मिसाइलका लागि उत्तर कोरियाले अरबौं डलर कहाँबाट ल्याउँछ ? रिपोर्टमा आश्चर्यजनक खुलासा

डिसी नेपाल
२५ माघ २०७८ १४:४४
10.3k
Shares

काठमाडौं। उत्तर कोरिया ती सीमित देशहरुमध्ये एक हो जसको बारेमा अन्य देशका नागरिकहरुलाई कमै मात्र थाहा छ । किम जोंग उनको शासन रहेको यो देशका सीमा दशकौंदेखि सील छन् । इन्टरनेट जस्तो चीजको यो जमिनमा नामनिशान छैन । यो देशमा न कुनै बाहिरी जान पाउँछ न त्यहाँका मानिसहरुले बाहिरी संसारबारे जानकारी पाउँछन् । केही रिपोर्टमा दावी गरिएअनुसार त्यहाँका जनताको हालत अत्यन्तै खराब छ र त्यहाँको ठूलो जनसंख्या गरिबी र भोकमरीको प्रकोपमा छ । तर, विश्वले उत्तर कोरियाको बारेमा कुनै पनि सूचना पाए भने त्यहाँको परमाणु कार्यक्रमबारे पाउँछन् । यहाँ नयाँ नयाँ मिसाइल परीक्षण भइरहन्छन् ।

उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमका कारण २००६ देखि नै अन्तर्राष्ट्रिय प्रतिबन्ध भोगिरहेको छ । विश्वभरका मानिसहरुको मनमा सधैं यो प्रश्न उठिरहन्छ कि यस्तो देश जो कसैसँग व्यापार गर्दैन र कुनै देशसँग जोडिएको पनि छैन । न त्यो देशमा उद्योग धन्दाहरु फस्टाएका छन् न बहुराष्ट्रिय कम्पनीहरु पुगेका छन् । यस्तो देशले नियमित रुपमा परमाणु मिसाइल बनाउने, तिनीहरुको परीक्षण गरिरहेको छ । आफ्नो परमाणु कार्यक्रम नियमित रुपमा चलाउनको लागि उत्तर कोरियासँग अरबौं डलर धन कहाँबाट आउँछ ? संयुक्त राष्ट्रसँगले भर्खरै जारी गरेको एक रिपोर्टमा यसको खुलासा गरेको छ ।

यसै हप्ता आएको राष्ट्रसंघको रिपोर्टमा उत्तर कोरियाले परमाणु कार्यक्रम अगाडि बढाएको आशंका गरिएको छ । रिपोर्टमा यहाँ मिसाइल कार्यक्रम तीब्र हुने चिन्ता पनि व्यक्त गरिएको छ । रिपोर्टका अनुसार उत्तर कोरिया मिसाइल बनाउने, तीब्र रुपमा तिनीहरुलाई तैनाथ गर्ने, समुद्रको बाटोबाट तिनीहरुलाई ल्याउने र लैजाने र मिसाइल शक्तिमा तीब्र रुपमा वृद्धि गर्ने दिशामा छ । विगत केही समयदेखि उत्तर कोरियाले मिसाइल र ब्यालेस्टिक मिसाइलको परीक्षण गरिरहेको छ । किम जोङ उनका अनुसार उनीसँग अमेरिकासम्म मार हान्न सक्ने मिसाइल छन् ।

जनवरी २०२१ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले सत्ता सम्हाल्नुभन्दा ठिक पहिले उत्तर कोरियाले पनडुब्बीबाट ब्यालेस्टिक मिसाइल परीक्षण गरेर यसलाई संसारकै सबैभन्दा खतरनाक हतियार भनेको थियो । त्यसपछिको एक वर्षमा लगातार किसाइल बनाउने र जापानतर्फ समुद्रमा प्रहार गरेर परीक्षण गर्ने क्रम जारी छ । गएको जनवरी महिनामा मात्र उत्तर कोरियाले ९ वटा मिसाइल परीक्षण गरेको थियो ।

