स्थानीय तहको चुनावमा भाग लिन झापामा मङ्गोल नेसनलसहित ३६ दल दर्ता
झपा। झापा जिल्ला निर्वाचन कार्यालय झापामा आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि मङ्गोल नेशनल अर्गनाइजेसनसहित ३६ वटा दल दर्ता भएका छन् ।कार्यालयका सूचना अधिकारी प्रेम न्यौपानेका अनुसार छ वटा राष्ट्रिय दल र ३० अन्य गरी ३६ वटा दल कार्यालयमा आइतबारसम्ममा दर्ता भएका हुन् । विसं २०७४ को स्थानीय निर्वाचनमा ३२ वटा दल दर्ता भएर निर्वाचनमा सहभागी भएका थिए । यसपटक थप चार नयाँ दल थपिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिएका छन्।
उनले मङ्गोल नेशनल अर्गनाइजेसन, मौलिक जरोकिलो पार्टी, जनमत पार्टीलगायत थपिएको बताए। कार्यालयले जिल्लामा चुनावमा भाग लिन इच्छुक दललाई दर्ता प्रक्रियाका लागि चैत २ देखि चैत ६ गतेसम्म समय दिएको थियो । निर्वाचन गराउन जिल्लामा छ हजार ६०० कर्मचारी परिचालन गरिने जनाउँदै धमाधम सरकारी कार्यालयसँग कर्मचारीको विवरण लिने काम भइरहेको उनले बताए।
कार्यालयले निर्वाचन आयोगद्वारा निर्धारित मापदण्डअनुसारको जनशक्ति नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट काजमा झिकाइ निर्वाचनसम्बन्धी काममा खटाउने भएको छ । सरकारी कार्यालयबाट आएको विवरणको आधारमा जिल्ला जनशक्ति व्यवस्थापन समितिले आवश्यक कर्मचारीलाई कार्यालयमा काजमा ल्याई निर्वाचन प्रक्रियामा खटाइने उनको भनाई छ।
रासस







डिसी नेपाल







Facebook Comment