नेकपा एमाले र परिवार दलबीच चुनावी तालमेलका विषयमा छलफल
काठमाडौं। स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै दलहरु चुनावी अंकगणितमा केन्द्रित हुन थालेका छन्। चुनावी नतिजा आफ्नो पक्षमा पार्न दलहरु चुनावी तालमेलको तयारीमा रहेका बेला मुलुकको सबैभन्दा ठूलो दल नेकपा एमाले र परिवार दलबीच चुनावी तालमेलका विषयमा छलफल भएको छ। नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालसहितको टोलीले एमाले उपाध्यक्ष विष्णु पौडेलसँग संभावित चुनावी तालमेलका विषयमा छलफल गरेको हो।
पहिलो र दोस्रो संविधानसभामा समानुपातिकतर्फ जित निकाल्न सफल परिवार दलले स्थानीय तह निर्वाचनमा एमालेसँग चुनावी तालमेल गर्ने विषयमा एमालेसँग सकारात्मक छलफल भएको जनाएको छ।
सो पार्टीका अध्यक्ष एकनाथ ढकालले अहिले एमालेसँग सहकार्य पार्टीका लागि आवश्यक रहेकाले चुनावी तालमेलका विषयमा एमाले उपाध्यक्ष विष्णु पौडेलसँग सकारात्मक छलफल भएको बताए। ‘हामीले पहिला पनि एमालेलाई सहयोग गरेका थियौं,’ अध्यक्ष ढकालले भने, ‘अहिले पनि आवश्यकताका आधारमा स्थानीय तह निर्वाचनमा एमालेसँग सहकार्य गरेर जाने विषयमा सकारात्मक छलफल भएको छ।’
परिवार दलले ५२ जिल्लामा उम्मेद्वारी दिने तयारी गरेको छ। तर एमालेसँग चुनावी तालमेल हुने अवस्थामा भने धेरै ठाउँ दावी नगर्ने नीति पार्टीले दिएको नेतहरुले बताएका छन्। परिवारले सात देखि दशवटा पालिकामा आफ्नो दाबी गर्ने तयारी गरेको छ। तर कुन कुन पालिकामा दाबी गर्ने भन्ने विषयमा निर्णय भइनसकेको सो पार्टीले जनाएको छ। एमाले स्थानीय तहमा लोकप्रिय रहेको भन्दै अध्यक्ष ढकालले एमालेसँगको तालमेलले दुवै दललाई फाइदा हुने दाबी गरे।
कुन क्षेत्रमा कसरी तालमेल गर्ने भन्ने विषयमा परिवार दलले वरिष्ठ उपाध्यक्ष विनोद डाँगीको संयोजकत्वमा निर्वाचन पहिचान समिति गठन गरेको छ। सो समितिलाई मुलुकभर पार्टीको अवस्था र प्रभाव क्षेत्र पहिचान गर्ने जिम्मेवारी दिइएको छ। उक्त समितिले रिर्पोट दिएपछि परिवार दलले दाबी गर्ने पालिकाको टुंगो लाग्ने जनाएको छ।
एमाले उपाध्यक्ष पौडेलले कसरी तालमेल गर्ने मोडालिटीसहित फेरि छलफल गर्ने बताएको परिवार दलले जनाएको छ। परिवार दलले महानगर र उपमहानगरपालिकाको उम्मेद्वार केन्द्रले तोक्ने र बाँकी स्थानीय तहको उम्मेद्वार चयन जिल्लाले गर्ने निर्णय गरेको छ।
परिवार दलले मधेध प्रदेशका बारा र पर्सामा आफू बलियो रहेको दाबी गरेको छ भन प्रदेश एकमा सुनसरी र झापा, बागमतीमा काठमाडौं, नुवाकोट र मकवानपुर गण्डकीमा कास्की र गोरखा, लुम्बिनीको दाङ र रुपन्देही, कर्णालीको मुगु र दैलेख तथा सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा आफ्नो संगठन बलियो रहेको दाबी गरेको छ।
जिल्लाबाट रिपोर्ट आइसकेपछि उपाध्यक्ष पौडेलसँग एक चरणको छलफल पछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक छलफल गर्ने परिवार दलले जनाएको छ।







डिसी नेपाल








Facebook Comment