गायिका रचना रिमाल मैदान प्रवेश गरेकाे विषयमा क्यानले सोध्यो स्पष्टीकरण

डिसी नेपाल
२२ चैत २०७८ १५:१३
32.2k
Shares

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलाको फाइनल खेल क्रममा गेट तोडेर दर्शक प्रवेश गरेको र असम्बन्धित व्यक्ति पुरस्कार वितरण समयमा मैदान प्रवेश गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीच ४ ओभरको खेल जारी रहँदा दर्शक गेट तोडेर भित्र प्रवेश गरेका थिए । ‘मैले सुरक्षा निकायसँग बुझ्दा टिकट काट्ने काउन्टर र गेटसँगै परेको रहेछ । हाम्रो पार्टनर (सुन्बी होल्डिङ) ले त्यहाँसँगै नराख भनेको रहेछ । अलि तल राखभन्दा त्यहि राखेको रहेछ । त्यहीँ प्रेसर पर्‍याे । त्यो मौका पाउँदा हुल नै भित्र छिर्‍याे,’ क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले भने, हामीले यसबारे सुन्बी होल्डिङसँग स्पष्टीकरण साेधेका छाैँ ।’

यसअघि क्यानले प्रतियोगिताको मर्सियल राइट सुन्बी होल्डिङलाई दिएको थियो । सुन्बी होल्डिङले टिकटको लागि आईएमी-पे र सुरक्षाको लागि केटीएमलाई जिम्मा दिएको थियो । खेल सकिएपछिसमेत दर्शक दीर्घाबाट मैदान प्रवेश भएपछि क्यानले सुन्बीलाई स्पष्टीकरण सोधेको हो । क्यानले पुरस्कार वितरणका लागि प्रमुख अतिथिमा अर्थमन्त्री जनार्दन शर्मालाई आमन्त्रण गरेको थियो ।

पुरस्कार वितरण समारोहमा गायिका रचना रिमाल र दर्शक नै मैदान प्रवेश गरी ट्रफीसहित फोटो सामाजिक सञ्जालमा राखिएको भेटेपछि क्यानले स्पष्टीकरण सोधेकाे हो ।

दर्शकदीर्घाबाट खेल हेर्न प्रवेश गरेकी गायिका रचना रिमाल पुरस्कार वितरण समारोहमा भने मैदान प्रवेश गर्दै कप्तान सन्दीप लामिछानेलगायत खेलाडीसँग फोटो खिच्न भ्याएकी थिइन् । उनले आफ्नो सामाजिक सञ्जालमा भिडियो र फोटोसमेत ‘पोष्ट’ गरेकी छिन् ।

‘सुरुमा सहयोगी होलान् भन्ने सोच्याैँ । फेसबुकमा पनि ट्रफी समातेर फोटो राखेको देख्यौं । याे के कारणले भयो ? कसरी भयो ? भनेर हामीले स्पष्टीकरण सोधका छौं, ’ मल्लले भने ।

मलेसिया, नेपाल र पीएजी सम्मिलित टी-२० शृंखलाको फाइनल खेलमा पीएनजीलाई ५० रनले हराउँदै नेपालले उपाधि जितेको थियो । जुन सन्दीपको कप्तानीमा नेपालले प्राप्त गरेको पहिलो उपाधि बन्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *