भौतिक पूर्वाधार मन्त्री यादवद्वारा लामोसाँघु जिरी सडकखण्डको निरीक्षण
काठमाडौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव नेतृत्वको टोलीले लामोसाँघु जिरी सडक खण्ड र सडक डिभिजन कार्यालय चरीकोटको आज निरीक्षण गरेको छ । टोलीले सडकको अवस्था, सुधारका मापदण्ड, कालोपत्र, पिच गर्दा प्रयोग गरिएका वस्तुगत सामग्री र गुणस्तरकोे जानकारी लिएको हो ।
सो अवसरमा मन्त्री यादवले सडक तथा भौतिक पूर्वाधारको विकासका क्षेत्रमा जिम्मेवारी लिएका निर्माण व्यवसायीले समयसीमाभित्र योजना सम्पन्न नगरेमा उनीहरूलाई कालोसूचीमा राखेर दण्डित गरिने चेतावनी दिईन् । देशको विकास तथा समृद्धिमा पूर्वाधार विकासको महत्वपूर्ण भूमिका रहने बताउँदै मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले स्थानीय उत्पादन बजारीकरण गर्न र पर्यटनस्थलमा पर्यटक ल्याउन सडक सञ्जालले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
सडक विभागका महानिर्देशक शिवहरि सापकोटाले सडकलगायत अन्य भौतिक पूर्वाधारका आयोजनामा सम्झौता भएअनुसार गुणस्तरीय वस्तु प्रयोग गर्नुपर्नेमा जोड दिँदै उनीहरूले कमजोरी गरेमा स्थानीय जनता सचेत भएर विभागमा खबर गर्नुपर्ने बताए । आयोजना प्रमुख रोहित विसुरालले यस क्षेत्रको सडक सुधारमा विगतभन्दा प्रगति हासिल गरेको जानकारी गराए । विभागको चरीकोट शाखाले दोलखा तथा त्यस आसपासमा बिग्रिएका पुलका साथै सडकको अवस्थाबारे प्रतिनिधिमण्डललाई जानकारी गराएको थियो ।







डिसी नेपाल








Facebook Comment