दुम्किबास–त्रिवेणी सडक निर्माण बजेट अभावमा रोकिन्नः मुख्यमन्त्री पोखरेल
बर्दाघाट पश्चिम । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट अभावमा दुम्किबास त्रिवेणी सडक निर्माणको काम नरोकिने बताएका छन। मुख्यमन्त्री भएको आठ महिनापछि गृह जिल्लाको विनयी त्रिवेणी गाउँपालिका पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले दुम्किबास–त्रिवेणी सडक ट्र्याकको अवलोकन गर्दै बजेटको अभावमा काम नरोकिने बताए।
शुक्रबार गण्डकी प्रदेश सरकारका अर्थमन्त्री राजजीप्रसाद बराल, मुख्यसचिव रविलाल पन्थ, गण्डकी प्रदेशसभा सदस्यहरु विष्णुप्रसाद लामिछाने, ओमकला गौतमसहित दुम्किबास–त्रिवेणी सडक ट्र्याकको अवलोकन गर्न पुगेका मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको त्रिवेणी–कोरोला सडकको मुख्यखण्ड दुम्किबास–त्रिवेणी सडकखण्ड निर्माणको काम चाँडै अगाडि बढ्ने बताए ।
उनले यो सडकको वातावरणीय प्रभाव मूल्याङकन र डिपीआर निर्माणको काम अगाडि बढेको भन्दै युनेस्कोबाट सहमति आउनासाथ बजेटको व्यवस्थापन गरेर सडक निर्माणको काम अगाडि बढाउने बताए । बजेट व्यवस्थापनको सम्बन्धमा सङ्घीय सरकारसँग भएको छलफलमा हुलाकी सडकको बजेटबाट पनि सो खण्डको अधिकांश स्थानमा हुलाकी सडकको बजेटबाट व्यवस्थापन गर्न सकिने जानकारी आएको भन्दै बजेट अभावमा सडक निर्माणको काम नरोकिने बताए।
मुख्यमन्त्री पोखरेललाई विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने वडा नं १ को दमैटाँडीदेखि वगुवनसम्म तीन किलोमिटर र चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने करिब आठ किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी रहेको जानकारी गराएका थिए ।
उनले विनयी त्रिवेणी–६ र ७ का स्थानीयवासी गाउँपालिकामा सेवा लिन आउँदा लुम्बिनी प्रदेश हुँदै आउनुपरेको अवस्थाबारे जानकारी गराए । भारतसँग सिमानाका जोडिएको ती क्षेत्रसँग गाउँपालिका, नवलपरासी पूर्वजिल्ला र गण्डकी प्रदेशको सिधा सडक सञ्जाल हालसम्म जोडिन नसकेको उनले जानकारी गराए ।
विनयी त्रिवेणी–१ का वडाध्यक्ष अजितकुमार थापाले मध्यवर्ती क्षेत्र र निकुञ्जका कारण भएको अवरोधलाई प्रदेश र केन्द्र सरकारले हल गरेर तत्काल सडक निर्माणलाई अगाडि बढाउन आवश्यक रहेको बताए । विनयी त्रिवेणी–२ का वडाध्यक्ष विष्णुप्रसाद ढकालले हाल प्रदेश सरकारबाट काम अगाडि बढेको जानकारी प्राप्त भएको भन्दै त्यसले केही आशा जगाएको बताए।
सो क्रममा मुख्यमन्त्री पोखरेलले विगतमा आफू प्रत्यासी उम्मेदवारका रूपमा सोही क्षेत्रबाट निर्वाचन लडेको स्मरण गर्दै सो क्षेत्रको समस्याबारे आफू अवगत रहेको र सोको सामाधानका लागि प्रतिबद्ध रहेको बताए ।







डिसी नेपाल







Facebook Comment