एमसीसी अघि बढाउन सहयोग गर्न ओली र प्रचण्डलाई देउवाको आग्रह

डिसी नेपाल
२३ माघ २०७८ १८:४२
240
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता अघि बढाउनु पर्ने धारणा राखेका छन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्दै प्रधानमन्त्री देउवाले उक्त प्रस्ताव गरेका हुन् ।

आइतबार बेलुकी बालुवाटारमा भएको छलफलमा प्रचण्डले एमसीसीलाई चुनावपछि लैजानुपर्ने धारणा राखेका थिए । तर, प्रमुख प्रतिपक्षी दलका नेता ओलीले भने एमसीसीका विषयमा पहिले सत्ता गठबन्धनको स्पष्ट धारणा आउनुपर्ने बताएका थिए ।

छलफलमा सहभागी एमाले महासचिव शंकर पोखरेलले संसद् अवरोध खुलाउन सत्ता पक्षले पहल गरोस् भन्ने विषयमा पनि आफूहरूले धारणा राखेको बताएका छन् । ‘सरकारले संसद्मा प्रतिपक्षीको उपस्थिति चाहन्छ भने एमालेका मागहरु सम्बोधन गर्नुपर्छ भनेका छौं,’ उनले भने ।

स्थानीय तहको निर्वाचन समयमै गर्ने प्रतिबद्धता प्रधानमन्त्री देउवाले व्यक्त गरेको पोखरेलले बताए। एमाले महासचिव पोखरेलका अनुसार छलफलमा गठबन्धनका नेताहरुसहित कानुनमन्त्रीसमेत रहेको जानकारी दिए ।

उनका अनुसार पछिल्लो राजनीतिक परिस्थितिका बारेमा विस्तृत रुपमा छलफल गरिएको जानकारी दिए । प्रतिनिधि सभाको बैठक सुचारु गराउन आफूहरु तयार रहेको भएपनि सत्ता पक्ष जिम्मेवार नभएको उनले आरोप लगाए ।

‘प्रतिनिधिसभामा उपस्थित रहेर भाग लिन चाहन्छौं तर वातावरण बनाउने जिम्मेवारी सत्ता पक्षको हो र सत्तापक्षले सकेको छैन सभामुखका कारण उपस्थित हुन समस्या छ’ उनले भने ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपराह्नबाट सत्तारुढ दुई दल र प्रमुख प्रतिपक्षीबीच बैठक बसेको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसिसीका सन्दर्भमा र सदन सुचारु गर्न एमालेले सहयोग गरोस् भन्ने अपेक्षा गरेको जानकारी दिए। प्रचण्डले चुनावसम्म सत्तापक्ष र प्रतिपक्षीसँग मिलेर राष्ट्रिय मुद्दाहरुमा मिलेर जानु पर्ने धारणा राखेका थिए ।

बैक्ठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली बीचको बैठक सकिएको हो । ओली प्रधानमन्त्रीबाट बाहिरिएपछि पहिलोपटक बालुवाटार पुगेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.