घातक हतियार निर्माणको लागि जुटेको यो देशको इतिहासमा अहिलेसम्म कहिल्यै पनि एक महिनाभित्र यति धेरै मिसाइल परीक्षण गरिएको थिएन । २०१७ मा उत्तर कोरियाले ४ हजार ५ सय किलोमिटर टाढासम्म मार हान्न सक्ने मिसाइल र पछि ८ हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने मिसाइल ह्वासोंग १४ ब्यालेस्टिक मिसाइलको परीक्षण गरेको थियो । उसले त्यतिबेला आफूसँग अमेरिकाको कुनै पनि भागमा मार हान्न सक्ने क्षमता भएको दावी गरेको थियो । उत्तर कोरियाले ह्वासोंगको १५ औं संस्करणले १० हजार किलोमिटर भन्दा धेरै दूरीमा मार हान्न सक्ने उत्तर कोरियाले बताएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार संयुक्त राष्ट्रसंघको रिपोर्टमा भनिएको छ ‘आफ्नो परमाणु कार्यक्रम र मिसाइलको लागि पैसा जुटाउनको लागि क्रिप्टोकरेन्सी एक्सचेन्जमा साइबर आक्रमण गरेर पैसा जम्मा गर्नु यो देशको आयको प्रमुख स्रोत हो ।’ यो रिपोर्ट राष्ट्रसंघीय सुरक्षा परिषदको प्रतिबन्ध कमिटीमा यसै हप्ता पेश गरिएको हो जुन दस्तावेज रोयटर्सले पढेको बताएको छ । यो दस्तावेजमा उत्तर कोरियाको गोप्य हतियार कार्यक्रमबारे कैयौं दावी गरिएको छ ।

रिपोर्टका अनुसार क्रिप्टोकरेन्सी एक्सचेन्ज र वित्तिय संस्थाहरुमा साइबर आक्रमण गरेर पैसा जुटाउनु उत्तर कोरियाको लागि आयको सबैभन्दा ठूलो स्रोत हो । साइबर आक्रमणबाट २०२० र २०२१ को मध्यसम्म उत्तर कोरियाली ह्याकरहरुले उत्तर अमेरिका, युरोप र एसियाका तीन क्रिप्टोकरेन्सी एक्सचेन्जबाट ५० मिलियन डलरभन्दा धेरै चोरी गरेका थिए । साइबर सेक्युरिटी फर्म चाइना एनालिसिसको पछिल्लो महिनाको रिपोर्टअनुसार गत वर्ष उत्तर कोरियाले डिजिटल एसेटबाट ४०० मिलियन डलरभन्दा धेरै पैसा जम्मा गरेको थियो । यसका लागि क्रिप्टोकरेन्सी प्लेटफर्ममा ७ भन्दा धेरै साइबर आक्रमण गरियो ।

युएन मनिटर्सको २०१९ को रिपोर्टमा पनि उत्तर कोरियाले हतियार कार्यक्रमको लागि साइबर आक्रमणबाट ३ अर्ब डलर जुटाएको उल्लेख छ । राष्ट्रसंघको रिपोर्टअनुसार कोरोना महामारीका कारण सीमामा कडाइ बढेका बेला प्रतिबन्धलाई उल्लंघन गर्दै उत्तर कोरियाले अवैध व्यापार र विलासी सामानको कारोबारलाई पनि तीब्र रुपमा बढाएको छ । २००६ मा राष्ट्रसंघले उत्तर कोरियाबाट कोइला, फलाम, लीड, टेक्सटाइल, सीफुड निर्यात गर्न र उत्तर कोरियामा कच्चा तेल र अन्य पेट्रोलियम पदार्थ आयात गर्न प्रतिबन्ध लगाएको थियो । तर, सीमा क्षेत्रका साथै समुद्रको बाटो अवैध तरिकाले यी कुराहरुको कारोबार गरेर ठूलो धन जम्मा गरिएको छ ।

आज पनि विश्वसँग सम्पर्कको लागि उत्तर कोरियाको एक मात्र सम्पर्क स्रोत छिमेकी देश चीन हो । क्रिप्टो ह्याकिङ, साइबर आक्रमणको माध्यमबाट उत्तर कोरियाले केवल ठूलो धन जुटाइरहेको छैन उसले प्रविधि र मिसाइलको लागि जरुरी सामान पनि यही बाटोबाट जुटाइरहेको छ । चीनले उत्तर कोरियालाई गोप्य रुपमा सहयोग गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.