जसपा अध्यक्ष यादव भन्छन्- आगामी चुनावसम्मै गठबन्धनले निरन्तरता पाउँछ

डिसी नेपाल
१९ फागुन २०७८ १५:०८
52
Shares

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनले आगामी चुनावसम्मै निरन्तरता पाउने बताएका छन्। बिहीबार बालुवाटारमा बसेको गठबन्धन बैठकले यस्तो अनौपचारिक निष्कर्ष निकाले यादवले बताए।

‘सत्ता गठबन्धनले आगामी चुनावसम्मै निरन्तरता पाउँछ, यो बिषयमा दुई चार दिनभित्र पार्टीको बैठक बसेर छलफल गर्छौं। सत्ता गठबन्धलाई चुनावसम्मै निरन्तरता दिने नदिनेबारे गठबन्धनमा आबद्ध पार्टीहरूले बेग्लाबेग्लै छलफल गरेर मात्रै सत्ता गठबन्धनले निर्णय लिने आजको गठबन्धनको बैठकमा सहमति भएको छ,’ यादवले भने।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधिसभा बैठकबाट अनुमोदन भएपछि सत्ता गठबन्धन बलियो भएको ठानिएको छ। एमसीसी कार्यान्वयनमा लैजान गठबन्धनमा आवद्ध दलहरू एकै ठाउँमा उभिने निर्णय गरेका छन्।

तर एमसीसी प्रतिनिधिसभा बैठकबाट व्याख्यात्मक अनुमोदन गरेकोप्रति माओवादी केन्द्र र एकीकृत समाजवादीभित्र खटपट भएको छ। पार्टीभित्रको खटपट हटाएर समान धारणा तय गरेपछि मात्रै सत्ता गठबन्धनलाई निरन्तरता दिने नदिनेबारे निर्णय लिने गठबन्धनले रणनीति बनाएको छ।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, संसदीय दलका मुख्य सचेतक देव गुरुङ, नेता नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेललगायतका नेताहरूले संसदबाट व्याख्यात्मक अनुमोदनसहित एमसीसी अनुमोदन भएकोप्रति असन्तुष्टि जनाएका छन्। एमसीसीको विपक्षमा रहेका कारण पार्टीभित्रै छुट्टै छलफल गरिरहेका छन्।

असन्तुष्ट नेताहरूले पार्टीभित्र संघर्ष गर्ने कि नयाँ पार्टी खोलेर जाने भन्नेबारे छलफल गरिरहेका छन्। एकीकृत समाजवादीमा पनि सम्मानित नेता झलनाथ खनाल एमसीसीको विपक्षमा छन्। एमसीसीको कारण सत्ता गठबन्नमा आबद्ध दलहरू नै एक नभएकाले पहिला दलभित्रको तिक्तता हटाएर सत्ता गठबन्धनबाट गठबन्धनलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल हुनेछ। सत्तारुढ नेपाली कांग्रेसमा भने एमसीसीको बिषयलाई लिएर विवाद देखिएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.