देउवालाई रावलको जवाफ ‘प्रधानमन्त्रीकै दिमाग खुस्केर होस हराएको हुनुपर्छ’

डिसी नेपाल
३० फागुन २०७८ १५:०३
96
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि ‘एमसीसीको गलत प्रचार गरेको’ भनेर लगाएको आरोपबारे एमाले नेता भीम रावलले जवाफ दिएका छन् । प्रधानमन्त्रीले नुवाकोटको किस्पाङ गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै एमसीसी केपी ओली नेतृत्वको मन्त्रिपरिषदले संसदमा पेश गर्ने निर्णय गरेको र त्यो मन्त्रिपरिषदमा रावल उपप्रधानमन्त्री रहेको बताएका थिए ।

प्रधानमन्त्रीले रावलप्रति आक्रोश पोख्दै भनेका थिए ‘आफू रक्षामन्त्री हुँदा पास गर्ने, क्याबिनेटबाट पास गरेर संसदमा ल्याउने र संसरबाट पास गर्नुपर्छ भनेर निर्णय गर्ने अनि अहिले मैले ओलीजीले ल्याउनुभएको प्रस्ताव ल्याउँदा किन टाउको दुख्ने ? त्यो बेला मन्त्री हुँदा टाउको नदुख्ने । त्यो बेला दिमाग खुस्केको थियो ?’ प्रधानमन्त्रीको यो अभिव्यक्ति झुटो भएको बताउँदै रावलले उल्टै प्रधानमन्त्रीकै दिमाग खुस्केको टिप्पणी गरेका छन् ।

रावलले सामाजिक संजालमार्फत केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा आफू उपप्रधानमन्त्री र रक्षामन्त्री भएको र त्यतिबेला एमसीसी संसदमा पेश गर्ने निर्णय नभएको प्रस्ट पारेका छन् । केपी ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदले एमसीसी संसदमा पेश गर्ने निर्णय गरेको र त्यतिबेला आफू मन्त्रिपरिषदको सदस्य नै नरहेको बताउँदै रावलले प्रधानमन्त्री देउवाले तथ्यहीन र झुटो कुरा गरेको र उनकै दिमाग खुस्किएको हुनुपर्ने बताएका छन् ।

‘तथ्यको जानकारीसम्म नराखी झुठा बोल्ने प्रधानमन्त्रीको या त आफ्नै दिमाग खुस्केर होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहितविरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ’ रावलले भनेका छन् । रावलले आफूलाई मात्रै यस विषयमा टाउको दुख्नुको कारण पनि बताएका छन् । देउवाले नुवाकोटमा ‘किन रावललाई मात्र टाउको दुख्छ ?’ भनेका थिए । रावलले यसको पनि जवाफ दिएका छन् ।

‘प्रधानमन्त्री देउवाले किन रावललाई मात्र टाउको दुख्छ ? भन्ने प्रश्न गर्नुभएको रहेछ । उत्तर हेर्नुहोस् – नेपालको संविधान, देश र जनता सामु राष्ट्रिय स्वाधीनता र हितको पक्षमा कसैको डर नमानी काम गर्ने शपथको विपरीत एमसीसी सम्झौताका देशघाती प्रावधानको निहीत स्वार्थका लागि अन्ध समर्थन गर्ने, संसद नियमावली र संविधान मिचेर, जनआवाजमाथि दमन गरेर वाह्य शक्तिलाई रिझाउन होहल्लाको बीचमा सम्झौता अनुमोदन गराउने, महाकाली र कर्णालीमा देशघात गर्न नहच्किने तपाईंको जस्तो चरित्र नभएकोले म जस्तो देशभक्त नागरिकको राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर ‘टाउको दुखेको’ हो’ रावलले लेखेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.