको बालुवा कलाकृति । तस्वीरः पीटीआइ
काठमाडौं। स्वर कोकिला उपनामबाट प्रसिद्ध रहेकी बरिष्ठ गायिका लता मंगेशकरको आइतबार ९२ वर्षको उमेरमा निधन भएको छ । उनलाई गएको जनवरी महिनाको सुरुवातमा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनको उमेरलाई मध्यनजर गर्दै सुरुदेखि नै मुम्बइको ब्रिच क्याण्डी अस्पतालमा आइसीयूमा राखेर उपचार भइरहेको थियो । आइतबार बिहान ८ बजेर १२ मिनेटमा उनले अन्तिम श्वास लिइन् ।
कण्ठमा सरस्वतीको बास भएकी भनिने स्वरकोकिलाको निधन सरस्वती पूजाकै दिन भएको छ । भारतका केन्द्रीय मन्त्री नितीन गडकरीले लताको निधनको पुष्टि गर्दै ट्वीटरमा लेखेका छन् ‘देशकी शान र संगीत जगतकी शिरमोर (सिरमौर) स्वर कोकिला भारत रत्न लता मंगेशकरजीको निधन धेरै नै दुखद छ । पुण्यात्मालाई मेरो भावभीनी श्रद्धाञ्जली । उहाँको प्रस्थान देशको लागि अपूरणीय क्षति हो । उहाँ सबै संगीत साधकको लागि सदैव प्रेरणा हुनुहुन्थ्यो ।’
लता मंगेशकर एक महान पाश्र्व गायिका थिइन् जसले भारतमा फिल्मी संगीतलाई एक नयाँ परिभाषा दिएकी थिइन् । बलिउडको उदयको साथै यहाँका फिल्महरुमा पाश्र्वगायक अर्थात प्लेब्याक सिंगरहरुको अहम भूमिका रहिआएको छ जसले फिल्मी पर्दामा अभिनेता र अभिनेत्रीहरुलाई आफ्नो आवाज पर्दाको पछाडिबाट दिँदै आएका छन् । यही ठूलो कारण हो कि बलिउड फिल्महरुमा संगीतको भूमिका निकै अहम रह्यो ।
लता मंगेशकरलाई भारतकी स्वर कोकिला भनिन्थ्यो । उनको फिल्मी करिअर आधा शताब्दीभन्दा पनि लामो रह्यो । उनले ३६ भारतीय भाषाहरुमा ३० हजारभन्दा धेरै गीत गाइन् । कैयौं दशकसम्म लता भारतकी सबैभन्दा प्रसिद्ध र सबैभन्दा धेरै माग भएकी गायिका रहेकी थिइन् । बलिउडकी हरेक ठूला अभिनेत्रीहरुको सपना हुन्थ्यो कि उनीहरुले अभिनय गर्ने गीत लताले नै गाउन् । उनको यति धेरै लोकप्रियता थियो कि उनका हरेक एल्बम दशौं हजारको संख्यामा बिक्री हुन्थे ।
लता मंगेशकरको जन्म २८ सेप्टेम्बर १९२९ मा मध्य भारतको इन्दौर सहरमा भएको थियो । उनका पिता पण्डित दीनानाथ मंगेशकर पनि एक गायक थिए । उनी थिएटर कलाकार पनि थिए । साथमा मराठी भाषामा संगीतमय नाटकहरुको निर्माता पनि थिए । लता आफ्ना पिताका ५ सन्तानमध्ये सबेभन्दा जेठी थिइन् । पछि लताका भाइ बहिनीहरुले पनि उनको अनुसरण गर्दै संगीत क्षेत्रमा पाइला राखे र अगाडि गएर भारतका प्रसिद्ध गायक बने ।
एक अन्तरवार्तामा आफ्नो बाल्यकालको सम्झना गर्दै लता मंगेशकरले भनेकी थिइन् कि उनको परिवार शास्त्रीय संगीतसँग गहिराइदेखि जोडिएको थियो । उनको घरमा फिल्मी संगीत मन पराइँदैनथ्यो । लताले कहिल्यै पनि औपचारिक शिक्षा दीक्षा पाइनन् । घरमा काम गर्ने उक घरेलु कामदार महिलाले उनलाई मराठी अक्षर सिकाएकी थिइन् । एक स्थानीय पुरोहितले उनलाई संस्कृतको शिक्षा दिए । घर आउने आफन्त र अध्यापकहरुले उनलाई अरु विषय पढाएका थिए ।
