प्रधानमन्त्रीसँग छलफल गर्दै लोसपा अध्यक्ष ठाकुर, चुनावी तालमेलका विषयमा चासो
काठमाडौं। सत्ता गठबन्धनभित्र चुनावी तालमेलको प्रयास भइरहेको बेला लोकतान्त्रिक समाजादी पार्टी (लोसपा) ले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने तयारी गरेको छ।
स्थानीय तहको मिति नजिकिएसँगै दलहरु चुनाव जोडघटाउनमा लागेका बेला लोसपाले प्रधानमन्त्री देउवासँग भेट गर्न लागेको हो। त्यसका लागि शनिबार प्रधानमन्त्री देउवासँग लोसपा अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुले भेट गर्ने तय भएको छ।
उक्त भेटमा मधेसका मागका विषयमा छलफल हुने मुख्य एजेण्डा भएपनि सत्ता गठबन्धनबीच चुनावी तालमेल हुने नहुने विषयमा प्रधानमन्त्रीसँग ठाकुरले कुरा गर्न चाहेको लोसपाका एक नेताले जानकारी दिए।
वर्तमान सरकारलाई लोसपाले समर्थन गरेको छ। सरकारलाई बाहिरै बसेर समर्थन गरेको लोसपाले आफूहरुको माग सम्बोधन गर्नु सरकारलाई बेला बेलामा ध्यानाकर्षण गराउँदै आएको छ। ‘मधेसका समस्याका विषयमा प्रधानमन्त्रीसँग लोसपा अध्यक्षले छलफल गर्न लाग्नु भएको हो,’ ठाकुर निकट मानिने नेता सुरेन्द्र झाले डिसी नेपालसँग भने, ‘अहिले पनि हाम्रा कतिपय मेयर र प्रदेश सदस्यमाथि मुद्दा लागेको छ। कार्यकर्ता जेलमुक्त हुन सकेका छैनन्। सरकारलाई हाम्रो समर्थन जारी छ। अब हाम्रा माग सम्वोधन गर्ने दायित्व सरकारको हो।’
स्रोतका अनुसार ठाकुरले प्रधानमन्त्री देउवासँग गठबन्धनबीच चुनावी तालमेल हुने नहुने विषयमा समेत जिज्ञासा राख्ने छन्।
‘सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने नगर्ने विषयमा प्रधानमन्त्रीसँग कुरा राख्नुहुन्छ,’ ठाकुर निकट एक नेताले भने, ‘यहाँहरुबीच चुनावी तालमेल हुने निश्चित भए हामीले पनि तालमेलको विषयमा सोच्नुपर्छ।’
स्रोतका अनुसार स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबीच चुनावी तालमेल भए लोसपाले पनि मधेस प्रदेशमा एमालेसँग चुनावी तालमेल गर्ने संभावना छ।
पार्टी विभाजनपछि तराईमा संगठन विस्तारको क्रममा रहेको लोसपा विशेष गरी सत्ता गठबन्धनबीच चुनावी तालमेल नहोस भन्ने चाहन्छ। यदि सत्ता गठबन्धनबीच चुनावी तालमेल हुने अवस्था भयो भने लोसपाले पनि एमालेसँग चुनावी तालमेल गर्ने विषयमा छलफल चलाएको छ।







डिसी नेपाल








Facebook Comment