अभिनेता विल स्मिथले ओस्कर्स एकेडेमीबाट राजीनामा दिए

डिसी नेपाल
१९ चैत २०७८ १३:३९
384
Shares

लस एन्जल्स (बीबीसी) । अमेरिकी अभिनेता विल स्मिथले ओस्कर्स एकेडेमीबाट राजीनामा दिएका छन्। उनले गत आइतवार आयोजित ओस्कर्स पुरस्कार वितरण समारोहमा हास्य कलाकार क्रिश रकलाई मञ्चमै पुगेर थप्पड हानेपछि चरम विवादमा तानिएका थिए।

“एकेडेमीको ९४ औँ पुरस्कार वितरण समारोहमा मेरो क्रियाकलाप स्तब्ध बनाउने खालको पीडादायी र अक्षम्य थियो,” उनको विज्ञप्तिमा भनिएको छ।

एकेडेमीले उनको राजीनामा स्वीकार गरेको र अनुशासनको कारबाहीको काम “अगाडि बढाइरहने” बताएको छ।

एलोपेसिया भन्ने रोगका कारण कपाल झरेर मुडुलो टाउको बनाएकी उनकी श्रीमतीमाथि रकले ठट्टा गरेपछि स्मिथ आक्रोशित भएर मञ्चमा उक्लिएर क्रिशलाई थप्पड लगाइदिएका थिए।

त्यसको एक घण्टा पनि नहुँदै उनले “किङ रिचर्ड” नामको फिल्ममा ख्यातीप्राप्त टेनिश खेलाडीहरू भीनस र सेरेना विलियम्सका बाबुको भूमिकाका कारण सर्वोत्कृष्ट अभिनेता पुरस्कार प्राप्त गरेका थिए।

“मैले चोट पुर्‍याएकाहरूको सूची लामो छ। यसमा क्रिश, उनको परिवार, मेरा धेरै प्रिय साथीहरू, कार्यक्रममा उपस्थित सबै र विश्वव्यापी दर्शकहरू समावेश छन्,” स्मिथले शुक्रवार भने।

“मैले एकेडेमीको विश्वासविरुद्ध कार्य गरेँ। मैले अन्य मनोनीत र विजेताहरूलाई उनीहरूको असाधारण कामको लागि उत्सव मनाउने अवसरबाट वञ्चित गरेँ। म दुःखी छु।”

स्मिथले आफ्नो लक्ष्य “उपलब्धिको लागि योग्यहरूतर्फ सबैको ध्यान फर्काउनु भएको” बताए।

उनले निष्कर्षमा भने: “परिवर्तनका लागि समय लाग्छ र म अब कहिल्यै पनि हिंसालाई कारणभन्दा अगाडि हुन नदिने कार्य गर्न प्रतिबद्ध छु।”

एकेडेमीका अध्यक्ष डेभिड रुबिनले स्मिथको राजीनामा स्वीकृत गरेको तर अनुशासन सम्बन्धी कारबाही जारी राखिने बताए।

रकले बुधवार बोस्टनमा आयोजित एक स्ट्यान्ड-अप कार्यक्रमका क्रममा सम्बोधन गर्दै, आफू अझै पनि “के भयो भनेर खुट्टाउन प्रयास गरिरहेको” बताएका थिए।

हाल अमेरिकाको आफ्नो कार्यक्रम “इगो डेथ” को सिलसिलामा भ्रमणमा रहेका ५७ वर्षीय हास्य कलाकारलाई दर्शकहरूले उभिएर सम्मान दर्साएका थिए।

रकले यसअघि स्मिथविरुद्ध आपराधिक आरोप नलगाउने निर्णय गरेका विवरणहरू सार्वजनिक भएका थिए।

स्मिथकी श्रीमती, अभिनेत्री जाडा पिङ्केट स्मिथले बुधवार इन्स्टाग्राम पोस्टमार्फत आफ्नो मौनता भङ्ग गर्दै लेखिन्: “यो निको हुने समय हो र म पनि त्यसैमा छु।”

बीबीसीका पीटर बोएसको विश्लेषण छ, एकेडेमीबाट राजीनामा दिनु असाध्यै ठूलो कुरा हो।

निमन्त्रणामा मात्र सदस्य बन्न पाइने यो संस्थाको सदस्य बन्नु पनि आफैमा उपलब्धि हो।

अहिलेसम्म निकै थोरै मात्र यसबाट निष्कासित भएका छन्।

ती मध्ये हार्भी वाइन्स्टीन, बिल कस्बी र रुवमन पोल्यान्स्की हुन्।

उनलाई पनि निष्कासित नै गरिन्छ भन्ने निश्चित भइसकेको थिएन। उनले केही हप्तामा त्यसबारे थाहा पाउन सक्थे।

तर यी अभिनेताले आफ्नो भाग्य आफैले निश्चित गरे। उनले राजीनामा दिँदा गम्भीर शब्दहरू प्रयोग गरेका छन् तर त्यो नै कथाको अन्त्य भने हुने छैन।

एकेडेमीले अनुशासनको कारबाही जारी रहने जनाएको छ त्यसको अर्थ उनले पाएको सर्वोत्कृष्ट अभिनेताको पुरस्कार फिर्ता जाने हो कि भन्ने सम्भावना कायमै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.