लता मंगेशकरको परिवारको त्यतिबेला अत्यन्तै खराब समय आयो जब उनका पिताको धेरै पैसा डुब्यो र उनले आफ्नो फिल्म र थिएटर कम्पनी बन्द गर्नुपर्यो । त्यसपछि उनको परिवार इन्दौरबाट पुना (अहिलेको पुणे) गए किनकि महाहराष्ट्रको सांगलीमा रहेको उनको पुर्ख्यौली घरलाई ऋण असुलीको लागि लिलामी गरिएको थियो । आफ्ना पिताको निधनपछि लता आफ्नो परिवारको साथमा बम्बइ (अहिलेको मुम्बइ) गइन् ।
यो १९४० को दशकको कुरा हो । त्यतिबेला फिल्महरुमा गीतको लागि सम्भावना धेरै थिएन । त्यसैले लता मंगेशकरले परिवार चलाउनको लागि अभिनय गर्न सुरु गरिन् । लता मंगेशकरले कूल ८ मराठी तथा हिन्दी फिल्ममा अभिनय गरिन् । १९४३ मा आएको मराठी फिल्म गजभाउमा उनले केही लाइन र शब्द गाएकी पनि थिइन् । यो फिल्ममा उनको पहिलो गीत थियो । १९४७ सम्म आइपुग्दा लता मंगेशकरले अभिनय गरेर हरेक महिना करिब २०० रुपैयाँ कमाउन थालेकी थिइन् ।
उनले नसरीन मुन्नी कबीरलाई एक अन्तरवार्तामा आफ्नो फिल्मी अभिनयको समयका बारेमा यसरी भनेकी थिइन् ‘मलाई अभिनय गर्न कहिल्यै पनि मन परेन । त्यो मेकअप गर्नु, लाइटहरु, मानिसहरुले तपाइँलाई निर्देशन दिनु कि यो डाइलग बोल र यो कुरा भन । यी सबबाट म धेरै असहज महसुस गर्थें ।’ जब एकपटक एक फिल्म निर्देशकले उनलाई आफ्नो आँखीभुइँ काँटछाँट गर्न भने त्यसपछि लतालाई ठूलो धक्का लाग्यो । निर्देशकले भनेका थिए कि उनका आँखीभुइँ निकै मोटा छन् । तर, लताले निर्देशकको कुरा मान्नु परेको थियो ।
लता मंगेशकरले आफ्नो पहिलो हिन्दी फिल्मी गीत १९४९ मा आएको फिल्म महलको लागि गाएकी थियन् । यो फिल्ममा उनको गायकीको निकै तारिफ पनि भएको थियो । फिल्म महलमा उनका गीतले त्यतिबेलाका प्रसिद्ध संगीतकारहरुलाई ताने र उनले मौका पाउन थालिन् । त्यसपछि अगाडिका ४ दशकमा लता मंगेशकरले हिन्दी फिल्महरुमा हजारौं गीत गाइन् । पाकीजा, मजबूर, आवारा, मुगल–ए–आजम, श्री ४२०, आराधना र दिलवाले दुल्हनियाँ ले जाएँगे जस्ता रोमान्टिक फिल्ममा पनि उनले गीत गाइन् ।
जब लता मंगेशकरले १९६२ मा चीनसँगको युद्धमा शहीद भएका भारतीय सैनिकहरुको सम्मानमा ‘ऐ मेरे वतन के लोगों’ गीत गाएकी थिइन् त्यतिबेला भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुका आँखा पनि रसाएका थिए । लता मंगेशकरले आफ्नो समयमा सबै प्रमुख बलिउड गायकहरुसँग गीत गाइन् चाहे ती मोहम्मद रफी होउन् वा किशोर कुमार । उनले रा कपूरदेखि गुरुदत्त र मणिरत्नमदेखि करण जौहरसम्म हरेक प्रसिद्ध निर्देशकसँग काम गरिन् ।
लता मंगेशकर यस्ती गायिका थिइन् जसले पाश्र्व गायनमा पुरुषहरुलाई चुनौती दिइन् । उनले मोहम्मद रफीजस्ता आफूभन्दा धेरै गीत गाएका गायकले भन्दा धेरै पारिश्रमिक र रोयल्टी मागिन् जो उनले पाइन् पनि । एक पटक लता मंगेशकरले भनेकी थिइन् ‘म आज जे पनि छु आफ्नो मेहनतका कारण छु । मैले आफ्नो हकका लागि लड्न सिकेकी छु । मलाई कसैसँग डर लाग्दैन । म धेरै साहसी छु । तर, मलाई यो आशा पटक्कै थिएन कि मैले आज जति पाएकी छु त्यति कहिल्यै पाउनेछु ।’
