बेनी-जोमसोम सडकको म्याग्दीमा सुरुङ बनाउन निर्देशन

डिसी नेपाल
१८ फागुन २०७८ ७:०१
160
Shares

म्याग्दी। राष्ट्रिय योजना आयोगले बेनी-जोमसोम सडकको म्याग्दी खण्डमा सुरुङ बनाउन सम्भाव्यता अध्ययन गर्न निर्देशन दिएको छ।

उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी-मसोम-कोरला सडक आयोजनाको अनुगमनमा आएका आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले म्याग्दी खण्डमा सुरुङ र उपल्लो मुस्ताङमा कालोपत्रेको अध्ययन गर्न निर्देशन दिएका हुन्।

आयोजनाका प्रमुख जगत प्रजापतिले टोलीले पहिरो, कमजोर भुगोल र चट्टानी पहाड भएको म्याग्दी खण्डका दुई स्थानमा सुरुङ र उपल्लो मुस्ताङमा निर्माण भएको सडकलाई कालोपत्रे गर्ने निर्देशन दिएको बताए।

“सडक विस्तार गर्न नसकिने कमजोर भूगोल र चट्टानी पहाड भएको भिरकाटे र रुप्से खण्डमा सडकको विकल्पमा सुरुङ बनाउनका लागि अध्ययन गर्न निर्देशन दिनुभयो”, उनले भने, “ग्राभेल भएको जोमसोम–कोरला खण्डको सडक कालोपत्रे गर्ने योजना अघि बढाउन उपाध्यक्षले निर्देशन दिनुभएको छ।”

सडकलाई दिगो र सुरक्षित बनाउन जोखिमयुक्त ठाउँमा सुरुङ बनाउने विकल्प रोज्नुपर्ने उपाध्यक्ष पौडेलको भनाइ थियो । कोरला नाकाको व्यापारिकका साथै परम्परागत र ऐतिहासिक गुम्बाको धार्मिक पर्यटन विकासको आवश्यकता रहेको उपाध्यक्ष पौडेलले बताए। उनले मुस्ताङ र डोल्पा जोड्ने सडकलाई पनि प्राथमिकता दिनुपर्ने बताए।

आयोजनाले भिरकाटेमा ३५० मिटर सुरुङको प्रारम्भिक अध्ययन गरिसकेको प्रमुख प्रजापतिले बताउनुभयो । चीन र भारत जोड्ने नेपालको छोटो दूरीको कालीगण्डकी कोरिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो। विसं २०७४ देखि सुरु गरिएको बेनी-जोमसोम सडकको म्याग्दी खण्डमा नदी कटान र बाढीपहिरोको समस्या छ । एक सय ८६ किलोमिटर दूरीको बेनी-मसोम-कोरला सडकको १३ मध्य जोमसोम-कोरला खण्डको छवटा खण्ड स्तरोन्नति सकिएको छ।

आइतबार मुस्ताङ आएको उपाध्यक्ष पौडेल, सहसचिव राजेन्द्र पौडेल, सङ्घीय सडक सुपरिवेक्षण तथा अनुमगन कार्यालयका इन्जिनीयर ललिजन खनाल र तिब्बती भाषाविद् पुण्यप्रसाद पराजुलीको टोली आज काठमाडौँ फर्किएको छ।

प्रजिअ नेत्रप्रसाद शर्माले आयोगको टोलीले बेनी–जोमसोम–कोरला सडक र उपल्लो मुस्ताङका गुम्बाको अनुगमन गरेको बताउनुभयो । स्थलगत निरीक्षणपछि टोलीले जोमसोममा जनप्रतिनिधि, कार्यालय प्रमुख र सरोकारवालासँग छलफल गरेको थियो । मुस्ताङमा सञ्चालित कृषि परियोजना र त्यसको प्रभावकारिताको विषयमा मार्फाका कृषकसँग छलफल गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.