सत्तारुढ दल कांग्रेस र प्रतिपक्ष एमालेबीच छलफल सकारात्मक

डिसी नेपाल
१३ फागुन २०७८ ७:०२
44
Shares

काठमाडाैं। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बीच अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) संसद्बाट अनुमोदन गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको छ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताबीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।

उनीहरुबीच एमसिसी सम्झौता संसद्बाट अनुमोदन गर्ने, संसद्को अवरोध हटाउनेलगायत विषयमा छलफल भएको भेटमा सहभागी कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री देउवाले एमसिसी राष्ट्रिय महत्वको विषय भएको र यस सम्बन्धमा आफ्नो पार्टीले सत्ता रहँदा होस् वा प्रतिपक्षमा रहँदा एउटै धारणा राख्दै आएको उल्लेख गर्दै यसलाई अन्यथा विषय नबनाउन आग्रह गरेका थिए। महामन्त्री थापाका अनुसार प्रधानमन्त्री देउवाले नेपाल सरकारले सम्झौता गरी अनुमोदन गर्ने जनाइसकेपछि अन्यथा कुरा गर्दा मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वास गुम्ने चिन्ता व्यक्त गर्दै यस सम्बन्धमा एमाले पनि स्पष्ट छ भन्ने आफ्नो धारणा रहेको बताएका थिए।

साथै प्रधानमन्त्री देउवाले नेपालको संविधान जारी गर्दा पनि कांग्रेस र एमाले एउटै ठाउँमा उभिएको स्मरण गराएका थिए। बैठकमा एमाले अध्यक्ष ओलीले सो सम्बन्धमा आफूहरु सकारात्मक रहेको उल्लेख गर्दै सँगै उभिने कुरामा आफूहरु संसदीय प्रक्रियामा सहभागी हुन नसकिरहेको र त्यसका लागि सरकारले वातावरण बनाउनुपर्नेमा आग्रह गरेका थिए।

सो सम्बन्धमा सरकारले कसरी वातावरण बनाउने भन्ने सन्दर्भमा सकारात्मक छलफल भएको र आज पुनः बस्ने गरी बैठक सम्पन्न भएको महामन्त्री थापाले जानकारी दिनुभयो । बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल सहभागी थिए। यसअघि हिजै प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच संसद् भवन नयाँबानेश्वरमा पनि ‘वान टु वान’ र शीर्ष नेताको तहमा छलफल भएको थियो।

संसद्मा दर्ता भएको लामो समयपछि यही फागुन ८ गते प्रतिनिधिसभामा टेबल भएको एमसिसी परियोजनालाई दलहरूबीच सहमति जुटाएर संसद्बाट अनुमोदन गराउन प्रधानमन्त्री देउवाले दलीय परामर्शलाई तीव्र पारेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.