बलिउडका प्रसद्ध लेखक र शायर जावेद अख्तरले लता मंगेशकरको सुरिलो आवाज र आत्मादेखिको गायकीको प्रशंशा गर्दै भनेका थिए ‘उहाँको आवाज र मोतीजस्तै चोखो र मणिभजस्तै सफा थियो ।’एक पटक लता मंगेशकरसँग बलिउडमा उनका कुन गीत लोकप्रिय छन् भनेर सोधिँदा उनले भनिन् ‘मोहब्बत के नगमे धेरै लोकप्रिय रहे । हिरोइन भागिरहेकी छिन् र हिरो उनको पछिपछि दौडिइरहेका छन् ।’ लता मंगेशकरले गाएका फिल्मी गीत बाहेक पनि उनको गायकीको संकलन निकै शानदार थियो ।
लता मंगेशकर विश्वका प्रसिद्ध संगीतकारहरु मोजार्ट, बिथोवन, शोपिन, नेट किंग कोल, बिटल्स, बार्बर स्ट्रिसेन्ड र ह्यारी बेलाफोन्टले बनाएका संगीत सुन्न मन पराउँथिन् । एक पटक उनी जर्मन मूलकी अमेरिकी अभिनेत्री मार्लिन डिट्रिखलाई स्टेजमा अभिनय गरिरहेको हेर्नका लागि विदेशसम्म गएकी थिइन् । उनलाई स्वेडेनकी अभिनेत्री इनग्रिड बर्गम्यानको नाटक हेर्न पनि धेरै मन पर्थ्यो ।
लता मंगेशकरलाई फिल्म हेर्न पनि मन पर्थ्यो । उनको सबैभन्दा मन पर्ने हलिउड फिल्म थियो ‘द किंग एण्ड आइ’ । लताले एक पटक बताएकी थियन् कि उनले यो फिल्म कम्तीमा १५ पटक हेरेकी थिइन् । उनको अर्को मन पर्ने हलिउड फिल्म थियो ‘सिंगिङ इन द रेन ।’ लतालाई कारको पनि निकै सोख थियो । जीवनका अलग अलग अवसरमा उनले खैरो रंगको हिलम्यान र नीलो रंगको शेवर्ले कार आफूसँग राखेकी थिइन् । यसका अलावा उनीसँग क्राइसलर र मर्सिडिज कार पनि थिए ।
घरमा लता मंगेशकरले ९ वटा कुकुर पालेकी थिइन् । उनी क्रिकेटकी पनि निकै सौखिन थिइन् । उनी रेकर्डिङबाट केही समय ब्रेक लिएर टेस्ट क्रिकेट म्याच हेर्थिन् । लताले निकै शानका साथ बताउने गर्थिन् कि उनीसँग महान क्रिकेटर सर डन ब्रेम्यानको आटोग्राफ छ । खाना बनाउनु र फोटोग्राफी गर्नु पनि उनका सोख थिए । सुरुमा उनीसँग रोलिफ्लेक्स क्यामेरा थियो । विदामा जब उनी अमेरिका जान्थिन् उनी रातभरी स्लट मेसिनसँग खेल्ने गर्थिन् ।
लता मंगेशकरलाई खाली समयमा शास्त्रीय संगीतकार पंडित रविशंकरको स्टुडियोमा यताउता गरिरहेको देख्न सकिन्थ्यो । एक पटक त्यहाँ उनको भेट पंडित रविशंकरका मित्र जर्ज ह्यारिसनसँग पनि भएको थियो जो इङल्याण्डको प्रसिद्ध पप ग्रुप बिटल्सका प्रसिद्ध गितारवादक थिए । १९७९ मा लतालाई बेलायतको विश्वप्रसिद्ध रोयल अल्बर्ट हलमा रेन आर्केस्ट्राको साथमा गाउने अवसर प्राप्त भएको थियो । यस्तो अवसर पाउने उनी प्रथम भारतीय थिइन् ।
लता मंगेशकरले एक पटक भनेकी थिइन् ‘म सधैं यो मान्दै आउकी छु कि खुसीलाई संसारसँग बाँड्नुपर्छ जबकि दुख सधैं एक्लै सहनुपर्छ ।’ लता मंगेशकरले गाएका सदाबहार गीतबाट करोडौं मानिसहरुको जीवनमा खुसी भरिए र जस्तो कि नसरीन मुन्नी कबीर भन्छिन् ‘लताले गाएका गीतहरु करोडौं मानिसहरुको जिन्दगीको संगीत बने ।’







डिसी नेपाल








Facebook Comment