माधव नेपाल किन संसद विघटन चाहन्छन् ?

डिसी नेपाल
२३ फागुन २०७८ १२:११
980
Shares

काठमाडौं। आइतबार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने पक्षमा धारणा दिए।
संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वितण्डा सामना गर्न पनि संसद भंग गर्नुपर्ने बताएका हुन्।

उनले एमालेले संसद पनि चल्न नदिने, संसदमा गञ्जागोल कायम राख्ने, पंगु बनाउने, भत्ता खाने काम र दुख दिने काम गरेको आरोप लगाए। यस्तो अवस्थामा संसद् विघटन गरेर अर्ली निर्वाचनमा जानु नै उत्तम विकल्प रहेको उनको भनाइ थियो।

भदौ २३ गते देखि एमालेले संसद बैठकमा निरन्तर अवरोध गर्दै आएको छ। माधव नेपालसहितका १४ सांसदलाई पार्टीले कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरेको र सभामुख पूर्वाग्राही भएको भन्दै एमालेले संसद अवरोध गरिरहेको छ।

नेपालको उक्त धारणा आएसंगै एउटा प्रश्न निकै पेचिलो बनेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुष ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन भएकै कारण नेकपा र एमाले विभाजनको विजारोपण सुरु भएको थियो।

आइतबार नेपालले प्रतिनिधिसभा विघटन गर्ने पक्षमा आफ्नो धारणा ब्यक्त गरेपनि देश आवधिक निर्वाचनको वर्षमा प्रवेश गरिसकेको छ। आमागी मंसीरभित्र सरकारले आवधिक निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक बाध्यता रहेको छ।

तर पनि माधव नेपाल किन प्रतिनिधिसभा विघटन गर्न चाहन्छन्? उनको यो अभिव्यक्ति आएसँगै विभिन्न टिकाटिप्पणी सार्वजनिक भएका छन््। नेपाल निकट नेता तथा एकीकृत समाजवादीका सांसद तथा मेटमणि चौधरी पनि नेपालको सो धारणाको नियत संसदको गतिरोध अन्त्यको लागि भएको बताउँछन्।

चौधरीले भने, ‘ओलीजीले संसद चल्न पनि नदिने संसदमा अवरोधमात्र गर्ने, मनमनै सांसद भइराख्ने रहर पनि। त्यस कारण यो अवस्थाको निकासका लागि भन्नुभएको हो। उहाँको नियत कुनै व्यक्तिगत स्वार्थभन्दा पनि देश र जनताको हितमा बोल्नु भएको हो।’

त्यस्तै एकीकृत समाजवादीका अर्का केन्द्रीय सदस्य शंकर भण्डारी पनि एमालेले जनादेशको अपमान गरेका कारण समाधान र निकास खाज्ने मनाशयले अध्यक्ष नेपालले सो अभिव्यक्ति दिएको दावी गरे।

‘विगत ६ महिना देखि निरन्तर संसदमा नाराबाजी गर्ने र हुलदंगा गर्ने थलो बनाएका कारण संसद भंग गरेर भएपनि नयाँ जनादेशमा जानुपर्छ भनेको हो,’ भण्डारीले भने ‘संसद भनेको देश र जनताको प्रत्यक्ष दैनिकीसँग जोडिएको थलोलाई आज बन्धक बनाउने काम भएको छ। त्यो सरासर जनादेशको अपमान हो। केपी ओलीजी ले हिजो संसद विघटन गरेर जनताको अपमान गर्यो आज संसदमा वितण्डा मच्चाएर जनादेशको अपमान गरेको छ।’

आवधिक निर्वाचनको समय पनि आउँदैछ। संसद भंग नै गर्ने भए हिजो केपी ओलीलाई प्रतिगमन भएको के अर्थ रह्यो र? भन्ने डिसी नेपालको प्रश्नमा उनले भने, ‘हो हिजो ओलीजीले २ पटक संसद विघटन गर्दा जनादेशको अपमान भयो भनेर विरोध गरेको हो। तर उहाँहरु आजपनि त्यसरी नै लागिराख्नु भएको छ। अब आवधिक निर्वाचन पनि आउन लाग्यो त्यसकारण संसदमा नाराबाजीमात्र गरेर हुन्न त्यसको निकासका लागि निर्वाचनमा जाउँ भन्ने हाम्रो धारणा हो।’

तर बाहिर चर्चा भएको जस्तो आफ्नो पार्टी निर्वाचनबाट भाग्नु खोजेको र स्थानीय निकायको निर्वाचन सार्न खोज्ने भन्ने गलत प्रपञ्च भएको बताए। लोकतान्त्रिक पार्टी भएकाले आफ्नो पार्टी जुनसुकै बखत जुनसुकै निर्वाचनको सामना गर्न तयार रहेको उनको धारणा रहेको छ।

एमाले के भन्छ ?

सत्ता गठबन्धनका नेताहरुबाटै अर्ली इलेक्सन गर्ने बहशप्रति भने प्रमुख प्रतिपक्ष नेकपा एमालेले आशंका व्यक्त गरेको छ। एमालेले अदालतले नै अर्ली इलेक्सन गर्न रोक लगाएको भन्दै अहिले अर्ली इलेक्सनको कुरा गर्न घोषणा भइसकेको स्थानीय तह निर्वाचन बाँड्ने प्रपञ्च भएको जनाएको छ।

एमाले उपमहासचिव विष्णु रिमालले गठबन्धनमा आबद्ध दलहरु बाहिर चुनावको पक्षमा देखिएजस्तो गरेपनि भित्री रुपमा स्थानीय तह निर्वाचनमा पराजय व्यहोर्नुपर्ने भयले अर्ली इलेक्सनको कुरा गरेको दाबी गरे।

‘गठबन्धन छ सबै तिर जितिन्छ भनेर बाहिर देखाउन उहाँहरु चुनावको पक्षमा देखिएजस्तो गरेपनि भित्री रुपमा चुनाव जितिँदैन भन्ने उहाँहरुलाई थाहा छ,’ उपमहासचिव रिमालले डिसी नेपालसँग भने, ‘त्यसो हुनाले स्थानीय तह निर्वाचन भाँड्न पहिला संसदको चुनाव गरेर जितेर आउनु सके आफूखुशी काम गर्न सकिन्छ भन्ने हो।

केन्द्रीय चुनाव गरेर सत्ता कब्जा गरेपछि स्थानीय चुनाव गर्ने योजना हुनु सक्छ। किनभने शेरबहादुरजी प्रधानमन्त्री हुँदा चुनाव घोषणा गर्ने तर चुनाव नगर्ने अनि लोकतन्त्र खतरामा पर्दै आएको विगत छ। त्यस कारण स्थानीय तह निर्वाचन भाँड्न पहिला संसदको चुनाव गर्ने वहश ल्याइएको आशंका हामीलाई छ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.