डेढ वर्षमा झापामा ४५ सय बढी उद्योग दर्ता

डिसी नेपाल
१६ फागुन २०७८ १४:००
88
Shares

झापा। झापामा पछिल्लो डेढ वर्षमा चार हजार पाँच सय ६ उद्योग दर्ता भएका छन् । उद्योग र वाणिज्यकै काम गर्दै आएको घरेलु तथा साना उद्योग कार्यालय झापाका अनुसार गत आर्थिक वर्ष ०७७/०७८ मा मात्र तीन हजार ११० उद्योग दर्ता भएका छन् ।

यस्तै, चालू आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्र १३ सय ९६ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय झापाका निमित्त प्रमुख जयनारायण अधिकारीले जानकारी दिए । योसँगै झापामा हालसम्म करिब २५ हजार उद्योगतर्फ तथा २० हजार वाणिज्यतर्फ दर्ता भएको उनले बताए ।

गत आर्थिक वर्षमा उद्योग दर्ता गर्न आउनेमध्ये सबैभन्दा धेरै महिला छन् । गत वर्ष एक हजार सात सय ८४ उद्योग महिलाको नाममा दर्ता भएको अधिकारीले बताए । उनका अनुसार एक हजार चार सय ४० उद्योग पुरुषको नाममा दर्ता भएका छन् । ‘महिलाको गत आर्थिक वर्षमा धेरै उद्योग दर्ता भएको देखिन्छ । २० लाखसम्म पुँजी भएको उद्योग दर्ता गर्दा १० प्रतिशत र पाँच लाखसम्म पुँजी भएको उद्योग दर्ता गर्दा महिला र दलितको नाममा ५० प्रतिशत छुट हुन्छ,’ उनले भने, ‘त्यसकारण पनि महिलाको नाममा दर्ता गर्नेको संख्या बढेको अनुमान गर्न सकिन्छ ।’

गत आर्थिक वर्षमा तीन हजार ११० उद्योग दर्ता हुँदा पाँच हजार आठ सय ८८ ले रोजगारी पाएको अधिकारीले बताए । यद्यपि चालू आर्थिक वर्षको ६ महिनामा भने महिलाको नाममा भन्दा पुरुषको नाममा धेरै उद्योग दर्ता छ । घरेलु तथा साना उद्योग कार्यालय झापाको अनुसार आठ सय ५५ उद्योग महिला र नाै सय ३० पुरुषको नाममा दर्ता रहेको अधिकारीले बताए । ‘यसपटक कोरोना महामारीले लकडाउन हुँदा पुरुषलाई बाइकमा आउन सजिलो भयो । महिलालाई केही झन्झटिलो हुँदा घटेको हुन सक्छ,’ उनले भने । चालू आर्थिक वर्षमा २१ सय ७१ जनाले रोजगारी पाएका छन् ।

कोरोनाकालमा सबैभन्दा धेरै कृषिजन्य उद्योग दर्ता भएको उनले बताए । गत आर्थिक वर्षमा तीन हजार ११० उद्योग दर्ता हुँदा एक हजार आठ सय ४९ कृषि उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय झापाका निमित्त प्रमुख अधिकारीले बताए । यस्तै, चालू आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्र १३ सय ९६ उद्योग हुँदा ८७२ कृषि उद्योग दर्ता भएको उनले बताए ।

‘दर्ता भएकोमध्ये करिब ६० प्रतिशत कृषि उद्योग छ । पछिल्लो समय कृषि सम्मानित पेसाको रूपमा चिनिँदैछ । विदेशबाट फर्किएका पनि विदेशको सीपले यहाँ कृषि पेसा गर्न थालेका छन्,’ उनले भने, ‘प्रदेश र केन्द्र सरकारले कृषिमा अनुदान पनि दिँदै आएको छ । त्यसकारण पनि कृषि उद्योग दर्ता गर्नेको संख्या बढेको छ ।’

उद्योग दर्ता गर्नेको संख्या बढेसँगै कोरोनाका कारण बन्द गर्नेको संख्या पनि उतिकै रहेको अधिकारीले बताए । ‘दैनिक १/२ उद्योग बन्द गर्न आइरहन्छन् । कोरोनाका कारण बन्द गर्नेको संख्या पनि बढेको छ,’ उनले भने, ‘खासगरी उत्पादनमूलक उद्योगहरूले कच्चपदार्थ नपाएर, ढुवानी गर्न नसकेकर यतिको संकट कहिल्यै परेको थिएन । राज्यलाई राजश्व तिर्न सक्दिनँ भनेर बन्द गर्न आउने पनि छन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.