दृष्टिविहीनले पनि चिन्न सकिने एक रुपैयाँको सिक्का आजदेखि प्रचलनमा
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजदेखि एक रुपैयाँका नयाँ सिक्का प्रचलनमा ल्याउने भएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै फरक क्षमता भएका (दृष्टिविहीन)ले पनि चिन्न सकिने एक रुपैयाँको सिक्का प्रचलनमा ल्याउन लागेको हो।
सिक्काको अग्र भागमा वृत्ताकार घेराभित्र चौसठ्ठी वटा थोप्ला हुनेछन्। यस्तै, चौसठ्ठी वटा थोप्लाको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको राष्ट्र बैंकले जनाएको छ।
सिक्काको माथिल्लो भागमा अंग्रेजीमा रि. वान र तल्लो भागमा देवनागरी लिपिमा एक रुपैयाँ लेखिएको छ । नेपालको नक्साको दायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन)ले स्पर्श गरेर पहिचान गर्न सक्ने एउटा मोटो थोप्लो रहेको छ ।
यसैगरी सिक्काको पृष्ठ भागमा आठ थोप्लासहितको वृत्ताकार घेराभित्रको वर्गाकार आकृतिलाई वरिपरि चन्द्र, सूर्य, चक्र, संख, पद्म, गदा तथा बीचमा सगरमाथाको आकृति र आकृतिको मुनि अंग्रेजीमा सगरमाथा नेपाल लेखिएको हुने राष्ट्र बैंकले जनाएको छ । सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ साल लेखिएको छ।








डिसी नेपाल








Facebook Comment