विदेशमा सिकेको सीप गाउँमा प्रयोग गर्दा…

डिसी नेपाल
४ फागुन २०७८ १३:३२
96
Shares

बागलुङको तमानखोला गाउँपालिका–२ कटेरीका चूडामणि छन्त्याल विदेशमा सिकेको सीपलाई गाउँमा प्रयोग गरेर माटो सिञ्चिनु भएको छ । मेलेसियामा दुई वर्ष तरकारी बारीमा काम गर्नुभएका उहाँले कोरियामा दुई वर्ष तरकारी फार्म र बाँकी आठ वर्ष उद्योगमा काम गरेका थिए ।

अहिले कटेरी गाउँमा झण्डै १० रोपनी बारी तरकारी र फलफूलले हराभरा बनाएका छन् । खर्च अभावले विदेशीएका उनले अहिले आफ्नो माटोमा गरेको दुःखले आर्जेको कमाई बचत गरेका छन् । चार वर्षअघि कोरियाबाट गाउँ फर्केर प्लाष्टिक घरमा तरकारीखेती गरेका ४८ वर्षीय उनका बारीमा पाँच प्लाष्टिक घर छन् ।

खुला आकाशमुनि, साग, बन्दा, काउली र खुर्सानी फलेका छन् । “पोहोरसम्म गोलभेँडाको खेती गरेँ, निकै राम्रो आम्दानी भयो”, उनले भने, “अहिले गाउँका अरु दाजुभाईले पनि प्लाष्टिक घर निर्माण गरेपछि मैले गोलभेँडा उहाँहरुलाई छोडेर अरु विकल्प खोजिरहेको छु ।”

उनका दुई प्लाष्टिक घरमा अहिले ‘स्टोभेरी’ फलेको छ । मलेसियामै रहँदा स्ट्रबेरीका विषयमा जानकारी पाएका उनले ककनीबाट बिरुवा ल्याएर खेती सुरु गरेका हुन् । ‘स्ट्रबेरी गाउँका लागि नयाँ खेती हो । पहिले दुई बिरुवा लगाएँ राम्रो फलेपछि व्यावसायिक खेती गरेको छु”, उनले भने, “नयाँ खेतीले बजार पाउन सहज हुने र मूल्य प्रतिकिलो ७०० रुपैयाँ पर्दछ, पोखरा लेकसाइडको एक होटलसँग सोही मूल्यमा सम्झौता भएको छ, बिक्रीका लागि कुनै पनि समस्या छैन ।”

उनले गोलभेँडा पनि प्रतिकिलो रु ७० देखि रु १२ सम्म बिक्री गर्ने गरेका थिए । अहिले गाउँका अरु किसानले पनि त्यसै गर्छन् । “उनको सिको गरेर धेरैलाई राम्रो भएको छ”, स्थानीयवासी युवा ढालेन्द्र छन्त्याल भन्छन्, “अहिले त गाउँभरि टनेल छन्, धेरै थोरै सबैले कमाउँछन् ।”

तमानखोला गाउँपालिका, कृषि ज्ञानकेन्द्र र मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमले गाउँलेलाई सघाएको छ । रु १२ लाख लगानीमा सुरुआत गरेको तरकारी फार्मबाट छन्त्यालले मासिक रु ३५ हजार आम्दानी गर्छन् । गाउँमा पुग्ने पाहुना उनकै घरमा बस्छन् । जौ, गहुँ, कोदो र मकै मात्रै फल्ने बारीमा फलाएका तरकारी उनले पाहुनालाई चखाउँछन् र आफ्नो मूल्य लिनुहुन्छ । छन्त्यालको मेहनतको सिको गरेका कटेरी गाउँका स्थानीयले अहिले गाउँ हराभरा बनाएका छन् ।

विदेशको कमाईले उनको काठमाडौँमा घर छ । दुईभाई छोरा युरोप र अष्टे«लियाका नाम चलेका कलेजमा पढ्छन् । तर सहरको सुख छोडेर उनी मात्रै होइन उनको परिवार पनि कृषिमा लागेको छ । छोराको पढाइका लागि २२ वर्ष काठमाडौँमा बसेकी उनकी श्रीमती इन्द्रकुमारी अहिले गाउँमै छन् ।

“उहाँ चार वर्षअघि आउनुभयो, म एक वर्षदेखि यतै छु, काममा सघाउँछु, गाउँको हावापानी भुल्न नसकेर फर्किएँ”, इन्द्रकुमारीले भने, “हामी सुख होइन सन्तुष्टि खोज्न गाउँ फर्किएका हौँ ।” अघिल्लो वर्षसम्म बर्खाका समयमा तमानखोला पुग्ने सडक अवरुद्ध हुँदा कटेरी गाउँको कृषिउपज बर्खामा खेर जान्थ्यो । अहिले भने किसानको बारीसम्मै बाह्रै महिना चल्ने सडक पुगेको छ । पाँच वटा टनेलमा चार वर्षदेखि खेती गरेका छन्त्यालको गाउँमा अहिले ५० टनेल छन् । कटेरी/भयरबोंगा गाउँलाई समेटेर गण्डकी प्रदेश सरकारले नमूना कृषि गाउँ घोषणा गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.