एमालेबाट निर्वाचित मेयर अशोक चन्द समाजवादीमा प्रवेश, माधव नेपालले गरे स्वागत
कञ्चनपुर । नेकपा एमालेबाट निर्वाचित बेदकोट नगरपालिका मेयर नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । बेदकोट नगरपालिका मेयर अशोक चन्द समाजवादीमा प्रवेश गरेका हुन् । उनलाई समाजवादीका अध्यक्ष माधव कुमार नेपालले स्वागत गरेका छन् ।
मेयर चन्दसँगै बेदकोट नगरपालिकाका विभिन्न पाँचवटा वडाका वडाअध्यक्ष पनि समाजवादीमा प्रवेश गरेका छन् । त्यस्तै पार्टीका जिल्ला कमिटीका अन्य नेताहरू पनि समाजवादीमा प्रवेश गरेका छन् ।
मेयर चन्दसँगै वेदकोट नगरपालिकाकै वडा नं ३ का अध्यक्ष तिलक ठकुल्ला, वडा नं ४ का अध्यक्ष भास्कर भट्ट, वडा नं ७ का अध्यक्ष वीरबहादुर डगौरा, वडा नं ७ का अध्यक्ष दुर्गासिंह भण्डारी , वडा नं १० का अध्यक्ष केशव रावलसंगै वडा नं १० का वडासदस्य डम्बर दत्त भट्ट पनि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
त्यस्तै नगर कार्यपालिकाका सदस्यहरु दलवीर टमटा, तारा रैकाल, निर्मला विष्ट चौधरी, पिंकी दमाइ र माया बोहरा तथा २२ जना वडासदस्य एकीकृत समाजवादीमा प्रवेश गरेकाे छन् ।वेदकोटमा एमालेले मेयर, उपमेयरसहित १० वटा वडामध्ये ८ वटामा वडाध्यक्ष जितेको थियो। उपमेयर सुशीला सिंह भने एमालेमै छिन् ।
एमाले प्रदेश कमिटी सदस्य गजेन्द्र राना, जिल्ला कमिटी सचिवालय सदस्य हरिराम चौधरी, जिल्ला सचिवालय सदस्य तथा बेदकोट नगर कमिटी अध्यक्ष महेशराज जोशी लगायतका नेता तथा कार्यकर्ता समेत समाजवादीमा प्रवेश गरेका हुन् ।
१० वटा वडा रहेको बेदकोट नगरपालिकामा आठ वडाअध्यक्ष एमालेले जितेको थियो । चन्दकै कारण बेदकोट नगरपालिकामा एमालेको राम्रो प्रभाव थियो ।
एमालेमा रहँदा माधव नेपाल समूहमा रहेका चन्द नेकपा एमालेको जिल्ला अधिवेशनमा सचिव पदमा लडेका थिए । जहाँ उनी पराजित भएका थिए । पार्टी विभाजनसँगै पार्टीभित्रै अन्तरसंघर्ष गर्दै आएका चन्द अन्ततः समाजवादीमा लागेका हुन् ।







डिसी नेपाल







Facebook Comment